राजनीति

भारतकी छोरी, नेपालकी मन्त्रीः सीतादेवी

भारतकी छोरी, नेपालकी मन्त्रीः सीतादेवी

Sita Deviभदौ १० । सीतादेवी यादव संयोगले राजनीतिमा प्रवेश गरेकी हुन् । आफ्नो पतिको पदचाप समाउँदै पार्टीमा प्रवेश गरेकी उनी यसपटक शान्तिमन्त्री चुनिएकी छन् । माओवादी सशस्त्र संघर्ष चर्केको बेला २०५७ मा सीतादेवीका पति चन्द्रनारायण यादवको हत्या भएको थियो । हत्या गर्ने समूहका सर्वोच्च कमान्डर थिए – प्रचण्ड । घटनाक्रमले अहिले सीतादेवी तिनै प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी छन् ।

चन्द्रनारायण कांग्रेसका लोकप्रिय स्थानीय नेता थिए । देशमा सबैभन्दा बढी मत लिएर जिविस सभापति बनिसकेका थिए । केन्द्रीय तहका नेताहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत थुप्रै नेतासम्म पहुँच थियो उनको । बेला बेला ती नेताहरु सिरहास्थित सीतादेवीको घरमा गइरहन्थे ।

सीतादेवीको माइती भारतको मधुवनीस्थित पद्मागाउँ हो । उनीसंँग वैवाहिक अंगीकृत नागरिकता छ । उनी भारतमै जन्मिएर हुर्किएकी हुन् । नेपालमा विवाह गरेर आएपछि उनले ण्वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरिन् ।

उनको श्रीमानको हत्या भएको उनी श्रीमानसँगै थिइन् । सीतादेवी र उनको श्रीमान मर्निङवाकमा थिए । सीतादेवीलाई ‘तिमी घर जाउ म एकछिनमा आउँछु’ भनेर यादव बाटोमै अल्मलिए । सीतादेवी भन्दा उनको श्रीमान तीनसय मिटरको दुरीमा थिए । त्यो ठाउँ उनको घरनजिकै थियो । यादबको हत्या गर्न आउनेले शुरुमा उनलाई नमस्कार गरे । नमस्कार फर्काउँदा छातीमा गोली लागिसकेको थियो ।

श्रीमानको हत्या भएपछि सीतादेवी यादव राजनीतिमा प्रवेश गरिन् । उनका श्रीमान् सिराहा कांग्रेसका सभापति थिए । श्रीमानको हत्यालगत्तै सीतादेवीलाई पार्टीले जिल्ला सभापति बनायो । त्यसपछि उनी दुई कार्यकाल सभापतिमा चुनिइन् । त्यतीबेला देशभरकै कांग्रेसको उनी मात्र एक्ली महिला सभापति थिईन । त्यसपछि तीन कार्यकाल सभापतिको भूमिका निर्वाह गरिन् ।

सीतादेवी एक्लैले राजनीतिमा आउने निधो गरेकी होईनन । उनी श्रीमानको मृत्यु पछि के गर्ने दोधारमा थिईन । तर ,उनको सोचाईलाई बुझेर उनको छोराले राजनीतिमा यात्रा अघि बढाउन सहयोग गरे । डा.सुभाषचन्द्र यादव सीतादेवीका छोरा हुन् । एमडी गरेका यादव राजनीतिमा होमिएकी आमा सीतादेवीको पछि लागे । उनलाई निरन्तर साथ र सहयोग गरे ।

०६४ को संविधानसभा निर्वाचनमा उनलाई पार्टीले सिरहाबाट उम्मेदवार बनायो । तर उनी त्यो निर्वाचनमा पराजित भईन । दोस्रो संविधानसभा निर्वाचनमा पनि उनलाई पार्टीले उम्मेदवार बनायो । जनताले भोट दिए, उनले जितिन ।

