राजनीति

उपचार नपाएर अब कसैले पनि मर्नु पर्दैन – स्वास्थ्य मन्त्री थापा

उपचार नपाएर अब कसैले पनि मर्नु पर्दैन – स्वास्थ्य मन्त्री थापा
Gagan Thapa भदौ - २५ । स्वास्थ्यमन्त्री गगन थापाले आर्थिक अभावका कारण उपचार नपाएर अब कसैले पनि मर्नु नपर्ने बताए । भक्तपुरको थिमिमा नेपाल स्वास्थ्यकर्मी सङ्घले आयोजना गरेको बिपी कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘बिपीको समाजवाद र नेपालको स्वास्थ्य सेवा विषयक’ विचार गोष्ठीमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । शिक्षण अस्पतालमा उपचार गर्ने रकमको अभाव भएका मिर्गौला पीडितले झ्यालबाट हाम फालेर आत्महत्या गरेको सन्दर्भ कोट्याउँदै मन्त्री भने–“आर्थिक सङ्कटकै कारण कोही पनि नेपालीले उपचार नपाएर मर्नुपर्ने अवस्थाको अब अन्त्य हुनुपर्छ, म त्यसका लागि लाग्छु ।” ठूला र विशिष्टका नाममा राज्यले उपचारका लागि दिँदै आएको अनुदान अब रोक्नुपर्ने औँल्याउँदै उनले अन्यथा आमनागरिकलाई पनि दिनुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । नेपालमै गुणस्तरीय अस्पताल र राम्रा डाक्टर भएको चर्चा गर्दै मन्त्री थापाले भने –“नेपालकै अस्पतालले उच्चस्तरीय सेवा दिन सक्षम छन्, नेपालमै सबैले उपचार गराउनुपर्छ, यही उत्कृष्ट चिकित्सकहरु छन्, उनीहरुलाई विश्वास गर्नुपर्छ ।” उपचारका लागि राज्यको ढुकुटीबाट अनुदान लिएर बिदेसिने परम्परालाई रोक्नै पर्ने बताए । “मैले मेरो परिवारको उपचार गराउन विदेश जाने र राज्यको अनुदान लिने प्रयास गरिन्न, अब ठूलाले पनि नेपालमै उपचार गराउनुपर्छ ।” उनले भने । आगामी दुई/तीन महिनाभित्रै स्वास्थ्य बिमालाई कानुनको रुपमा पारित गर्न आफू लाग्ने बताउँदै मन्त्री थापाले खटाएका ठाउँमा नजाने चिकित्सक तथा कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने बताए। नेपालमा मातृ मृत्युदर र बाल मृत्युदर घटाउनमा स्वयम्सेविकाको ठूलो भूमिका रहेको चर्चा गर्दै उनले उनीहरुको सेवा सुविधा बढाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री थापाले स्थानीय निकायको निर्वाचन कुनै पनि बहानामा नरोकिने बताउँदै निर्वाचनको तयारीमा लाग्न काँग्रेसका कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल स्वास्थ्यकर्मी सङ्घ भक्तपुरका अध्यक्ष राजकुमार थापा, काँग्रेस भक्तपुरका पूर्वसभापति गणेशमान चक्रधर, स्वाथ्यसँग सम्बन्धित विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसङ्गतिको अन्त्य हुनुपर्नेमा जोड दिए । रासस

Gagan Thapa

विशेष