प्रेम प्रतिशोधमा बदलिएपछिको दर्दनाक सत्यकथा
साउन ३१ । एकोहोरो र अन्धोप्रेमले सिर्जना गरेको वियोगान्त कथा हो भन्दा पनि हुन्छ यसलाई । किनभने यो सत्यघटनामा एक यवतीले आफ्नै जीवन गुमाउनु पर्यो । अर्का युवक तिनै युवतीको ज्यान लिएको कसुरमा अहिले प्रहरी हिरासतमा छन् । घटना घामजत्तिकै छर्लङग छ, जसका कारण युवक आउँदो केही वर्ष जेलमै हुनेछन् ।
घटना पथरी शनिश्चरे मोरङमा साउन २९ गते शनिबार भएको हो । शनिश्चर बजारमा मोःमोः पसल सञ्चालन गर्ने समिक्षालाई नजिकै सुन पसल सञ्चालन गर्ने मिनबहादु भटानीको नामले चिनिने दिलीप बिकले मन पराउँथे । समिक्षा सुन्दर र मेहनती युवती थिइन् । समिक्षा विवाहीत थिइन् । चार वर्ष अघि फेसबुकबाटै चिनजान भएको मुकुन्द कार्कीसँग समिक्षाको विवाह भएको थियो । रोजगारीका लागि मुकुन्द कुवेतमा छन् । यता मुुकुन्दकी ‘इन्दिरा’ समिक्षालाई दिलिपले हैरान पार्न थालिसकेका थिए ।
एकोहोरो प्रेममा फसेका दिलिपले प्रेमको प्रस्ताव राखे । समिक्षाले अस्विकार गरिन् । विवाहको प्रस्ताव राखे । त्यो पनि अश्विकार गरिन् । पहिलो कुरा त समिक्षा विवाहित थिइन् । यसकारण पनि उनले दिलिपको प्रेम स्वीकार गर्न सक्दिन थिइन् । उनी अविवाहिता नै भएको भए पनि दिलिपको गलत आचरणले समिक्षामा नराम्रो छाप परिसकेको थियो ।
प्रेम प्रस्ताव अस्वीकार गरे पनि दिलिपले समिक्षालाई सताउन छाडेका थिएनन् । उनी अशभ्य ढंगबाट उनलाई जिस्काउन पछि पर्दैन थिए । अति भएपछि एक दिन समिक्षाले दिलिपलाई चड्कन नै लगाइदिइन् । त्यसपछि विषय गम्भीर बन्यो । समाज बस्यो । दुवै पक्षको कुरा बुझ्दा दिलिपले समिक्षालाई सताएकै देखियो । टोल समाजले दिलिपलाई कान समातेर उठबस गरायो ।
दिलिपले त्यो घटनापछि गाउँ छाडे । उनले सम्भवतः अपमान महशुस गरे । उनको कर्मअनुसारको सजाए समाजले दिएको थियो । आफ्नो बानी सुधार्नुको सट्टा दिलिप प्रतिशोधको भुंग्रोमा पिल्सिन थाले ।
तीन महिना उनी काठमाडौं बसे । गत शुक्रबार उनी काठमाडौंबाट शनिश्चर फर्के । शनिबार अकल्पनीय घटना भयो । तीन महिना अगाडि गाउँ छाडेको दिलिप बिक टुप्लुक्क त्यो दिन समिक्षाको मोःमोः पसलमा आइपुगे । त्यहाँ उनले समिक्षालाई देखेनन् । समिक्षा बाथरुममा कपडा धुन गएकी थिइन् । पसलमा समिक्षाकी सासु थिइन् ।
पसलमा दिलिपले रेड बुल मागे । रेडबुल हातैले खुल्छ, तर उसले चम्चा पनि मागे । ‘चम्चा किन चाहियो ? ’ समिक्षाकी सासुले सोधिन । ‘घोल्न’ उसले जवाफ फर्काए ।
उनले फेरि चुरोट मागे । सल्काउन सलाई मागे । पसलमा सलाई सकिएको रहेछ । सलाई लिन सासुआमा अर्को पसल गइन् । ठीक त्यही बेला समिक्षा बाथरुमबाट बाहिर निस्किन् । बाथरुमबाट किचेनमा छिर्ने बित्तिकै दिलिपले पछाडिबाटै छुरा प्रहार गरे ।
एक पटक मात्रै होइन, पटक पटक नृशंस ढंगबाट दिलिपले समिक्षामाथि छुरा बर्षायो । पेटमा, ढाडमा अनवरत छुरा प्रहार गरेपछि समिक्षा पीडाले चिच्याइन । नजिकै भएकाहरु जम्मा भए । दिलिप भने फरार भयो ।
उपचारका लागि लैजाने क्रममा बाटोमै सबैलाई सदाको लागि छाडेर समिक्षा गइन् । जसको उनले केही बिराएकी थिइनन् उसैले लियो उनको प्राण । दिलिपले उसलाई प्रेम प्रस्ताव राखेको थियो । विवाह गर्ने सपना सजाएको थियो । तर उसले ज्यानै लियो । त्यो एक चडक्नले दिलिपको मनमा भएको प्रेम प्रतिशोधमा बदलिएको थियो ।
समिक्षाको हत्या पछि दिलिप बाख्राको खोरमा लुकेर बसेको अवस्थामा फेला पर्यो । प्रहरीले उसलाई नियन्त्रणमा लिएको छ ।
एक निर्दोश, त्यसमाथि आफैले प्रेम गरेकी युवतीको ज्यान लिँदा समेत दिलिपमा एकरत्ति ग्लानी थिएन । कुनै पश्चताप पनि थिएन । महिनौदेखिको सपना साकार भएको अनुभूति उसले प्रकट गरिरहेको थियो । प्रहरीले उसको फोटो खिच्दा पनि उसको शैलीले यहि देखाउँछ ।
समिक्षालाई चाकु प्रहार गर्नु अघि रेडबुलमा केही नशालु वस्त वा विष मिसाएको र त्यही वस्तु घोल्न उसले चम्चा मागेको अनुमान गरिएको छ । उसले त्यो घटना अघि पनि समिक्षालाई उसले ‘कि मार्छु, कि पाउँछु’ भनेर धम्क्याउने गरेको गाइगुइँ सुनिन्छ ।
दिलिपको स्वास्थ्य अवस्था अहिले ठीक छैन । उसलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकालागि राखिएको छ । प्रहरीले उसलाई खतरनाक अपराधि झै निगरानीमा राखेको छ ।
prem prtishodma badliyeko satya katha samikshya karki ko hatya