मजदुरका नेता सञ्चारमन्त्रीका प्रेस सल्लाहकार !
भदौ ७ । संचारमन्त्री राम कार्कीले प्रेस सल्लाहकारमा भोजपुर घर भई सुनसरीको धरान बस्ने विवादस्पद राजेन्द्र किराँतीलाई नियुक्त गर्ने तयारी गरेपछि माओवादी केन्द्र निकट पत्रकार आक्रोशित भएका छन् ।
माओवादी शान्ति प्रक्रियामा आएसँगै युद्धमा प्रयोग भएको ९५.१ मेघाहर्जको रेडियो जनगणतन्त्र एफएम काम गरेका किराँती माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष छन् ।
सरकारमा पार्टी गएको बेला सञ्चार हेर्नेगरी पार्टी निकट पत्रकारलाई नियुक्त गर्ने चलन भए पनि सञ्चारमन्त्री कार्कीले किराँतीलाई नियुक्तिको तयारी गरेका हुन् । यस विषयमा प्रेस सेन्टरको केन्द्रीय समिति र स्थानीय समितिले पनि असहमति राख्दै निर्णय नसच्याए सञ्चारमन्त्रीसँग सहकार्य नगर्ने चेतावनी दिएको बुझिएको छ ।
स्रोतका अनुसार प्रेस सेन्टरले सञ्चारमन्त्रीको सल्लाहकारमा संगठनका संस्थापकमध्येका सचिन रोकालाई पठाउने आन्तरिक तयारी गरेको थियो । तर, सञ्चारमन्त्री कार्कीले पार्टी एकतामा आएका बादल समूहका नेताहरुको दबाबमा किराँतीलाई नियुक्त गर्ने तयारी गरेका छन् । यसअघि पार्टी एक छँदा पनि क्रान्तिकारी पत्रकार संघमा किराँतीले काम गरेका थिएनन् ।
पार्टी विभाजनपछि बैद्यतिर लागेका किराँती त्यसअघि राज्य समिति सदस्य थिए । रेडियो गणतन्त्रमा अंग्रेजी समाचार बाचन गर्ने उनलाई रेडियोको स्टेसन मेनेजर बनाइएको थियो । अवसर पाएर पनि रेडियो सञ्चालन गर्न नसकेको र धरासायी बनाएको आरोप उनलाई लाग्ने गरेको छ ।
पार्टी विभाजनमा सहभागी भएपछि एमाओवादी र प्रचण्डविरुद्ध तथानाम गाली गरेका लेख स्थानीय दैनिक पत्रिकामा लेख्ने उनी पोलिटब्युरो सदस्य बनेर एकतामा आए । पार्टी एकतापछि हालै भएको ट्रेड युनियन महासंघको एकता अधिवेशनबाट उनी केन्द्रीय उपाध्यक्ष बनेका छन् ।
किरातीमाथि पूर्वाञ्चलकै पहिलो सामुदायिक एफएम रेडियो गणतन्त्रको सम्पत्ती हिनामिना गरेको आरोप पनि छ । तत्कालिन एकीकृत माओवादीमा आएको विभाजनको बेला रेडियो गणतन्त्र पनि किराँतीले विभाजित गराएका थिए । रेडियोका ९५.१ र १०३.६ मेघाहर्ज दुईवटा फ्रिक्वेन्सी थिए ।
रेडियोका स्टेसन म्यानेजर रहेका किराँतीले १०३.६ मेघाहर्ज फ्रिक्वेन्सीसहित रेडियोको कार्यालय र सम्पूर्ण भौतिक समाग्री लिए । रेडियोका अध्यक्ष शिवकुमार डाँगीले ९५.१ मेघाहर्ज फ्रिक्वेन्सी मात्र लिएर नयाँ संरचना तयार गरी सुरु गरेको रेडियो अहिले पनि सञ्चालनमा छ । तर, किराँतीले भने १०३.६ मेघाहर्ज फ्रिक्वेन्सीसहित रेडियोको सम्पूर्ण भौतिक सामाग्रीसमेत बेचे –माओवादी निकट स्रोत भन्छ ।
पार्टी विभाजनपछि किराँतीले रेडियो चलाउने भन्दै जनसन्देश एफ.एम. दर्ता गरेका थिए । उनले वैद्य माओवादीका नेता सावित्री काफ्ले (समर)बाट ३ लाख ५० हजार र सेयर सदस्य बनाउने भन्दै अन्य पार्टी निकट व्यापारीबाट करिब ७ लाख रकम उठाएका थिए । तर, किराँतीले रेडियो सञ्चालन गर्नुको साटो रकम लिएर बेपत्ता भएको गुनासो रकम लगानी गर्नेहरुको छ । अन्तिममा किराँतीले १०३.६ मेघाहर्ज फ्रिक्वेन्सी नै रेडियो गणतन्त्रलाई १ लाख ५० हजारमा बेचे ।
पार्टी विभाजन गर्दा रेडियोमा रहेको ३ लाखभन्दा बढिका फर्निचर, ७ लाख मूल्य पर्ने ट्रान्समिटर, ब्राण्डेड कम्प्युटर ९ थान, झण्डै ४ लाख पर्ने युपिएस ब्याट्री १ सेट किराँतीले लिएका थिए । उक्त सबै सामान किरातीले हिनामिना गरेको बताइएको छ ।
रेडियो चलाउने भन्दै बैद्य माओवादीको आग्रहमा विराटनगरका नवल उपाध्याय, प्रल्हाद राउतसहितका व्यक्तिले लगानी गरेका थिए । अहिले उनीहरु रकम फिर्ता गर्न माग गरिरहे पनि किराती सम्पर्कविहिन भएको बताउँछन् ।
चर्को क्रान्तिकारी भाषण गर्ने किरातीलाई काम नगर्ने र गफ मात्र गर्ने व्यक्तिको रुपमा चिन्ने गरिन्छ । आदर्श नैतिकताका ठूला गफ गरे पनि रेडियो बेचेको र रकम हिनामिना गरेको विषयको स्पष्टिकरण पनि उनले दिएका छैनन् ।
सञ्चारमन्त्रीको सल्लाहकार पूर्वबाट राख्ने कुरा सञ्चारमन्त्री कार्कीले गरेपछि किराँतीले पत्रकारहरुबीच आफू मन्त्रीको झोले बन्न नजाने बताउँदै आएका थिए । तर, भित्रभित्रै भने उनले प्रेस सेन्टरसँग समन्वय नै नगरी बादल माओवादीबाट एकतामा आएका काफ्ले, माओवादी
केन्द्रकी प्रवक्ता पम्फा भुषालसम्मलाई प्रयोग गरेर सञ्चारमन्त्रीलाई दबाब दिन लगाएको बुझिएको छ । सञ्चारमन्त्री कार्कीले पनि चर्को दबाबको कारण किराँतीलाई नियुक्त गर्ने तयारी गरेको बताउँदै आएका छन् । किराँतीको नियुक्ति रोक्न प्रेस सेन्टरका संयोजक गोविन्द आचार्यसहित नेतृत्वमा रहेका अधिकांशले सञ्चारमन्त्रीलाई दबाब दिइरहेका बुझिएको छ ।