राजनीति

प्रचण्डकै घरभित्र असन्तुष्टि, कनिष्ठलाई माथि पारिएपछि माओवादीमा बरिष्ठको बेहाल

प्रचण्डकै घरभित्र असन्तुष्टि, कनिष्ठलाई माथि पारिएपछि माओवादीमा बरिष्ठको बेहाल

Patrakar

भदौ ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवारका सदस्यलाई पार्टीभित्र अवसरै अवसर भन्ने आम बुझाइ छ । यसको ठीक विपरित दृश्य प्रचण्डकै परिवारमा देखिन्छ । प्रचण्डका सन्तानमध्ये राजनीतिक संस्कार र उचाइ भएकी पात्रका रुपमा चिनिने रेणु दाहालले अपहेलित भएको सार्वजनिक अभिव्यक्ति दिएकी छिन् । जानकारहरुका अनुसार रेणु विचलन र विकृत्तिका विरुद्ध आफ्नै परिवारमा पनि बिद्रोह गर्दै आएकी पात्र हुन् । आमा सिता दाहाल र भाइ प्रकाश दाहालसँग उनको सम्बन्ध उतारचढावपूर्ण रहेको बताइन्छ ।

यिनै रेणु दाहालले सोमबार धेरै माओवादीजनको ध्यान खिच्ने गरी छोटो तर मार्मिक स्टाटस फेसबुकमा लेखिन् । ‘अपहेलित भएर रहन कसैलाई पनि ईच्छा हुंदैन चाहे स्वर्ग नै किन नहोस् ।’ बुबा नेता भएकै कारण सोको लाभ लिनका लागि तछाडमछाड नगर्ने पृथक स्वभावकी रेणुको यस्तो स्टाटसले धेरैलाई तरंगित बनाएको छ ।

Renu dahal

स्रोतका अनुसार पार्टीको काठमाडौं जिल्लाको संयुक्त भेलापछि उनलाई भावनात्मक चोट लागेको छ । जिल्ला समितिको सक्रिय भुमिकाबाट उनलाई बञ्चित गरिएको बताइन्छ । दाहालको स्टाटसलाई उदृत गर्दै बौद्धिक व्यक्तित्वका रुपमा चिनिने नरेन्द्रजङ्ग पिटरले ‘उनी को बाट अपहेलित भइन् ?’ भन्दै प्रश्न उठाएका छन् । पिटरको प्रश्न आफैंमा अर्थपूर्ण रहेको बताइन्छ । माओवादी युद्धमा लागेर हुंदाखादाको व्यवसाय चुर्लुम्म डुबाएका पिटर धेरै पटक अवसरबाट बञ्चित गरिएका पात्र हुन् । यसअघि राजदुत, प्रेस काउन्सिलको अध्यक्ष तथा गृहमन्त्रीको राजनीतिक सल्लाकारका रुपमा उनको नाम पार्टीभित्र चर्चामा थियो । तर, उनी कतै परेनन् ।

Narendra

प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार बनाइने कुरा उठेपनि नियुक्ती गोविन्द आचार्यको पोल्टामा परेपछि पिटरको मन कुडिएको बताइन्छ । आचार्यलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेरपनि नियुक्ति नदिइनुलाई माओवादीभित्रको विवादका रुपमा हेरिएको छ । पिटरका निकटवर्तीका अनुसार नेताको आलोचनात्मक समर्थन गर्ने खरो बानी तथा घरदैलो धाउँने स्वभाव नभएका कारण उनी पटकपटक खेदिने गरेका छन् । पछिल्ला नियुक्तिलाई लिएर माओवादी निकट पत्रकारका बीचमा भिन्दाभिन्दै मोर्चाबन्दी सुरु भएको बताइन्छ । विदेश भ्रमण र नियुक्तिजस्ता अवसर आचार्य, खीलबहादुर भण्डारी र ओम शर्मामा मात्र केन्द्रीत भएको गुनासो बढ्दो छ ।

पटक पटक मिति तोकेरपनि प्रेस सेन्टरको अधिवेशन र भेला हुन सकेको छैन । सेन्टर आबद्ध पत्रकारहरुले अभिवेशन नगरिए बिद्रोह गर्ने र समानान्तर संगठन चलाउने चेतावनी दिइसकेका छन् ।

सम्पर्क मञ्चमा भद्रगोल

Bibek Sharma

माओवादीको सशक्त संगठन सम्पर्क मञ्च थला परेको छ । प्रचण्डलाई जस्तै परिश्थितिमा पनि सहयोग गरेका तथा युद्धमा आँखा गुमाएका मञ्चका नेता श्रीकृष्ण अधिकारी विवेकको अपमान हुंने गरी जिम्मेवारी तोकिएको छ । छोरी रेणु दाहालले स्टाटसमार्फत अपहेलना सार्वजनिक गरेझैं विवेकले आफु निकटका सँग दुखेसो पोख्ने गरेका छन् ।

