कञ्चनका पति घरमा काम गर्ने केटासँग यौनसम्बन्ध राख्ने ‘होमो’ थिए
बिराटनगरमा जन्मेकी कञ्चनले विवाह अघिको समय बिराटनगरमै बिताइन् । एक इन्जिनियरसगँ उनको विवाहको कुरा चल्यो । उसले ललितपुरको पुल्चोक इन्जिनियरीङ क्याम्पस टप गरेको थियो । बाजुराको रैथाने भएपनि केटो काठमाडौंमै बस्दथ्यो । बेला त्यस्तै थियो । इन्जिनियर पढेको केटा पाउँनु भाग्यको कुरा ठहरिन्थ्यो । त्यसमाथि बुबाआमाले बिहेको निधो गर्ने चलन थियो । उनीपनि मनमनै फुरुङ्ग भइन्, ‘इन्जिनियरसँग बिहे हुने भयो ।’
उनी सुखी परिवारमा जन्मेकी थिइन् । उनका बुबा अमेरिकामा थिए । दाजुभाइ पनि अमेरिकामै थिए । माइतीमा अभाव केही थिएन । विवाहपछि पनि उनी सुखसयलमै रहिन् । एकपछि अर्को गरी २ सन्तानको आमा भइन् । छोराहरु बुझ्ने भएपछि उनले आफुले पनि केही गर्ने अठोट लिइन् । एसएलसी पास गरेकी उनका लागि विवाहपछि पढ्ने मेसो मिलेको थिएन । उनले ओम नर्सिङ क्याम्पसमा नर्सिङ पढ्न थालिन् ।
आँटे के हुँदैन र ? हेर्दाहेर्दै कञ्चनले विएस्सी नर्सिङ गरिन् । ओम अस्पतालमै जागिरे भइन् । गजबको परिवर्तन आफ्नै जीबनमा देखिन् । अरुको खुट्टामा होइन आफ्नै खुट्टामा उभिन सक्ने हुँदा कञ्चनलाई ठूलै बाजी मारेजस्तो भइरहेको थियो । पहिले उनी घरमै बस्थिन् । पढ्न थालेपछि उनी घरबाहिर निस्कन थालिन् । काम थालेपछि उनको चटारो झनै बढेको थियो । व्यस्तताको मजापनि बेग्लै हुँदोरहेछ ।
एक दिन उनको चाँडो छुट्टी भयो । उनी सरासर घर फर्किन् । घरमा आउँदा उनले अप्रत्यासित दृश्य देखिन् । उनका श्रीमान् घरमा काम गर्ने केटासँग लडिबुडी गरिरहेका थिए । नाङ्गैभुतुङ्गै रहेका उनका क्रियाकलाप कन्चनका लागि कल्पनाभन्दा बाहिरका विषय थिए । छाँगाबाट खसेजस्तो भएपनि उनले देखोनदेखो गरिन् ।
कञ्चनको मनमा अनेक कुरा खेल्न थाले । वेचैन भएकी थिइन् उनी । एक दिन उनले केटालाई श्रीमानसँगको सम्बन्ध बारे सोधिखोजी गरिन् । सुरुमा उसले केही होइन भन्दै टार्न खोज्यो । कञ्चनले आफुले सबै देखेको भनेर झपारेपछि केटोले मुख खोल्यो । ‘सुरुमा मलाई सरले सुम्सुम्याउँनु हुन्थ्यो । म सरसँग टाढा रहन्थेँ । उहाँले केही हुँदैन भनेर लोभलालच र डर देखाउनुहुन्थ्यो । मेरो केही लागेन । विस्तारै हामी श्रीमान श्रीमतीजस्तो बन्यौँ ।’ केटाले सुन्नै नसकिने तर सुन्नैपर्ने तीतो सत्य बकिरहेको थियो । कञ्चनलाई आफ्नो श्रीमानको भित्री पक्ष बुझ्न बर्षौ लागेको थियो । बिहे गरेको १९ बर्षपछि उनलाई थाहा भयो उनका श्रीमान होमो सेक्सुअल रहेछन् ।
कहिलेकाहीं केटाको घाँटीमा उनी नीलडाम देख्थिन् । तर, त्यतापट्टि ध्यानै गएन । केही कुरामा केटोलाई आलोचना गर्न पर्यो भनेपनि श्रीमान ‘साना कुरालाई ठूलो नबनाउ’ भन्दै झर्कन्थे । उनले भित्री राज धेरैपछि मात्र बुझिन् । श्रीमानका लागि आफुभन्दा प्रिय र आर्कषक त आफ्नै घरमा काम गर्न राखेको केटो पो रहेछ । उनलाई असह्य भयो ।
