राजनीति

संविधान संशोधन आन्तरिक मामिलाः अध्यक्ष यादव

संविधान संशोधन आन्तरिक मामिलाः अध्यक्ष यादव
भदौ  - ११ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको विषय नेपालीको नितान्त आन्तरिक मामिला भएको बताएका छन्। Upendra-Yadav-in-Parliament (1) सङ्घीय गठबन्धनको पूर्वघोेषित कार्यक्रमअनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको बृहत् अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन, पुनर्लेखन वा यस विषयसँग सम्बन्धित कुरा नेपाली आफैँले सल्ट्याउने स्पष्ट पारे । मुलुकमा गतवर्ष जारी भएको संविधानबारे साझा धारणा बनाउन र त्यसमा रहेका कमी कमजोरी नेपालीले नै समाधान गर्नुपर्छ भन्ने मान्यताअनुरुप गठबन्धन आन्दोलनमा रहेको यादवको भनाइ थियो । सङ्घीय गठबन्धनका संयोजकसमेत रहनुभएका अध्यक्ष यादवले आफूहरुको आन्दोलन सबैखाले विभेदको अन्त्यका लागि देशभक्तिपूर्ण आन्दोलन रहेको दाबीसमेत गरे । मुलुकमा अहिलेसम्मका सातवटै संविधानका व्यवस्था र अभ्यासले देशका सबै जातजाति, भाषाभाषी, धर्म सम्प्रदाय, रीतिथिति र संस्कृति परम्परालाई यो मेरो संविधान हो भन्ने अनभूति दिन नसक्दा असन्तुष्टि बढेको यादवको ठम्याइ छ । अब नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धनसँग सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीनबुँदे सहमतिअनुसार सरकारले तत्काल सिमाङ्कन मुद्दा समाधान गरिने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गर्न आवश्यक रहेको यादवले बताए । कार्यक्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता जङ््गीलाल राय, तराई–मधेस सद्भावना पार्टीका नेता रामनरेश राय र राष्ट्रिय जनमुक्ति पार्टीका केपी पालुङ्वा सहितका नेताले अब पनि सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग पूरा गर्ने तत्परता सरकार र मुख्य दलले नदेखाए निर्णायक आन्दोलन सुरु गरिने चेतावनी दिएका थिए । कार्यक्रम राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

upendra yadav

विशेष