'आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउनु त्रूटिपूर्ण' - एमाले
भदाै - ८ । नेकपा (एमाले) ले सरकारले संविधान संशोधन जस्तो आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रूटिपूर्ण कार्य गरेको आरोप लगाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूत पठाई संविधान संशोधनबारे छिमेकी भारतलाई पत्र समेत पठाइएको चर्चा सार्वजनिक भएकामा चिन्ता व्यक्त गर्दै एमालेले नेपालको स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पुर्याउने तथा मुलुकको शिर निहुरिने अवस्था आउने कुनै किसिमका काम नगर्ने सरकारलाई सचेत गराएको छ ।
एमालेको बुधबार सम्पन्न स्थायी समितिको ४३औँ बैठकका निर्णय सार्वजनिक गर्न पार्टीको केन्द्रीय कार्यालय धुम्मबाराहीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारको पूर्णता नपाउँदै र परराष्ट्रमन्त्री रिक्त रहेका अवस्थामा कूटनीतिक अभ्यासमा गलत अर्थ लाग्ने गरी चीन र भारतमा प्रधानमन्त्रीद्वारा विशेष दूत खटाउने कार्य भएकामा एमालेले आलोचना गरेको हो ।
“संविधान एउटा गतिशील दस्तावेज हो । यसलाई समयसापेक्ष बनाइरहनुपर्छ तर अहिले जे आधारमा र जुन ठाउँमा संविधान संशोधनका लागि चर्चा चलाइएको छ, यो आपत्तिजनक र निरर्थक छ ।” एमालेको निर्णयमा भनिएको छ, “संविधान संशोधन हाम्रो देशको आन्तरिक विषय हो र यहाँका राजनीतिक दलले महसुस गर्ने आवश्यकतामा यो निर्भर रहन्छ । कुनै देशको अतिरिक्त चासोका आधारमा देशको मूल कानुन संशोधन हुन सक्दैन । यसले समस्यालाई बल्झाउने काम मात्र गर्छ ।”
देशभित्र कुनै छलफल नै नभएर विदेशी भूमिमा गएर छलफल गरिनु आपत्तिजनक भएको भन्दै एमालेले प्रधानमन्त्रीबाट भारतलाई पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ । एमालेको बैठक गत साउन ३० गते सुरु भई यही भदौ ७ गते सम्पन्न भएको थियो ।
बैठकले जटिल परिस्थितिमा गठन भएको पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मुलुकको विकास र जनपक्षका आधारमा युगान्तकारी भएको, तीनै तहको निर्वाचन संविधानले तोकेको समयमा गर्न र संविधान कार्यान्वयनको कार्ययोजना अघि सार्न सफल भएको ठहर गरेको छ ।
लोकतन्त्रको आधार र वैधता निर्वाचनबाहेक अरु हुन नसक्ने भन्दै एमालेले स्थानीय तहको पुनःसंरचना गर्दा जनभावनालाई ध्यानमा राख्दै संविधानले व्यवस्था गरेका अधिकारको अभ्यास गर्नसक्ने गरी उपर्युक्त सङ्ख्यामा स्थानीय तह निर्धारण हुनुपर्ने अडान राखेको छ ।
nekapa umale