अन्तरवार्ता

नायिका ऋचाले क्यामरामा मनपेट खोलिन् ‘देख्दै नदेखेको केटासँग छिट्टै बिहे गर्दैछु ’

नायिका ऋचाले क्यामरामा मनपेट खोलिन् ‘देख्दै नदेखेको केटासँग छिट्टै बिहे गर्दैछु ’

 


ऋचा शर्मा नेपाली सिनेमा जगतमा पछिल्लो समयकी रुचाइएकी नायिका हुन् । पर्दा भित्र उनी आफूलाई परिवेशअनुसारको पात्रमा ढाल्न माहिर छिन् । जीबन्त अभिनयका लागि यिन गत बर्ष राष्ट्रिय अवार्ड पनि हात पारिन् । उनले अभिनय गरेको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ ओस्कारका लागि मनोनितपनि भयो । ‘फस्र्ट लभ’ बाट नेपाली फिल्म क्षेत्रमा पाइला टेकेकी यी नायिकासगँ कञ्चन न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ।

केमा व्यस्त हुनुहुन्छ आजकाल ?


अहिले लुट २ को पनि सुटिङ चलिरहेको छ । एक दुईवटा टेलिभिजनको रियालिटी सो आउँदै छ । त्यसको होस्ट गर्दै छु । त्यो बाहेक इभेन्टहरुमा व्यस्त छु । यहाँको बाल्यकाल कता बित्यो ?


म कैलालीको धनगढीमा जन्मे । बाल्यकालमा हुँदा जति सुविधा पाउनुपर्ने हो त्यो सबै सुविधा पाएर हुर्किएको हो म । एकदमै माया गर्ने आमाबुबा पाएको कारण आफूलाई एकदमै भाग्यमानि ठान्छु म ।

एक्टिङ गर्ने कला सानैबाट पलाएको हो ?


म एक्टिङमा सानैदेखि रुची राख्थे । स्कुलमा हुँदा पनि वान एक्ट प्लेहरुमा भाग लिने गर्दथे । कक्षा ६ देखि नै ममा त्यो आवेग थियो । त्यसलाई साक्षातरुप दिनको लागि आफूले गर्नुपर्ने मेहनत गर्दै संघष गरेर अघि बढेँ ।

यहाँसम्म आउँदा कतिको संघर्ष गर्नुपर्यो तपाईलाई ?


म पहिला टेलिभिजनमा भिजेको रुपमा आएँ । त्यसपछि घरबेटी बा भन्ने सिरियलमा पनि काम गरे । टेलिभिजनमा आफ्नो छुट्टै नाम बनाइसकेको हुंनाले मलाई फिल्ममा आउन त्यति अप्ठ्यारो केहि भएन । त्यो अनुभवले मलाई क्यामेरा फेस गर्न सजिलो भयो ।

पहिलो पटक फिल्मको लागि प्रस्ताव कसरी पाउनुभयो ?


खेम सुनुवार दाइले फिल्मको लागि अडिसन लिइरहनु भएको थियो । मलाई विनय श्रेष्ठ जीले अडिसन चलिरहेको छ , कोशिश गर भन्नुभयो । म त्यतिबेला जर्मनीबाट फर्केर आएको धेरै भएको थिएन । त्यतिबेला उहाँलाई गएर भेट्दा निर्माता माधव वाग्ले दाइले एकदमै फिट हुन्छ भनेजस्तो कुरा गर्नुभयो । त्यसपछि म सेलेक्ट भएँ ।

जर्मनमा के गर्नुहुन्थ्यो त्योबेला ?


जर्मनमा म मिडिया पढ्न गएको हो । तर केहि कुराहरु नमिलेर म ६ महिनामा फर्केर आएँ । ६ महिनासम्म केहि नगरे पनि मैले त्यहाँ गएर जर्मन भाषा सिकेँ ।

तपाईले आफूले आफैँलाई बारम्बार सोध्ने प्रश्न के हो ?


मनमा प्रश्नहरु त धेरै नै आउँछ । अब के त ? भन्ने प्रश्न धेरै आउँछ । जस्तो अबको पाँच वर्षमा के त ? भन्ने जस्तो प्रश्नहरु आउँछन् । त्यसको उत्तर पनि म आफैँ खोज्छु । अबको पाँच वर्षमा मैले नयाँ कलाकारहरुको लागि उचित वातावरण तयार गरिदिन सक्छु होला । आफ्नो एक्टिङ स्कुल खोल्छु होला भन्ने उत्तर आफैँमा पाउँछु । त्यो इच्छा हो । इच्छा इच्छामै सिमित रहन्छ या पूरा हुन्छ भन्ने कुरा अबको पाँच वर्षपछि थाहा हुन्छ । अभिनेत्री र हिरोइनमा के फरक छ ?


