कठै प्रचण्ड ! आखिर भारतकै एक कठपुतलीमा सिमित भए
किशोरकुमार विश्वास बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ । अध्यक्ष विश्वास तराईको थारु जातिबाट प्रतिनिधित्व गर्नुहुन्छ । तराईका आदिवासी, जनजाति, भूमिपुत्रको नाउँमा आयातितहरुले राजनीति गरिरहेको उहाँको बुझाइ छ । तराईका आदिवासी जनजातिको पार्टीका रुपमा दर्जनबढी मधेस केन्द्रीत राजनीतिक दल छन् । ती राजनीतिक दलले नेपाली जनताको होइन भारतको आदेश मान्ने गरेको विश्वासको धारणा छ । समसामयिक नेपाली राजनीति र तराईका विषयमा अध्यक्ष विश्वाससँग गरिएको कुराकानीको संपादित अंशः
नौ महिनामा ओली सरकार ढल्नु, अर्को सरकार पनि नौ महिनाकै आयु लिएर आउनुलाई कसरी हेरिरहनु भएको छ ? – नेपालमा यो जे भइरहेको छ, सबै देशी विदेशी योजनाअनुसार भइरहेको छ । त्यसमा पनि भारतको योजनाअनुसार नेपालमा ओली सरकार ढलेको हो । भारतकै योजनाअनुसार प्रचण्डको सरकार बनेको छ । प्रचण्ड नौ महिने म्यादी सरकारको ललिपपमा लोभिएर बालुवाटारमा विराजमान छन् । नौ महिना अघि नै प्रचण्ड किक आउट हुन सक्छन् । त्यसको ज्वलन्त आधार भनेको जनकपुर गएर उपेन्द्र यादबले प्रचण्ड सरकारको दिनगन्ती शुरु भएको बताइसके । यो उपेन्द्रको मुखबाट भारत बोलेको हो । नौ नौ महिनामा सरकार फेरबदल गर्ने दलहरुको निर्णय नै सबैभन्दा घातक, राष्ट्रहितविरीत हो । यो सत्य नेपाली जनताले बुझेका छन् । मुलुकको आवश्यता भन्दा पनि भारतको गुरु योजनाअनुसार नेपालमा अस्थिरता निम्तिने सहमतिहरु भएका हुन् ।
वर्तमान सरकारले आफ्ना विशेषदूत भारत र चीन पठाउनुलाई कसरी लिनु भएको छ ? – नेपाल सरकारका विशेषदूत भएर सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत गए । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटे । मोदीका सुरक्षा सल्लाहकार अजित डोभललाई भेटे । प्रधानमन्त्री प्रचण्डलेृ पठाएको पत्र मोदीलाई बुझाए । त्यो पत्रमा राष्ट्रघाती विषयहरु समावेश भएको कुरा बाहिर आएको छ । यस्ता गतिविधिले यो सरकार भारतले बनाएको कठपुतली हो भन्ने स्पष्ट पारेको छ । भारतीय स्वार्थ नेपालमा कार्यान्वयन गराउन प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । हुन त प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन गर्नु आफ्नो उद्देश्य हो भनिरहेका छन् । तर हेर्दै जानु होला, यो संविधान असफल बनाउने भारतीय योजनाअनुसार नै उनले क्रियाकलाप गर्दै जानेछन् । नेपाली जनता आफैले बनाएको संविधान असफल बनाउन नै वर्तमान सरकार भारतले गठन गरिदिएको हो ।प्रधानमन्त्री प्रचण्डले मोदीलाई पठाएको पत्रमा राष्ट्रघाती कुराहरु छैनन् भन्नु भएको छ । फास्ट ट्रयाक, भारतले भने बमोजिम संविधान संशोधन, भारतसँग माफी आदि कुरा एमालेले दुष्प्रचार गरेको मात्रै भनिरहनु भएको छ नी ? –प्रचण्ड कस्ता नेता हुन भन्ने कुरा अब पनि मैले भनिरहनु पर्छ र ? ओली सरकार ढाल्ने अघिल्लो दिनसम्म उनले –आफूलाई प्रधानमन्त्री पदको कुनै लालच छैन भनेका होइनन् ? प्रचण्डको बोली हरेक दिन होइन हरेक घण्टा बदलिन्छ । उनले सोझै राष्ट्रघात गरे कहाँ भन्छन् ? प्रचण्डले जे बोलेर आफ्नो इमान्दारिता पुष्टि गर्न खोजिरहेका छन् ती सबै झुठा हुन् । जनतासँग उनले गलत बोलिरहेका छन् ।
यदि भारतलाई बुझाएको पत्रमा आपत्तिजनक विषय छैनन् भने विमलेन्द्र निधि र प्रचण्डले त्यो पत्र सार्वजनिक गर्नुपर्छ । तर उनीहरुसँग हिम्मत छैन । त्यो पत्र सार्वजनिक गर्ने हिम्मत उनीहरुले गर्नेछैनन् ।
