राजनीति

मङ्सिरभित्र स्थानीय तहको निर्वाचन गर्न एमालेको जोड

मङ्सिरभित्र स्थानीय तहको निर्वाचन गर्न एमालेको जोड
umlhq भदौ - ६ । नेकपा (एमाले)ले आफ्नो नेतृत्वको सरकारले अघि सारेको कार्ययोजनानुसार आगामी मङ्सिरभित्र स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । एमालेको आजको स्थायी कमिटी बैठकले संविधानको प्रावधानअनुसार स्थानीय तहको संरचना गर्न गठित स्थानीय तह पुनःसंरचना आयोगले संविधानको व्यवस्था र आफूलाई तोकिएको मापदण्ड एवम् कार्यसर्तानुसार छिटोभन्दा छिटो काम सम्पन्न गरी प्रतिवेदन प्रस्तुत गर्नुपर्ने पनि जनाएको छ । वर्तमान सरकारले आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । “पूर्ववर्ती सरकारले प्रस्तुत गरेको कार्यतालिकाअनुसार स्थानीय निर्वाचन होस् भन्ने मान्यतामा एमाले दृढ छ । स्थानीय तहको पुनःसंरचना गर्दा जनभावनालाई ध्यानमा राख्दै संविधानले व्यवस्था गरेका अधिकारको अभ्यास गर्न सक्ने गरी उपयुक्त सङ्ख्यामा स्थानीय तह निर्धारण हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।” बैठकपछि पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । केन्द्रीय कमिटी बैठक असोजमा बैठकले आआफ्ना जिल्लामा स्थानीय तहको पुनःसंरचनासम्बन्धी सुझाव आयोग समक्ष अविलम्ब प्रस्तुत गर्न स्थानीय पार्टी कमिटीलाई आह्वान गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय कमिटीको सातौँ बैठक आगामी असोज ५–७ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ । त्यसका लागि अध्यक्षका तर्फबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, महासचिवका तर्फबाट प्रस्तुत हुने सङ्गठनात्मक प्रतिवेदन, केन्द्रीय निकायका प्रतिवेदन तथा पार्टीको भावी कार्ययोजना लगायत कार्यसूची तय गरिएका छन् । यस्तै विभिन्न दलबाट एमालेमा समाहित हुन चाहने व्यक्तिसँग छलफल गरी आवश्यक निर्णय गर्न र उपयुक्त जिम्मेवारी दिने सम्बन्धमा सुझाव पेस गर्न महासचिव ईश्वर पोखरेल संयोजक तथा सचिव प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट तथा नेता राधाकृष्ण मैनाली सदस्य रहेकोे कार्यदल गठन गरी जिम्मेवारी दिने निर्णय गरिएको छ । गत आइतबारदेखि जारी बैठक मङ्गलबार अपराह्न २ बजे पुनःबस्नेछ । रासस

Umle umle baithak

विशेष