प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेकी उनले राजनीतिमा आएपछि मधेसको मुद्धामा आवाज उठाईन् । तराई–मधेसमा शिक्षा, चेतना फैलाउनुपर्ने र रोजगारी वृद्धि गर्नुपर्ने विषयमा उनी सक्रिय भएर लागिन् । महिला सशक्तीकरण, आर्थिक आयआर्जनका लागि तराईका विभिन्न गाउँमा उनले सिलाइ बुनाइको कार्यक्रम पनि चलाईन । जसको कारणले गर्दा उनले दोस्रो निर्वाचनमा हार खाईनन् । जनताले उनर्ला विश्वास गरे ।

पतिको हत्या गर्ने माओवादीले सीतादेवीलाई राजनीतिमा नलाग्ने धम्की दिएको थियो । पति नै नरहेपछि उनको मन कठोर भइसकेको थियो । धम्कीले उनलाई असर गरेन । खेतको धान काटेर उतै बेचिदिने, बगैचाको आँप टिपेर लैजाने, आँपको रुख काटिदिने, आयस्रोतमा कब्जा जमाउने माओवादीको क्रियाकलापले सीतादेवीको परिवारलाई आर्थिक नाकाबन्दीको सामना गर्नुपरेको थियो ।

विरोधीहरूले कांग्रेसका कार्यकर्तालाई पनि उस्तै धम्क्याउँथे । उनको घरमा नजान उर्दी जारी गर्थे । पति देहान्तको ६ वर्षसम्म सीतादेवीले यस्तै आपत् भोगिन् । जसलाई उनीहरूले आर्थिक नाकाबन्दी भन्छन् । राजनीतिको संघर्ष प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी सीतादेवीले राजनीतिक भाषण कसरी गर्ने भन्ने पनि सिक्नुप¥यो । कुरा बुझ्ने स्वभावकी उनले बुझेका कुरालाई बिस्तारै व्यवहारमा उतार्न थालिन् ।

उनी कसैको रबर स्ट्याम बनिनन् । हरेक निर्णय आफ्नै विवेकले गर्ने नेतृ भनेर कांग्रेसमा उनी चिनिन्छन । कांग्रेसको १२औं महाधिवेशनमा उनीमाथि अन्तरघात पनि भयो । उनले एकजना द्वन्द्वपीडितलाई तीन वर्षदेखि घरमै पालेर राखेकी थिईन । धेरै कामको जिम्मेवारी उसैलाई दिएकी थिईन । तर, जिल्ला सभापति चुन्नको अघिल्लो दिन उसले विरोधीसंँग लागेर उम्मेदवारी घोषणा गरिदियो ।

तर, त्यो बेला पनि उनले नै जितिन । ०६२–६३ को जनआन्दोलनमा खेलेको भूमिकाबाट उनी हाई–हाई भइन् । उनले जिल्लाबाट १० गाडी मानिस काठमाडौं पठाएकी थिईन । जसले उनलाई त्यतीवेला निकै चर्चा दिलायो ।

भारतले यसपटक लगाएको नाकाबन्दीको बेला पनि उनको घरमा मधेसी दलका कार्यकर्ताले तोडफोड गरे । घरमै आगोलगाउने प्रयास गरे । घरमै रहेको गाडी, मोटरसाइकल जलाइएको थियो । उनी त्यतीबेला काठमाडौंमै थिईन । उनको छोरा घरमा थिए । उनको घर सडकछेउमै आन्दोलन गर्दै आन्दोलकारी हिँडेका थिए । फर्किंदा ढुंगामुढा गरेर तोडफोड गरेका थिए ।

उनको छोरा चुप बसे । पछि गेट नै फोडेर दुईवटा मोटरसाइकल बाहिर निकालेर आन्दोलनकारीले आगजनी गरे । राजनीति जीवनको लामो उतारचढाव र संर्घष पछि उनी शान्तिमन्त्री भएकी छिन । उनले आजीवन जुन समूह, शैलीविरुद्ध लडिन् त्यही धारका नेता प्रचण्डको अधिनमा रहेको मन्त्रिमण्डलको एक सदस्य सीतादेवी भएकी छन् ।

प्रस्तुतिः सागर बुढाथोकी

विशेष