अख्तियार आयुक्तलाई छुने आँट गरेन संसदको सुशासन समितिले
भदौ २४ । स्वार्थको द्वन्द्व जोडिएका दुई यस्तै घटनामा संसदको सुशासन समितिले एक जनलाई कारबाहीको सिफारिस गरेर अर्कोलाई उन्मुक्ति दिएको छ । सुशासन समितिले गठन गरेको उपसमितिले काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं एसोसिएट डिन भागवत नेपालालई कारबाहीको सिफारिस गरेर अख्तियारका आयुक्त राजनारायण पाठकलाई उन्मुक्ति दिएको हो ।
पाठक र नेपाल दुवै आफ्नो सन्तान प्रवेश परीक्षामा सहभागी भएको अवस्थामा स्वार्थको द्वन्द्व हुने क्रियाककलापमा संलग्न थिए । केयूको प्रवेश परीक्षामा अख्तियारले गरेको हस्तक्षेप प्रकरणमा सुशासन समितिले सदस्य पद्मनारायण चौधरी संयोजकत्वको उपसमिति गठन भएको थियो । उपसमितिमा उदय नेपाली श्रेष्ठ, जनकराज जोशी, नरसिंह चौधरी र मिलनकुमार राजवंशी सदस्य थिए ।
सुशासन समितिको बैठकमा उपस्थित अख्तियारका तत्कालीन सचिव शान्तराज सुवेदीले आयुक्त राजनारायण पाठककी छोरी प्रिया पाठक केयूको प्रवेश परीक्षामा सहभागी भएको तर उत्तीर्ण हुन नसकेका बताएका थिए । आफ्नी छोरी प्रवेश परीक्षमा सहभागी हुने थाहा पाएका पाठकले अख्तियारको क्षेत्राधिकार कानुनविपरीत विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरी अख्तियारकै टोलीबाट प्रश्न पत्र निर्माण गर्न लगाएका थिए । कान्तिपुर दैनिकबाट