कञ्चनले श्रीमानसँग स्पष्टिकरण खोजिन् । उनले झूटो हो भनेर टार्न खोजे । तर, स्थापित भइसकेको सत्य सजिलै मेटिनेवाला थिएन । मन विस्तारै फाट्दै गयो । उनीहरुका बीचमा छोराहरुले समेत थाहा पाउने गरी खटपट शुरु भयो । उनले छोराहरुलाई सबै कुरा सुनाइन् । छोराहरु पनि बुझ्ने भइसकेका थिए । साथ देलान् भनेका छोराहरुले उल्टो ‘चुप लाग्नु मम्मी’ भनेर हकारे । कञ्चनको मुटु चुडियो ।
उनी श्रीमानसँग एउटै कोठामा बस्थिन् तर सुताइ सँगै हुंदैनथ्यो । एउटै टेबलमा खान्थिन् तर स्वाद साटिदैनथ्यो । अपरिचित व्यक्तिसँग बसेर खाएजस्तो हुन्थ्यो । श्रीमान उनीसँग झर्कन्थेमात्र । अनेक वहानामा कञ्चनलाई मानसिक र मनोवैज्ञानिक याताना दिन्थे । एक दिन उनले घरका सामान जथाभावी फुटाउँन थाले । टिभी, टेबुल, भाँडाकुँडा सबै फोर्न थाले । फुटेका सिसाका टुक्रामा खाली खुट्टा नाच्न थाले । ‘म पागल हुँ’ भन्दै चिच्चाइरहे । कञ्चनको सातो गयो । उनले त्यसो नगर्न सुझाइन् । तर, उनले कञ्चनलाई घरबाट निस्कन आदेश दिए । ननिस्के जेपनि हुंने चेतावनी दिए । ‘त बेश्या मसँग बस्न पाउँदिनस । निस्किनस् भने मारिदिन्छु ।’ अनेक लाल्छना लगाउँदै जाइलाग्न थाले । दोष आफ्नो भएपनि श्रीमान कञ्चनमै खोट देखाइरहेका थिए ।
उनले बिहान भएपछि जाने वाचा गरिन् । तर श्रीमान्ले मानेनन् । भ्याकुम क्लिनरको बींडले घोचेर मार्छु भन्दै झम्टिए । मारेर कुवामा लगेर फालिदिने उनले योजना बुनिसकेका थिए । कञ्चनसँग कुनै विकल्प रहेन । छोराहरुले आमाको पक्षमा बोल्न त बोले तर तिमीहरुपनि सँगै निस्क भनेर बुबाले हपारेपछि उनीहरु चुप रहे । त्यसपछि उनको मन मर्यो । यस्तो घरमा बस्न भन्दा नबसे ठीक भन्ने मनमा गड्यो । उनी नर्सिङको प्रमाणपत्र र नागरिकता लिएर रातको समय घरबाट बाहिरिन् । १९ बर्षको सुखद वैवाहिक यात्राको वियोगान्त भयो ।
छोराहरु हुर्किसकेका थिए । जेठो १२ र सानो ९ कक्षामा पढ्थ्यो । परिवारमा सबै राम्रै थियो । तर, भावना सुन्य हुँदै गएपछि सम्बन्ध टिकेन । श्रीमानको यौनिकताका बारेमा जानकारी पाएपछि कञ्चनलाई ठूलो चोट परेको थियो । त्यसमाथि श्रीमानको फेरिएको व्यहारले उनी विक्षिप्त भएकी थिइन् । विक्षिप्तताले चरम निराशा यानकी डिप्रेशनको रुप लिइसकेको थियो । प्रमाणपत्र साथमा भएपनि उनीसँग नयाँ जागिर गर्ने साहस थिएन । अझ भनौं जिन्दगी यस्तै रहेछ भन्ने निष्कर्षमा पुगेकी र भविश्य नदेखेकी उनीसँग जागिर गर्ने जाँगरसमेत हराइसकेको थियो ।
उनी आफन्तकहाँ हार गुहार माग्न पनि पुगिन् । तर समय सधैँ बलवान नहुने रहेछ । परेको बेलामा उनका लागि सबै पराई भए । मानवताको भावना कसैले देखाएन । सुरुमा माया गरेजस्तो गर्नेले पनि परिवारसँग विच्छेद भएको भनेपछि वेवास्ता गर्न थाले । साथपनि शक्तिशालीलाई नै दिइने मानवीय चरित्रले उनलाई झनै दुःखी बनायो । उनी सडकवासका लागि बाध्य भइन् ।
कञ्चन जुन सडकमा बसेकी हुन्थिन् त्यही सडकमा उनका लक्काजवान छोराहरु मोटरसाइकलमा हुंइकिन्थे । उनी बाबु भन्दै बोलाउँथिन् तर उनीहरु सुनेको नसुन्यै गरिदिन्थे । आमा बसेको ठाऊँ नजिक आएपछि उनीहरु झन् जोडले मोटरसाइकल घुमाउँथे । बिचित्र रहेछ संसार !