अभिनेत्री र हिरोइनमा खासै धेरै फरक त छैन । म आफैँ पनि अभिनेत्री पनि हो कलाकार पनि हो हिरोइन पनि हो र एक्टर पनि हो । फरक यत्ति छ की कोहि मानिसहरु खाली फिल्ममा मुख देखाउन मात्र आउँछन् । तर कोही मेरो गरिखाने भाँडो यहि हो भनेर आउँछन् । त्यति मात्र फरक छ । जो आफूभित्रको आवेगले आउँनुहुन्छ उहाँहरु टिक्नु पनि हुन्छ तर आवेग नभइ आउनेहरु केहि समयमै हराउनुहुन्छ ।

अनुहार देखाउन आउने भन्नुभयो, तपाईलाई त्यस्तो अनुहार देखाउन आएका जस्तो लाग्ने को छ ?


अहिलेको नयाँ जेनेरेसनमा त आफ्नो करियर नै फिल्ममा बनाउने भनेर आएका गम्भीर फेसहरुलाई देखेको छु मैले । म बाहिर जान लागेको थिएँ तर मलाई फिल्म खेल्न मन लाग्यो भनेर आउनेहरु देखेको छु । म आइटी पढिरेहको छु तर म फिल्ममा काम गर्छु भन्नेहरु देखेको छु । त्यो भनेको आफ्नो भित्रको आवेगले नै आउँनुभएको छ । अहिलेको पुस्ताले बुझेर यहि क्षेत्रमा लागेर योगदान दिन्छु भनेर आउँनुभएको छ । अलि अगाडि पुस्तामा मात्र त्यस्तो थियो ।

यो महंगीको समयमा कलाकारलाई बाँच्न कत्तिको गाह्रो छ ?


त्यो कलाकार हेरेर फरक हुन्छ । नयाँ कलाकारहरुलाई बाँच्नको लागि गाह्रो नै छ । नयाँ कलाकारलाई त्यति पारिश्रमिक नदिने कुरा पनि हामीले धेरै सुनिरहेका हुन्छौँ । हामी पनि त्यहि स्थितिलाई सामाना गर्दै आएका हौँ । विशेषगरि मोडलिङ गर्ने समयमा गाह्रो हुन्थ्यो । तर पछि आफूलाई स्थापित गराइसकेपछि भने त्यति धेरै कठिनाई हुँदैन । किनभने सबै मानिसहरुले चिन्न थाल्छन् । मानिसहरुले चिनेपछि विज्ञापन, इभेन्ट्स् जस्ता कुराहरुको बाटो खुल्छ र आर्थिक बाटो खुल्दै जान्छ । त्यो भएको हुनाले खासै गाह्रो हुन्न । तर घाटी हेरेर हाड निल्नुपर्ने हुन्छ । कमाई हजार छ र दुई हजार रुपैँया उडाउन खोजियो भने एकदम गाह्रो हुन्छ । कमाइलाई ब्यालेन्स गरेर अघि बढ्ने हो भने त्यति गाह्रो छैन ।

लुट २ को बारेमा केहि बताइदिनुस् न ?


लुटमा भएकै पात्रहरु यसमा पनि हुनुहुन्छ । एक दुई पात्र फेरिनु भएको छ । चारजना मुख्यपात्रहरुको बदलाको कथा हो । हाम्रो जुन कथा थियो त्यसैलाई अघि बढाउनुभएको छ निश्चलजीले । रमाइलो छ ।

दर्शकले लुट २ किन हेर्ने त ?


लुट आउँदा नै धेरै दर्शकहरुले लुट २ पनि आउँनुपर्छ भन्नु भएको थियो, धेरै दर्शकहरुले त्यहि भएर हेर्नुपर्छ ।

विवाह कहिल्ये गर्ने ?


विवाह त अब गर्ने बेला हुदैँ छ । अब एकदम छिटो । छिटो गर्ने मन छ तर कुरो पक्का भइसकेको भने छैन । मेरो आमाले खोज्दै हुनुहुन्छ ।

प्रेम विवाह की मागी ?


मेरो मागी विवाह नै प्रेममा परिणत हुने जस्तो भइरहेको छ ।

केटाको कुन कुराले आकर्षण गर्छ ?


