उपेन्द्र यादव मधेस आन्दोलनलाई ‘डिफ्युज’ गर्न खोज्दै छन्– सद्भावना महासचिव
भदौ २१ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलन समाप्त पार्न खोजेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले आरोप लगाएका छन् ।
मंगलबार नेपालआजसँगको कुराकानीका क्रममा महासचिव सुमनले भने, ‘कसैसँग सल्लाह नगर्ने, आफूखुसी निर्णय गर्ने समिति बनाउने जस्ता क्रियाकलापले उहाँ मधेसी मोर्चाको आन्दोलन डिफ्युज गर्न उद्यत हुनुहुन्छ भन्ने देखाउँदैछ ।’ संविधान संशोधनका लागि उपेन्द्र यादव संयोजक रहेको संघीय गठबन्धनले सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा एक समिति बनाएपछि मोर्चामा आवद्ध दलहरु आक्रोशित छन् । सद्भावना महासचिव सुमनले भने, ‘संघीय गठबन्धन हो कि खै के हो एउटा गठबन्धन छ रे । त्यसको संयोजक उपेन्द्रजी हुुनुहुन्छ भन्ने सुनेको छु । त्यो गठबन्धनले केके निर्णय गर्छ, हामीलाई थाहै हुँदैन ।’
महासचिव सुमनले केही दिनमै संविधान संशोधन विधेयक संसदमा दर्ता हुने जानकारी दिए । उनले भने, ‘संविधान संशोधन हामीले भने जसरी मात्रै हुँदैन त्यो हामीलाई थाहा छ । सिमांकनको कुरा चाहिँ विवादीत पाँच जिल्लाको पहाड र तराई छुट्टयाएर अर्थात जिल्ला टुक्र्याएर हुनेछ ।’