मन्त्री हुँदा भन्न नसकेका कैयन रहस्य खोल्दै लालबाबुले भने– ‘रामचन्द्रले छोराको ग्रिनकार्ड जोगाउँन अमेरिका भगाए’
भदौ २५ । पटक पटक प्रधानमन्त्रीका लागि प्रयास गरेका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले ग्रिनकार्ड बचाउँनका लागि नेपालको आर्कषक जागिर छोडेको तथ्य सार्वजनिक भएको छ । पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चिन्तन बिदेशको स्थायी बसोबासको प्रमाण पत्र जोगाउन बिदेश फर्किएको खुलाशा गरेका छन् ।
हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै पण्डितले भने, ‘विदेशमा स्थायीरुपमा बसोबास गर्ने प्रमाणपत्र लिएकाहरुलाई नेपालको कुनैपनि सरकारी निकायमा नियुक्ती नगर्ने प्रावधान संविधानमा उल्लेख भयो । त्यसपछि पटकपटक प्रधानमन्त्रीको दौडमा सामेल भइसकेका सत्तारुढ दलका एक नेताले छोरालाई बिदेश भगाए । गरिवि निवारण कोषमा उहाँको छोरा योग्य भन्दै नियुक्त गरिएका थिए ।’ उनले देशको आकर्षक जागिरभन्दा बिदेश बसाइको प्रमाणपत्रलाई ठूलो ठान्ने नेताहरुकै कारण देशले दुःख पाएको टिप्पणी गरे ।
‘बुढेसकालमा बिदेशको भत्ता खाने लोभ देखियो । आफु शक्तिमा रहेको बेला मौका पाएसम्म छोराछोरीलाई नेपालको आर्कषक जागिर दिलाउने, आफु नेपालमा टिक्न नसक्ने स्थिति भएमा बिदेश भाग्ने ठाऊँ बनाइराख्ने प्रबृत्ति देखियो ।’ पौडेललाई कटाक्ष गर्दै पण्डितले भने, ‘उहाँको त त्यस्तो नियत छ भने अरुको के होला ? जनता नजागि हुँदैन ।’ अनुकुल अवस्था भएमा पौडेल र पौडेल जस्ता नेताहरुले फेरिपनि विदेशमा बसेका छोराछोरीलाई नेपालमा अवसर दिलाउने र फगाउने पण्डितको आंशका छ ।
सुशील कोइराला प्रधानमन्त्री हुंदा चिन्तनलाई गरिबि निवारण कोषको कार्यकारी उपाध्यक्ष नियुक्त गरिएको थियो । डेड लाख तलब र भत्ता तथा अन्य सुविधाका कारण यो पद सरकारी मध्येको आर्कषक मानिन्छ । बेलायतमा बस्दै आएका चिन्तन बुबाको पहुँचका कारण उपाध्यक्ष जागिर पाएका थिए । संविधान जारी भइसकेपछि उनले विभागीय मन्त्री चिन्त्रबहादुर केसीसँगको असमझदारीलाई कारण देखाउँदै राजिनामा दिएका थिए । राजिनामा दिएलगत्तै उनी परिवारका साथ बेलायत हानिएका थिए । उनीसँग बेलायतको स्थायी बसोबासको प्रमाणपत्र रहेको बताइन्छ ।
शंकर पोखरेलले मधेशीलाई काले भन्दा चित्त दुख्यो नेकपा एमालेका नेता पण्डितले आफ्नै पार्टीका स्थायी समिति सदस्य शंकर पोखरेलले मधेशी र मधेशी मोर्चाको आन्दोलनलाई लिएर गरेको ट्विट गलत भएको प्रष्ट पारेका छन् । उनले कालो भएकोमा आफुलाई गर्ब लागेको बताए । ‘कालो छु । मेरो मन सफा छ । जनताको मन जितेको छु । नेपालको स्वाधीनता, अखण्डता, शान र मानका लागि अन्तिम सास रहेसम्म लड्ने छु ।’ पण्डितले प्रण गरे ।
शंकर पोखरेलको ट्विटका कारण नुवाकोटकी आफ्नी श्रीमतीको समेत चित्त दुखेको उनको भनाइ छ । अभिव्यक्ति दिंदा नेताहरुले ख्याल गर्नुपर्ने भन्दै पण्डितले भने, ‘मधेशीको चित्त दुखेको छ । मलाई पनि नराम्रो लागेको छ । शंकरजीले गल्ती सच्याइसक्नुभयो स्टाटस हटाएर । अब यसबाट पाठ सिकौं ।’