केटाहरुको बोल्ने शैलिले आकर्षित गर्छ । कोहि मान्छै यत्ति राम्रो देखिन्छन् तर बोल्ने वित्तिकै खत्तम । कोहि ठिकै हुन्छन् तर बोल्ने शैली एकदम मिठो हुन्छ । त्यसले एकदम आकर्षण गर्छ ।

विवाह पछिको हनिमुन डेस्टिनेसन ?


त्यो त श्रीमानसगँ प्लान गरेपछि थाहा हुन्छ ।

तपाईको एकदम नराम्रो बानी के हो ?


म एकदम छिटो रिसाउँछु । ममा धैर्य त्यति धेरै छैन । ममिले पनि यस्तो बुढि भइसक्यो रिसाउने बानी गएन भन्नुहुन्छ ।

मनपर्ने रङ ?


रातो । हरेक महिला रातोमा औधि राम्री देखिनुहुन्छ जस्तो लाग्छ । मलाई पनि रातो पहिरन एकदम सुहाउँछ ।

तीज आउँदैछ रातो पहिरनमा झल्किने मन छैन ?


तीजमा रातै लगाउँनु पर्छ भन्ने छैन । म धार्मिक मान्छे पनि छु । तर व्रत राख्दिन । साउने सोमबारको व्रत पनि बस्दिन । तर शुक्रबारको व्रत राख्ने गर्छु । नौ वर्ष भयो । तीजमा आमाहरुले रमाइलो गर्नुहुन्छ त्यसमै रमाइलो हुन्छ ।

फिल्म क्षेत्रमा केकी मनपर्छ की प्रियाङका ?


म सगँ मिल्ने भएर र राम्रै अभिनय गर्ने मान्छे पनि भएर होला केकी मनपर्छ ।

काम गर्न मन लागेको निर्देशक ?


मलाई दिपेन्द्र के खनालसगँ काम गर्ने इच्छा छ ।

अनमोल केसी की विनय श्रेष्ठ ?


अफ कोर्स अनमोल केसी ।

नेपालको मनपर्ने ठाउँ ?


पोखरा ।

विदेशमा बस्ने नेपाली दर्शकको मनपर्ने र मन नपर्ने बानी ?


मन पर्ने त अब उहाँहरुले जुन किसिमको प्रतिक्रिया दिनुहुन्छ त्यो यहाँ नेपालमा पाइदैन । एकदम सम्मान दिनुहुन्छ । नराम्रो त के भन्नु । नेपाल फर्केर आउनुहोस् भन्न मन लाग्छ ।

डिजाइनर ड्रेस कत्तिको लगाउँनुहुन्छ ?


म हरेक लुगामा सन्तुष्टि खोज्छु । मैले लगाएको लुगा जस्तो भएपनि आफूलाई सहज लागेको छ भने म त्यहि लगाउँछु । यहि डिजाइनरको लुगा लगाउनु पर्छ भन्ने छैन

नेपाली फिल्म उद्योग अहिले कस्तो स्थानमा छ ?


मलाई त नेपाली फिल्म उद्दोग एकदमै सहि बाटो तर्फ गइरहेको जस्तो लाग्छ । किनभने विगत सात आठ वर्षदेखि एकदम राम्रो भइरहेको छ । ‘लुट’ ले धेरै आशा र परिवर्तन देखायो । त्यो भन्दा अघि पनि सानो संसार, कागबेनी, जस्ता फिल्मबाट डिजिटलाइज्ड भयो । फिल्मको लागि प्रयोग हुने यन्त्रहरुले पनि फड्को मारेका छन् । नेपाली फिल्म जगतमा पनि नयाँ निर्देशक, निर्माता , तथा नयाँ कलाकारहरुको आगमन भइरहेको छ । भनेपछि सबैले सुनौलो भविष्य नै देखेर आउँनुभएको होला । म त नेपाली फिल्म उद्दोगले अझै फड्को मार्छ भन्ने कुरामा आशावादी छु । तर कति विषय छन् जुन कुराहरुमा सुधार आउँनुपर्ने हुन्छ । तर एकै समयमा त विकास हुँदैन । त्यसको लागि धैर्य गर्नुपर्छ । पछिल्लो सात वर्षमा जति पनि विकास भयो अबको सात वर्षमा त्यसको डबल हुनेछ । आफ्नो विधाबाट हामी सबैले सहयोग गयौँ भने पक्कै पनि नेपाली फिल्म उद्योग मौलाउँछ ।

तपाई भर्खर आउँदा र अहिले कस्तो परिवर्तन देख्नु भएको छ ?


