ओली रिसाए पनि माधव नेपाल पुगे प्रचण्डलाई भेट्न
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का नेता माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भएर छलफल भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेकपा (माओवादी केन्द्र) र नेकपा(एमाले) बीच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री नेपालबीच भएको करिब एक घन्टाको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण र बजेट मार्फत नेकपा (एमाले) नेतृत्वको सरकारले घोषणा गरेका कार्यक्रम र आयोजनालाई निरन्तरता दिने विषयमा छलफल भएको नेता नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । उनीहरुबीच संविधान कार्यान्वयन र २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने तीन वटा नर्वाचनको कार्यभार संविधानअनुसार नै समयमै सक्न के कसरी अगाडि बढ्ने भन्ने बारेमा समेत विस्तृत छलफल भएको बताइएको छ ।