संविधान कार्यान्वयन, राजनीतिक स्थायीत्वमा मधेसी मोर्चाको भूमिकालाई कसरी नियालिरहनु भएको छ ? –मधेसी मोर्चाले तराईका उत्पीडित आदिवासी, जनजाति आदिको मुक्तिको लागि आन्दोलन गरेको भन्ने गर्छ । त्यो उसको बाहिरी रुपमा भन्ने कुरा हो । मधेसी मोर्चालाई राम्रोसँग धुने हो भने उसको अनुहारमा भारत देखिनेछ । अर्थात भारतको हितअनुसार नै मधेसी मोर्चाले आन्दोलन गर्छ । जनतालाई मर्न उक्साउँछ । अरुलाई मार्न पनि आफ्ना कार्यकर्ता उक्साउँछ । जनता मारेर भए पनि कम्तिमा आफ्नै मुलुकको हितका लागि केही गरिदिए त हुने हो । तर उनीहरुले भारतको हित, उसको एजेन्डाका लागि जे पनि गर्न तयार हुन्छन् । नाकाबन्दी जस्ता जनतामारा, राष्ट्रघाति काममा पनि भारतको आदेश मानेर मधेसी मोर्चाले जिम्मेवारी लियो । अहिले पनि लिइरहेको छ । अर्थात यो मधेसी मोर्चा भनेको मेड इन इन्डिया हो । यसले जे गर्छ भारतको हितलाई प्राथमिकतामा राखेर गर्छ ।
भनेपछि मधेसी मोर्चा जे जस्ता माग अगाडि राखेको छ, त्यसमा कुनै दम छैन ? –मधेसी मोर्चाको न पहिले कुनै माग थियो । न अहिले छ । मधेसी मोर्चाले त आफ्नो असन्तुष्टि जाहेर गर्न दुई दिने तराई बन्दको आह्वान गरेको थियो । नेपालले आफैंले संविधान जारी गरेपछि भारत रिसायो । अनि मधेसी मोर्चा पनि रिसायो । भारत नेपालसँग धेरै रिसाएको थियो । त्यो रिस आफ्नो एजेन्टमार्फत नाकाबन्दी गराएर, दर्जनौ जनताको ज्यान लिएर, महिनौं लामो तराई बन्द गराएर भारतले लिइसक्यो । अब अहिलेको सरकार भन्दैछ भारतसँग सम्बन्ध सुधार गर्न आवश्यक छ । नेपालले होइन, सम्बन्ध सुधार त भारतले गर्नुपर्ने हो । सम्बन्ध बिग्रनुमा नेपाल होइन भारतको साँढेप्रवृत्ति दोषी हो । नेपालमाथि अत्याचार गर्ने भारत, सम्बन्धको ठेक्का चाहिँ नेपालले लिनु पर्ने ?
भनेपछि मधेसी मोर्चाले संविधान संशोधन गरेर सिमांकन टुंग्याउनु पर्छ भन्ने मागको केही अर्थ छैन ? – सिमांकनमा मधेसी दलहरु बोलिरहन आवश्यक छैन । उनीहरुले सप्तरीदेखि पर्सासम्मको २ नम्बर प्रदेश पाइसकेका छन् । चुप लागेर बसे हुन्छ । आदिवासी थारुहरुको क्लस्टर भत्काइएको छ । सात नम्बरमा थारुहरुको चित्त बुझाउन आवश्यक छ । सिमांकन मिलाउने भनेका पश्चिममा हो । सिमांकनको कुरा उचालेर, ५० लाखको प्रलोभन देखाएर युवाहरुलाई मर्न उक्साउने मधेसी नेताहरु हुन् । त्यो आन्दोलन आवश्यक थिएन भनेर मैले त्यो बेला पनि भनेकै हुँ । अब पनि भन्छु । त्यति धेरै जनधनको क्षतिबाट के उपलब्धि भयो ? कुनै पनि मधेसी नेताले उत्तर दिन सक्दैनन् । किनभने त्यो आन्दोलन मधेसी जनताको लागि होइन भारतको आदेशानुसार गरिएको थियो ।
भारतले नेपालमा यति धेरै किन खेलिरहेको छ ? भारतले खोजेको के हो ? – हिन्दुराज्य । नेपाल हिन्दुराज्य होस् भन्ने भारतीय संस्थापनको चाहना हो । त्यो प्राप्त नहुञ्जेल नेपालका दलहरुलाई एक आपसमा लडाउने, अस्थिरता मच्चाउने, आन्दोलन चर्काउने, नेपालीहरुलाई मर्न र मार्न दलका नेताहरुलाई उक्साउने काम भारत गरिरहन्छ । भारतले भनेको यो कुरा मान्न कांग्रेस–माओवादी र मधेसी मोर्चाले शुरु गरिसकेका छन् । प्रचण्ड सरकार गठन हुनुअघि भएको तीन बुँदे सहमतिमा हेर्नुस त्यही धर्मनिरपेक्षता नै छैन । गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशीता आदि सबै उल्लेख छ । तर धर्मनिरपेक्षता छैन । विषय स्पष्ट छ । नेपालमा के भइरहेको छ । के हुनेवाला छ । जनता जागरुक नभएसम्म यी दलाल राजनीतिक दलहरुले कुन दिन देश नै बिक्री गरिदिन्छन् भन्न सकिन्न ।