थारुहरुले गरे आन्दोलनको घोषणा
भदौ १७ । संविधानमा गरिएको संघीय राज्यको सिमांकनमा असन्तुष्टि जनाउँदै आएको थरुहट थारुवान संयुक्त संघर्ष समितिले एक महिना लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
कार्यक्रमअनुसार भदौ २४ गतेदेखि २९ गतेसम्म थारुवानका प्रत्येक जिल्ला र काठमाडौ उपत्यकामा भेला, अन्तरक्रिया र गोष्ठी गर्ने, संविधान जारी भएको दिन असोज ३ गते थारुवानका १० स्थानमा विरोध सभा गर्ने समितिले जनाएको छ । असोज ७ मा थारुहरुले जितिया पर्व मनाउँदै आएका छन् । सो पर्वलाई पनि विरोधकै रुपमा मनाउने संघर्ष समितिका नेता किशोरकुमार विश्वासले जानकारी दिएका छन् ।
संविधान जारी भएपछि तराईमा भएको आन्दोलनबारे छानविन गर्न सरकारले हालै सर्वोच्च अदालका पूर्वन्यायाधीश गिरिशचन्दलाल दासको संयोजकत्वमा गठित स्वतन्त्र न्यायिक समितिले थारुवान क्षेत्रमा भएको आन्दोलनबारे अनुुसन्धान गर्ने हैसियत नराख्ने समितिले जनाएको छ । संघर्षसमितिका नेता विश्वासले भने, ‘हाम्रो माग बेग्लैछ, आन्दोलन बेग्लै हो । मधेसी दलले गरेको आन्दोलन हाम्रो होइन । हाम्रो आन्दोलनमा भएको क्षतिबारे अनुसन्धान गर्न त्यो समितिले सक्दैन । ’
नेता विश्वासले टिकापुर घटनाको अनुसन्धान गर्न बेग्लै समिति बनाउन आग्रह गरे । संघर्ष समितिको भदौ १३ र १४ मा बसेको बैठकले आफ्ना ७ बुँदे शर्त र १३ बुँदे मागका सम्बन्धमा सरकार जिम्मेवार नभएको बताउँदै आएको छ ।