कला साहित्य साहित्य आज

विवाह, सुहागरात र विदेश

कथा

विवाह, सुहागरात र विदेश

 

 योजना थिएन विहे गर्ने । बाबू आमाले कर गरे । बाध्यता प¥यो । तीन महिनाको छुट्टि थियो । यताउता गर्दा गर्दै एक महिना बितिसकेको थियो । घरकालाई भन्दा पनि बाहिरकालाई चासो बढी । छोड्दै छोडेन । केटी हेर्न जानु पर्याे ।

ठूला मान्छेको मान राख्न पनि जानै पर्ने बाध्यता थियो । पहिलो दिन यतिकै कुरा बुझ्ने, केटालाई मन परेपछि मात्र खबर गर्ने सल्लाह भयो । केटीको यति गुणगान गाए कि सुन्दै झर्काे लाग्ने । म मौन रहें । उनीहरूले मौनता स्वीकृति सम्झे त्यसै अनुसार केटीको घरमा पुग्यौं । हेरेको चाथो दिन केटी अर्कै केटासँग भागी छ । साथीहरूको समूहमा हाँसोको पात्र बन्न पुगें । फेरि अर्की केटी हेर्न जाने भनेर आफन्तको खबर आयो । जान्न भन्दा घरमा झगडा पनि भयो । अनेक कुरा सुनाउंन थाले । मर्नु भन्दा बौलाउनु नै बेस ठानेर केटी हेर्न तिर लागें । केटी देखाउनेले यो पटक केही भनेनन् । गएपछि सबै थाहा हुने बताए । केटीको घरमा पुगियो । पहिल्यै खबर गरेको भएर होला सबै तयारी भइसकेको रहेछ । केटी राम्रै लाग्यो ।

१२ पढ्दै गरेकी, आफू एसएलसी कटाउन नसकेर विदेश छिरेको । घर सबै यसैको भरमा चलेको, सिलस्वभाव पनि राम्रो, श्रीमानको राम्रो ख्याल राख्न सक्ने, यताउता लपनछप्पन केही नभएकी भन्दै केटीका बाउआमाले तारिफ गरे । सुन्दा ठिकै लाग्यो । विहे एक पटक गर्नु नै छ भने यसैसंग किन नगर्ने ? विदेशमा काम गर्दा साथीहरू विहे पछिका अनेक कहानी सुनाउँथे । मन मनै विहे गरौं गरौं हुन्थ्यो । नेपाल आएपछि भने सोच्न बाध्य भएको थिएँ । एक मनले विहे गरेरै जाउँ भन्थ्योे भने अर्काे मनले २–४ बर्ष विदेश बसेर आँउ अनि ढुक्कले विहे गर्नु पर्ला अनि यतै बसेर केही गर्नु पर्ला जस्तो लाग्थ्यो । आफन्तको कुरा नकार्न सकिन । मौनताबाटै उनीहरूले हुन्छको स्वीकारोक्ति दिए । छुट्टि बाँकी डेढ महिना जति थियो । ईन्गेजमेन्ट भयो । लगन जुर्याे विदेश जानु भन्दा १० दिन पहिला ।

त्यो लगनभन्दा पहिला विहे गरे दाम्पत्य जीवन लामो समयसम्म नटिक्ने पण्डितले भविष्यवाणी गरे । फेरि मौन भएं । आफन्तहरूले मेरो मौनतालार्ई हुन्छ सम्झे । विवाहको तामझाम सुरू भयो । खानापिना, सरसामान किन्ने निम्ता गर्ने सबै सकियो । जन्ती लान घरमा गाडी, जन्ती जान केटाभन्दा केटी धेरै तयार भए । चिटिक्क परेर आएका । विहे गर्नेलाई भन्दा उनीहरूलाई बढी विहे लागेको थियो । सबै रीतिरिवाज अनुसार कर्मकाण्ड अगाडि वढ्यो । जन्तीले गाडी भरियो । दुलहा बस्ने ठाउँ पनि थिएन । ठूलाबडाले दुलहालाई त बस्न दिनु भन्दै ब्यांग्य गरे । सबै गललल हाँसे । ब्यांग्यको पात्र भएको अनुभुति भयो । मौनता नै स्वीकारोक्ती थियो । विहेको तामझम गरिदिनेले मलाई अनेक कुरा सम्झाउँदै थिए । म बुझ्ने प्रयास गर्दै थिए । साथीभाइ आफ्नो जोडा खोज्ने भन्दै अनेका थरिका कुरा गर्दै थिए ।

जन्ती जाने केटीहरूको अनेक तामझामले वाक्कै लाग्ने । अनुहार नियाल्दा सबै खुशी थिए म के थिए आफैँलाई थाहा थिएन । म भने मौनै थिए । यो मौनतालाई उनीहरू लाज ठान्थे । विहेपछि सबै ठीक हुन्छ भन्थे । विहेको कार्यक्रम सकियो । अबेर राति घर फक्र्यौं । घरमा मेरोभन्दा नयाँ आउने दुलहीको तिब्र प्रतिक्षा थियो । गृह प्रवेश, मुखदेखाई अनेक सुरू भयो । दिनभरको तनावले निकै थकान भएको थियो । कोठामा पसेर खाटमा पल्टेको भुसुकै निदाएछु । बिहानै सबेरै आँखा खुले । छेउमै नयाँ दुलही सुतिरहेकी थिइन् । टेबुलमा खाना र एक गिलास दूध राखिएको थियो । घडी हेरेको विहानको साढे चार भएको रहेछ । एउटा बल्यांकेट थियो जुन मैले आडेको थिए । उनीले जाडो महशुस गरे जस्तो लाग्यो । बल्यांकेट ओडाइ दिएं । सुत्न मन लागेन । उठेर फेसबुक तिर आँखा डुलाएं । साथीभाइले मेरो विवाहको तस्बिरहरू फेसबुकमा अपलोड गरिसकेछन् । अनेक तरहका स्ट्याटस र कमेन्ट, हेर्न मन लाग्यो । एकोहोरो के सोचेर बसिरहेको थिएं । मोबाइलको रिंगटोनले सातै लग्यो । उनीको मोबाइल थियो ।

