राजनीति

कांग्रेसका १५ मन्त्री मध्ये आशलाग्दा गगन मात्रै हुन्

कांग्रेसका १५ मन्त्री मध्ये आशलाग्दा गगन मात्रै हुन्

gagan-thapa-nepalaaja

भदौ १० । नेपाली कांग्रेसबाट मन्त्री भएका १५ मध्ये सबैभन्दा आशलाग्दा मन्त्री को होलान ?

कांग्रेसलाई नजिकबाट बुझेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको मतमा त गगन थापा नै एकमात्र विकल्प हुन् अहिलेको कांग्रेस टिमबाट ।

अरुबाट आशा गर्न नसकिने, गगनबाटै चाहिँ किन त ?

उनले जवाफ दिए, ‘पटक पटक मन्त्री भएर पनि आफ्नो महत्व पुष्टि गर्र्न नसकेकाहरु पनि छन् कांग्रेसको टिममा । तिनै व्यक्तिहरु फेरि पनि मन्त्री भएका छन् । अनि उनीहरुबाट के आशा गर्नु ?’

गगन थापालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । सरकारले स्वास्थ्य क्षेत्रका लागि वर्सेनि अर्बौ खर्च गर्दै आएको छ । तर सरकारी स्वास्थ्य सेवाको लाभ सर्वसाधारण जनताले लिन पाएका छैनन् । गरिब जनतासँग स्वास्थ्य क्षेत्रको कनेक्सन टुटेको छ । माफियातन्त्रले स्वास्थ्य क्षेत्र निलेको छ । गोविन्द केसी त्यस्ता माफियासँग भिडिरहेका छन् ।

आचार्य भन्छन्, ‘कर्णालीमा सिटामोल नपाएर जनता मर्नुपर्ने, स्वास्थ्यको विकृति हटाउन एउटै व्यक्तिले सात पटक अनसन बस्नु पर्ने अवस्था परिवर्तन गर्नुपर्ने अवस्था छ ।’

नौ महिने म्यादी सरकारको एक महिना सकिसकेको छ । नौ महिना पूरा हुनु दुई महिना अघिदेखि अर्को सरकारको चर्चा शुरु हुन्छ । यसकारण गगनका लागि काम गर्ने समय भनेको ६ महिना मात्रै हो ।

छ महिनामा के के गर्न सक्छन त ?

आचार्य भन्छन्, ‘केही गर्न पनि सक्दैनन् । तर उनी पहिले सडकबाट संघर्ष गर्थे, पछि संसदबाट गरे अब मन्त्रालयबाट गर्न सक्छन् । राम्रो कामको शुरुवात गर्नै उनलाई हम्मे हुन्छ । यसकारण उनले मन्त्रालयबाट पनि संघर्ष नै गर्नुपर्छ ।’

गगन थापाले आफ्नो कार्यकालमा कुनै गतिलो काम गर्न त सक्दैनन् । किनभने उनीसँग समय नै छैन । तर पनि आफ्नो छोटो कार्यकाल सधै सम्झिरहने बनाएर बिदा हुन सक्छन् । यसका लागि उनलाई तीन वटा सुझाव विज्ञहरुले दिएका छन् । ती हुन्ः

१. गगन थापा कुनै पनि आर्थिक अनियमिततामा मुछिनु हुँदैन । २. मन्त्री भएको बेला आफन्तले शक्तिको दुरुपयोग गर्न खोज्छन्, त्यहा नियन्त्रण गर्न सक्नु पर्छ । ३. बिकृति हटाउने कामको थालनी गर्नु पर्छ । जसले राम्रो काम त गर्दै थिए, तर समयले साथ दिएन भन्ने सन्देश जनतासम्म पुग्नु पर्छ । सन्देश पुग्ने गरी काम गर्नुपर्छ ।

गगन थापाबाट धेरैले आशा गरेका छन् । जनअपेक्षाअनुसार काम गर्न नसक्दा भएको शाख गुम्ने खतरा लोकप्रिय नेतालाई जहिल्यै हुन्छ । गोकर्ण विष्ट, लालबाबु पण्डित पछिल्लो समय सम्झनामा रहिरहने मन्त्रीहरु हुन् । यी बाहेक पछिल्लो ३–४ वर्षमा झन्डै २ सय मन्त्री भए होलान् । अरुलाई सम्झनु पर्ने खास कारण देखिन्न ।

यसपटकको क्याविनेटमा कांग्रेसका सदवहार मन्त्रीहरु समावेश छैनन् । रामशरण महत, महेश आचार्य, अर्जुन नरसिंह केसी आदि सदाबहार मन्त्रीका दाबेदार मानिन्छन् । तर यसपटक अर्जुन नरसिंह केसीलाई बिउकै रुपमा पुरानो पुस्ताबाट मन्त्री बनाइएको छ । बाँकी धेरै मन्त्री नभएका र नयाँ छन् ।

अझ रोचक त १५ कांग्रेसका मन्त्री मध्ये १० जनाको पृष्ठभूमि विद्यार्थी राजनीति छ । नयाँ क्याविनेटमा शेखर कोइरालाको नाम चर्चामा थियो । तर उनी परेनन् । खासमा कोइराला परिवारबाट कोही पनि परेनन् । शशांक निकट मानिने दीपक गिरी मन्त्री भएका छन् । जीवनबहादुर शाही ग्रामिण क्षेत्रबाट प्रतिनिधित्व गर्छन् ।

सीतादेवी यादव भारतमा जन्मेकी र कांग्रेस कार्यकर्ताकी पत्नी हुन् । उनी प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा सहभागी हुँदैछिन् । रोमी गौचन थकाली यसअघि मन्त्री भइसकेका व्यक्ति हुन् । सूर्यमान गुरुङ आदिवासी जनजातिबाट परेका हुन् । शंकर भण्डारी खुमबहादुर खड्का गुटबाट मन्त्री भएका हुन् ।

विशेष