मैले फस्र्ट लभ गर्दा र आजको समयमा लुट २ गर्दा धेरै परिवर्तन देखेकी छु । प्राविधिक यन्त्रहरुमा त धेरै नै परिवर्तन देखेकी छु । आफैलाई पनि मैले कलाकारितामा धेरै परिवर्तन गराएको देख्छु । निर्देहशकहरुको दृष्टिकोणमा फरक देखेकी छु । दर्शकले के रुचाउँछन् र कस्तो खालको फिल्म कस्तो दर्शकले मनपराउँनुहुन्छ भन्ने कुरा थाहा छ । त्यो बाहेक पारिश्रामिकको कुरा गर्ने हो भने त्यमा पनि धेरै परिवर्तनहरु आइसक्यो । पहिला तीस लाखमा फिल्म बन्थ्यो भने अहिले सत्तरी असी लाखमा फिल्म बन्छ । त्यसकारण पारिश्रामिक पनि बढेको छ । त्यो फरकहरु मैले पाएको छु ।

आजकाल पारिश्रामिकको विषयमा धेरै नायक नायिका महंगिएका छन्, तपाई कत्तिको महंगिनु भएको छ ?


महंगिनु ठूलो कुरा होइन जस्तो लाग्छ । पहिलो फिल्ममा म एकदम अपरिपक्क थिएँ । पछि बाहिर गएर तालिम लिएर आएँ । पैसाको मूल्य त हेरेर हुन्छ । कुनै स्क्रिप्ट यति राम्रो हुन्छ की आफूलाई पैसाको डिमान्ड नै गर्न मन लाग्दैन । कुनै स्क्रिप्ट मध्यम हुन्छ, काम राम्रो नभएपनि कमसेकम कमाई राम्रो होस् भन्ने हुन्छ । त्यसकारण एउटै किसिमको हुँदैन ।

तपाईले फिल्ममा आफ्नो अभिनयको प्रशंशा र अवार्ड पनि जित्नुहुन्छ तर तपाईको फिल्मले राम्रो व्यापार गर्न नसक्नुको कारण के हो ?


त्यो त मेरो मात्र होइन । धेरैको फिल्मले राम्रो व्यापार गर्न नसकेको अवस्था छ । यो वर्ष मात्र होला राम्रो फिल्महरु चलिरहेको । नत्र तपाई मेरो मात्र हैन कुनै पनि कलाकारलाई लिएर मलाई भन्नुहोस् की उहाँहरुको दशवटा मध्ये कतिवटा फिल्म चलेको छ । म पनि त्यहि श्रेणीमा आउँछु ।

व्यापारको सिलसिलामा नेपाली फिल्मले लगानी र प्रचार राम्ररी गर्न नसकेको हो ?


होइन जस्तो लाग्छ । प्रचार त एकदम राम्रो भइरहेको छ । प्रचारकै कारण नयाँ नयाँ दर्शक बटुल्न सफल भएको छ जस्तो लाग्छ । अर्चना पनेरु जस्ता अश्लिलताले रातारात हिट हुने केहि नायिकाहरुले गर्दा तपाईँ जस्तो संघर्ष गरेर आउने कलाकारलाई कस्तो असर पर्छ ? (रिसाउँदै) केहि असर पर्दैन । तपाई पत्रकारले अश्लिलताको बारेमा कुरा नै नगर्दा फाइदा हुन्छ । मिडियाहरुले नै अश्लिलतालाई प्रथामिकता दिइरहेको छ । यो बारेमा कुरा नै नगर्दा ठीक हुन्छ । मेरो उत्तर त त्यहि नै हो ।

ग्रेडिङ सिस्टम कत्तिको जरुरी छ नेपाली सिनेमा जगतमा ?


हरेक खालको दर्शक हुनुहुन्छ । कसैलाई सी ग्रेडको मन पर्ला । कसैलाई ए ग्रेडको मनलाग्ला । ग्रेडिङ सिस्टम राखेर हलहरुमा हरेक खालको सिनेमा चल्न दिनु निकै महत्वपूर्ण छ । दर्शकहरुले विभिन्न खालको फिलम हेर्न रुचाउने हुनाले ग्रेडिङ सिस्टम जरुरी छ ।

अबको नयाँ फिल्ममा कस्तो भूमिका निर्वाह गर्ने मन छ ?