छोराहरुको व्यवहारका सम्बन्धमा बोल्दै गर्दा उनी थामिन सकिनन् । आँशुमा पुरिएकी उनले भनिन्, ‘अहिले पनि प्रत्येक गास मुखमा हाल्दा छोराहरुलाई सम्झन्छु । उनीहरुले खाए खाएनन् भन्ने पीरले सताइरहन्छ । ’ जस्तोसुकै भएपनि आमाको मन न हो । पानी सधैँ तल्लो गरामा मात्र बग्दोरहेछ भन्ने उदाहरण बनेकी छिन् कञ्चन ।
कञ्चनले बाटो र मन्दिरमा सात बर्ष बिताइन् । कुनै बेलाकी सम्पन्न परिवारकी मालिक्नी कञ्चन माग्दै खानपर्ने स्थितिमा पुगिन् । उनलाई दुनियाँले पागल देख्यो । दुनियाँ उनका लागि पागल थियो । आखिर उनी अन्यायामा परेकी पात्र थिइन् । श्रीमानले घरबाट निकाले । आफन्तले वेवास्ता गरे । कागजपत्र मिलाएर श्रीमानले उनको अनुपस्थितिमा सम्बन्ध विच्छेद प्रमाणित गराए । चारैतिरबाट ठगिएकी उनी अपरिचितहरुले दिएको सिदाबाट चल्दै आइन् ।
केही दिन पहिले उनी गौशलाको सडकमा चिया खाँदै थिइन् । ४५ बर्षकी कञ्चनलाई कसैले चिया किनिदियो र आफ्नो बाटो लाग्यो । नाथे एक कप चिया पाउँदापनि कञ्चन खुशीले झण्डै उफ्रिनन् । पशुपतितिर टहलाउँदै गरेकी दिक्षा चापागाईले यो दृश्य नियालीरहेकी थिइन् ।
पवित्र समाजसेवा नेपाल नामक एक परोपकारी संस्थाकी संचालिका दिक्षाले कञ्चनसँग सोधपुछ गरिन् । कञ्चनको कहालीलाग्दो कथा सुनेपछि उनलाई आफ्नै आमाको झझल्को आयो । उनले कञ्चनलाई संस्थामा जाऊँ भनेर आग्रह गरिन् । कञ्चनलाई ढुंगा खोज्दा देउवा मिलेजस्तो भयो ।
दिक्षाले आफ्नै स्कुटरमा हालेर उनलाई धापासीस्थित पवित्र समाससेवामा ल्याइन् । त्यहाँ पुगेपछि कञ्चनले आफुजस्तेै बेसाहारा धेरै वृद्धाहरुलाई देखिन् । आफूजस्ता धेरै साथीहरु देख्दा उनको मन चङ्गा भयो । उनको जीबनमा नयाँ पखेटा पलायो । उनी अहिले भिन्दै संसारमा उड्ने कोशिश गरिरहेकी छिन् ।
प्रस्तुतिः कञ्चन न्यौपाने
kanchanko dardanak katha