स्रोतका अनुसार लामो समयदेखि सम्र्पक मञ्चको नेतृत्व गर्दै आएका विवकभन्दा माथि कनिष्ठलाई इनचार्जको जिम्मेवारी दिइएको छ । ४ बर्षअघि विवेकले नै जिल्ला समितिमा बढुवा गरेकी सुनिता यादव मञ्चको इन्चार्ज र विवेक संयोजक बनाइएपछि मञ्चमा तरंग पैदा भएको छ ।

बादलका कारण संगठनमा बबाल

अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि संगठन संचालनको जिम्मेवारी रामबहादुर थापा बादललाई दिइएको छ । बादलले मञ्चमा मनपरी गरेको आरोप लागेको छ । पार्टी विभाजन हुंदा मोहन बैद्यतर्फ लागेकी र बादलसँगै पार्टी एकतामा आएकी सुनिता यादवलाई इन्चार्ज बनाइएको हो ।

सहिद रामबृक्ष यादवकी छोरी सुनिता पार्टी विभाजन पहिले मञ्चको तर्फबाट काठमाडौं जिल्ला समिति सदस्य मात्र थिइन् । फर्कदा इन्चार्ज बनाइएको सम्र्पक मञ्चका एक नेताले बताए । चार वर्ष अघि संयोजक रहंदा विवेकले यादवलाई जिल्ला कमिटीमा बढुवा गरेका थिए । विवेक पार्टीको पछिल्लो निर्णयबाट निराश छन् ।

महिला मन्त्री नपाएको माओवादीमा चर्चित नेतृ नै गुमनाम

Kanchan Khanalमन्त्रीपरिषद् गठन हुंदा माओवादीले मन्त्री हुंन लायक क्षमतावान महिला सांसद भेटेन । लोकलाज टाल्नकै लागि दुई जनालाई राज्यमन्त्री बनायो जसको कुनै कार्यकारी भुमिका हुंदैन । योसँगै माओवादीमा नेतृ नभएका हुन् वा पछि पारिएका हुन् भन्ने हिसावकिताव सुरु भएको छ ।

प्रचण्डले आफ्नो सचिवालयमा दुई विद्यार्थी नेतालाई नियुक्त गरेः रामदीप आचार्य र रमेश मल्ल । त्यस्तै कृष्णबहादुर महराले पूर्व विद्यार्थी नेता हिमाल शर्मालाई स्वकीय सचिव बनाए । यही मेसोमा पूर्व विद्यार्थी नेता लेखनाथ न्यौपानेले काठमाडौं पार्टीको जिम्मेवारी पाए । चारै जना पोलिटव्यूरो सदस्य भएका छन् ।

काठमाडौंमा चार जनाको चर्चा भइरहदा यिनै चारसँगै बिद्यार्थीको पदाधिकारी टिममा रहेकी कञ्चन खनाल कहाँ छिन् ? धेरैको प्रश्न छ । न्यौपाने अध्यक्ष हुंदा खनाल, आचार्य, युवराज चौलागाई उपाध्यक्ष, शर्मा महासचिव र मल्ल केन्द्रीय सदस्य थिए । बरिष्ठ उपाध्यक्ष रहेकी खनाल शान्तिप्रक्रियामा आएसँगै क्रान्तिकारीको अध्यक्ष बन्ने प्रबल सम्भावना थियो । काखे छोरा भएका कारण उनले नेतृत्व नलिएको र हिमाल शर्माको अध्यक्षमा बढुवा भएको एक केन्द्रीय नेताले बताए । त्यसयता खनाल गुमनामजस्तै छिन् ।

माओवादीका एक केन्द्रीय नेताले भने, ‘मन्त्री हुन योग्य महिला सांसद पाइएन भन्न सुहाउँछ ? युद्धकालमै संगठनको नेतृत्वमा पुगेकी खनाल र उनीजस्तै अरुहरु कहाँ छन् ? संगठनले खोजी गर्नु पर्दैन ? यहाँ नेताको नजरमा परेमात्र नेता भइन्छ । नेतासँग असहमति राखे छोरी नै भएपनि पाखा पारिन्छ ।’

खनालसँगै उपाध्यक्ष रहेका रामदीप आचार्य, युवराज चौलागाई र महासचिव रहेका हिमाल शर्मा पोलिटव्यूरो सदस्य छन् । खनाल उपाध्यक्ष हुंदा कोषाध्यक्ष रहेका रमेश मल्लपनि पार्टीको पोलिटव्यूरो सदस्य भइसकेका छन् । अचम्म, खनालको नाम पोलिट्व्यूरोमा छैन । उनी चितवन पार्टीमा सक्रिय रहेको बताइन्छ ।

Bibek Sharma Gobinda Acharya Kanchan Khana Khil Bahadur Bhandari maobadi Mosisit Kendra Narendra Jung Piter Renu Dahal

विशेष