अहिले दर्शकहरुले मबाट राम्रै अपेक्षा गर्न थालिसक्नु भयो । सिनेमामा मेरो दुई या दुई सय सिन भएपनि अब म कुनै पनि सिनेमालाई अशिर्वाद स्परुप लिन्न । आना शर्मा, साम्राज्ञी भनेको अर्को पुस्ता हो । हाम्रो पुस्ताका कलाकारहरुले जे पनि गरेको दर्शकले रुचाउँनुहुन्न किनभने हामीले आफ्नो जग बनाइसक्यौँ । आफूलाई पुष्टि गरिसकेका छौैँ । त्यो कारणले गर्दा मलाई के लाग्छ भन्दा मैले यदि लभ स्टोरी गर्न चाहेँ भने त्यो पुतली खेलाको जस्तो लभ स्टोरी हुनुभएन । आफ्नो मौलिकतालाई नमिचि परिपक्व हुनुपर्यो । गर्न मन लागेका त धेरै चिजहरु बाँकी छन् तर हरेक कुरा सोचेर गर्न बाध्य छौँ हामी । राम्रो स्क्रिप्टहरु आइरहेको छ । यो वर्ष मलाई एकदम धेरै फिल्मको अफर छ । धेरै नगरे पनि एक दुइवटासम्म गर्छु । मलाई आएको भूमिकालाई मैले कसरी न्याय गर्न सक्छु त्यो आउँदो दिनहरुमा थाहा हुन्छ ।

सामाजिक सञ्जाल कत्तिको चलाउँनुहुन्छ ?


एकदम एक्टिभ छु म सामाजिक सञ्जालहरुमा ।

दर्शकले वाक्क दिक्क बलाउँछन् की बनाउँदैनन् सामाजिक सञ्जाल मार्फत ?


दिक्क त बनाउँनुहुदैँन । किनभने कसैले दुई मिनेट पनि मेरो लागि समय निकालेर लेख्छ भने मेरो लागि ठूलो कुरा हो । राम्रो या नराम्रो जस्तोसुकै सन्देश भएपनि मैले सकेसम्म प्रतिक्रिया दिने कोशिश गरिरहेकी हुन्छु ।

नकारात्मक टिप्पणीहरुलाई कसरी सामना गर्नुहुन्छ ?


नकारात्मक टिप्पणीलाई त म छिर्नै दिन्न म मोरो जीवनमा । सिधैँ हटाइदिन्छु । आलोचनालाई चाहिँ म सकारात्मक रुपमा लिने गर्छु । दुई घण्टा मेरो फिल्मलार्य समय दिएर दुइमिनेट मेरो लागि समय दिदैँ सल्लाह दिनुहुन्छ भने त्यो मेरो लागि ठूलो कुरा हो । एक पटक प्रेम सम्बन्धमा परेर छुटेपछि कलाकारको पछिको समयलाई कत्तिको असर पर्छ ? फिल्म भित्रको मानिस भयो भने मात्र सबैलाई थाहा हुन्छ । एउटा हिरो फिल्म क्षेत्र बाहिरको केटिसगँ सम्बन्धमा छ भने कसैलाई थाहा हुँदैन । खोज्न पनि चाहँदैनन् । हिरो र हिरोइन भयो भने मात्र बढी खोज गरिन्छ । व्यक्तिगत जीवनमा पछि असर गर्छ । किनभने सबैको परिवार हुन्छन् असर त पक्कै पर्छ ।

नेपाली फिल्म उद्योगले सुधार गर्नुपर्ने पाटाहरु केके हुन् ?


हाम्रो फिल्महरु प्राय सबै बलिउडबाट प्रेरित छ । प्रेरित हुनु राम्रो कुरा हो । तर हुबहु सारेर फिल्म बनाएको भने मलाई पनि चित्त बुझेको छैन । हाम्रो आफ्नो वरिपरि भएको मौलिक कथावस्तु देख्न पाउँदा दर्शक पनि खुशी हुनुहुन्छ जस्तो लाग्छ । हामी हरेक नेपालीमा एउटा कथा छ । त्यो कथालाई स्क्रिनमा ल्याउन सक्यौँ भने एकदमै राम्रो हुन्छ जस्तो लाग्छ मलाई । हामीले मुस्ताङ देखायौँ । कालो पोथीमा डोल्पा देखायौँ । देशका अझै दुर्गम गाउँहरु देखाएर मौलिकतालाई उचाई दिनुपर्छ जस्तो लाग्छ ।



 

interview with richa sharma Loot 2

विशेष