'संविधान कार्यान्वयन हुन नदिने काम नयाँ सरकारबाट हुन सक्ने अवस्था छ' - अध्यक्ष ओली
भदौ ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्यवन हुन नदिने खेलमा सरकार लागेको आरोप लगाएका छन् ।
एमालेसहित विपक्षी दलको संयुक्त बैठकमा बोल्दै अध्यक्ष ओलीले संविधान कार्यान्यवन हुन नदिने काम नयाँ सरकारबाट हुन सक्ने बताउँदै त्यसविरुद्ध एकतावद्ध र चनाखो हुन आग्रह गरेका हुन् । उनले भने ’राष्ट्रियतामा आँच आउन सक्ने वा संविधान कार्यान्वयन हुन नदिने काम नयाँ सरकारबाट हुन सक्ने अवस्था छ’, उनले भने, ’त्यसमा एकताबद्ध र चनाखो हुन आवश्यक छ ।’
एमालेको नेतृत्वमा बसेको विपक्षी दलहरुको बैठकले संविधानको कार्यान्वयनका लागि अघिल्लो सरकारले ल्याएको कार्ययोजना लागू हुनुपर्नेमा पनि जोड दिएको छ । सिंहदरबारमा बैठकले राष्ट्र तथा राष्ट्रियतामा अनुकूल हुने कुनै काम नयाँ सरकारबाट हुन नहुने जनाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे विपक्षी गठबन्धन प्रभावकारी हुनेबारेमा बैठकमा छलफल भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । बैठकमा ओली नेतृत्वको सरकारमा अन्तिम समयसम्म साथ दिने र प्रधानमन्त्रीको निर्वाचनमा विपक्षमा मतदान गर्ने राप्रपा नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा र राष्ट्रिय जनमुक्ति पार्टीलगायत नेता सहभागी भएका थिए ।
यसैबीच गत सातादेखि जारी एमाले स्थायी कमिटीको बैठक मंगलबार पनि जारी रहेको छ ।
Kp Shram Oli