कला साहित्य

कलाकार तथा साहित्यकारलाई बसुन्धराश्री र मानश्री सम्मान

कलाकार तथा साहित्यकारलाई बसुन्धराश्री र मानश्री सम्मान
samman 2 काठमाडौँ, २१ भदौ । बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले विसं २०६६ देखि २०७३ सम्मको बसुन्धराश्री र मानश्री पुरस्कार तथा सम्मान प्रदान गरेको छ । प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा साहित्य, कला र सङ्गीत क्षेत्रमा योगदान पु¥याउनु हुने विभिन्न श्रष्टालाई सम्मान गरियो । रु ५० हजार राशिको बसुन्धराश्रीबाट वैरागी काइँला (२०६७), प्राडा वासुदेव त्रिपाठी (२०६९), शशी शाह(२०७०), हरिप्रसाद रिमाल (२०७१), अम्बर गुरुङ(२०७२) र लीलाबहादुर क्षेत्री(२०७३)लाई सम्मान गरियो । साहित्यकार रिमालको सम्मान श्रीमती कल्याणी रिमाल र सङ्गीतकार स्वर्गीय गुरुङ्को सम्मान श्रीमती बिना गुरुङले ग्रहण गरेका थिए । यसैगरी रु २५ हजार पुरस्कार राशिको मानश्री पुरस्कारबाट सनत रेग्मी (२०६६), विजय बजिमय(२०६७), रामदयाल राकेश(२०६८), डा बेन्जु शर्मा(२०६९), किरण मानन्धर(२०७०), नीर शाह(२०७१), दीप श्रेष्ठ(२०७२) र दुर्गाप्रसाद श्रेष्ठ(२०७३)लाई सम्मान गरियो । कार्यक्रममा परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले राष्ट्रलाई बलियो बनाउन कला, संस्कृति, भाषा, साहित्य र सभ्यताको संरक्षण आवश्यक रहेको बताए । उनले भने–‘‘परराष्ट्र नीतिको महत्वपूर्ण कुरा राष्ट्रिय स्वार्थ मजबुत गर्नु हो । नेपाली साहित्य, सिर्जनाबिना यो सम्भव छैन । त्यसैले नेपाली कला, संस्कृतिलाई बलियो बनाउनु आजको आवश्यकता हो ।’’ उनले नेपाली राजनीतिले कला, साहित्यलाई आत्मसात् गर्न नसकेको बताउँदै कला, साहित्यका क्षेत्रमा गर्नुपर्ने लगानी गर्न नसकेको स्वीकार गरे । विदेशमा रहेका नेपालीको सुरक्षा गर्नु मुख्य दायित्व रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्री डा महतले मलेसिया, खाडी मुलुकलगायत विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई धानेको छ, आज उनीहरु नै असुरक्षित हुन नपरोस् भनी आफूले विशेष जोड दिएको बताए । उनले भने, ‘‘परराष्ट्र नीति सडकमा कराएर चल्न सक्दैन, देशको राष्ट्रिय स्वार्थको रक्षा कसरी हुन सक्दछ भन्ने कुरामा सम्बेदनशील हुनुपर्दछ, कुनै समस्या आए कुटनीतिक ढङ्गबाटै समाधान खोज्नु पर्दछ ।’’ कार्यक्रमका सभापति राष्ट्रकवि माधवप्रसाद घिमिरेले परराष्ट्र नीति र विदेशस्थित कुटनीतिक नियोगमा रहने व्यक्तिले नेपाली साहित्य, कला, संस्कृतिलाई बुझ्न सकेमा नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा अभिवृद्धि गर्न सकिने बताए । बसुन्धरा–मान प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार दुबसु क्षेत्रीलाई बेलायतका लागि नेपाली राजदूत नियुक्त हुन लागेकामा शुभकामना दिँदै नेपाली साहित्यलाई मुलुक बाहिरसमेत प्रबद्र्धन गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रतिष्ठानका अध्यक्ष क्षेत्रीले २०५६ मा स्थापित उक्त प्रतिष्ठानको नेपाली बाङ्मयका विभिन्न विधामा योगदान पु¥याउने स्रष्टाको सम्मान, साहित्यिक सिर्जना प्रकाशन गर्ने उद्वेश्य रहेको बताए । सम्मानित व्यक्तित्वका तर्फबाट कलाकार नीर शाहले यस प्रकारको सम्मानले कलाकारलाई जीवनभर सक्रिय रहन प्रेरित गर्नुका साथै अझ गतिशील र ऊर्जाशील बनाउने विचार व्यक्त गरे । कार्यक्रममा कलाकार शाहद्वारा निर्देशित ‘सेतो बाघ’ चलचित्रको प्रदर्शनी पनि गरिएको थियो ।

Basundhara Shree Price Man Shree prize

विशेष