छामछुम गर्दै उठाइन । फोन आमाको हुनु पर्छ, मेरो अनुमान त्यही थियो । सायद उनले छोरीलाई पहिलो दिन गर्नुपर्ने कुरा सम्झाइन् । सबै संम्बाद हुन्छ भन्नेमा नै सकियो । म नजिकै आएर खुट्टा छुन खोजिन् । मलाई यस्तो मन नपर्ने बताएं । उनी दोधारमा परिन् । दुवै मौन भयौं । ब्यागबाट कपडा झिकेर बाथरूम तर्फ लागिन् । विहान पूजापाठ गर्ने कार्यक्रम थियो । त्यसपछि भोजभतेर हुने । साँझ दुलान फर्काउन जाने कुरा तय भयो । सबै भोजभतेरमा व्यस्त भए । सबै काम सकेर साझ दुलान फर्काउन ससुराली घरतिर लाग्यौं । उता तिब्र प्रतिक्षामा थिए । ढोगभेट, कस्तो कस्तो नरमाइलो जस्तो लाग्यो । छिमेकीको मेला लाग्यो । मलाई भने जेल परे जस्तै हुँदै थियो । फेरि मौन रहें । उनीहरूले नयाँ भएर संकोच मानेको सम्झे । साँझ घर फर्कियौं ज्यानमा सास आयो । साथीहरू छुट्टै पार्टी भन्दै थिए । मैले नाइनास्ति गरिन । सबै जम्मा भए, मेरै पैसाले टन्न भए मेरै खिल्ली उडाए । फेरि म मौन भएं । साथीहरूले म व्यवहारिक भएको सम्झे । अबेर घर पुगियो । अभिभावक रिसाए । समयमा घर आउनु अब तेरो विहे भइसक्यो । परिवारलाई पनि समय दिनु पर्ने भन्दै सम्झाए । मनमा अनेक कुरा खेल्न थाले । मोबाइल, फेसबुक, गीत, ल्यापटप, केही कुरामा मन भुलेन, छट्पटी भयो । दस जनाका दस थरी कुरा वाक्क्दिक्क लाग्यो । उनी आइन । ध्यान उतै खिचियो । विहेपछि श्रीमतीले श्रीमानको लागि प्रत्येक दिन दूध लिएर आउंँछन भन्ने सुनेको, हातमा दूध थिएन । उनी अलग्गै बसिन, मुख निन्याउरो थयो । कारण जान्न खोजे, महिनावारी भएको भन्ने उत्तर आयो ।

महिनावारी हुँदा श्रीमान् श्रीमती एकअर्कालाई नछुने चलन छ । उनी भुइँमा सुतिन । म बेडमा पल्टिएं । विदेश जाने दिन नजिकिँदै थियो । स्वदेशमा रहेका आफन्तहरूले नासो ल्याइदिन थाले । यताउता गर्दा गर्दै जाने दिन पनि आयो । श्रीमान् श्रीमती बीचको सम्बन्ध स्थापित हुन पाएन । विहे गरेको सातौं दिन साँझ काठमाडौं तिर लागें । आठौं दिन आराम गरियो र नवौं दिनको साँझ उडियो । मेरो विवाह भाइरल भइसकेको थियो । विदेशमा सबै उस्तै उमेरका साथिभाइ थिए । रोकटोक गर्ने कोही हुँदैन । लाज शरम कम हुन्छ । साथीहरू विहेको पहिलो रातको विषय कोट्याए । मेरो अनुहार रातोपिरो भयो । केही बोलिन, उनीहरू आफैं अनुमान लगाए म लजाएको । पहिला पहिला यस्तै हुने पछि बानी पर्दै जाने भन्दै सम्झाए । कसैले विचरा एउटी केटीको चाहना कुल्चेर आएको भन्दै हप्काए । मौन रहें । उनीहरूले, विहेपछि श्रीमतीेको यादमा गम खाएको बुँझे ।

घरमा फोन गर्दा बुहारी एकदम खास्साकि छ भनेर सुनाउँथे । अनेक गुणगान हुन्थ्यो । उनले पनि कहिल्यै कुनै गुनासो गरिनन् । केही चाहिन्छ कि भन्दा कुनै कुराको रहर नभएको बताउँथिन् । केही पठाउँन पनि मलाई झन्झट लाग्थ्यो ठिकै ठान्थे । दुई बर्ष कट्यो । घर फर्किने मिति तय भयो । खबर गरे सबै खुसी भए । कस्तो नरमाइलो लाग्ने विदेशबाट फर्किने बित्तिकै । मान्छे पनि अनौठा र फोहरी देखिने । आफ्नै देश हो माया लाग्छ । बाबा लिन आउनु भयो । १० बजेतिर घर पुगीयो । घरमा सबै थिए उनी थिइनन् । बिहान सबेरै अर्कै केटासंग पोइला गइछ आमाले जानकारी दिनु भयो । फेरि मौनता छायो । सोचें, फेरि एकपटक हाँसो पात्र बन्दै छु ।


नेत्र पाैडेल 

badhyeta ma bihe garda Bibah netra paudel paila paixe shreemati ra bidesh story Story By Netra Paudel विवाह श्रीमती र विदेश

विशेष