कला साहित्य

सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनको विमोचन

सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनको विमोचन
असोज – ४ । भारोत्तोलनका सफल खेलाडी एवं राजनीतिज्ञ सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ को आज काठमाण्डौस्थित राष्टिय खेलकुद् परिषद्को ओलम्पियन मिनि कर्बड हलमा विमोचन गरिएको छ । ओलम्पिक खेलाडीहरु जगदीश प्रधान, पुष्पराज ओझा, संगिना बैद्य, अनिता श्रेष्ठ र लेखक स्वयम्ले उक्त आत्मकथाको विमोचन गरेका छन् । surendra-hamal क्रियटिभ बुक्सले प्रकाशन गरेको ‘ओलम्पियनः सुरेन्द्र हमाल’ को सहलेखन टीएस ठकुरीले गरेका हुन् भने सम्पादन पत्रकार जनक नेपालले गरेका छन् । विमोचन समारोहमा बोल्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलाडीको पहिलो आत्मकथाले खेलाडी र खेल पदाधिकारीलाई उत्साहित बनाएको बताए । ओलम्पियन हमालको आत्मकथाले नेपाली खेलाडीको वास्तविकता सार्वजनिक गरेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले अब खेलकुद्को घटना क्रम पुस्तकमा आएकाले अहिलेको पुस्ताका लागि प्रेरणादायी बन्न सक्ने बताए । पुस्तकका लेखक ओलम्पियन सुरेन्द्र हमालले क्यान्सरले थलिएर निको हुने क्रममा पत्रकार र शुभेच्छुकहरुको सल्लाहमा पुस्तक लेखेको बताए । ‘क्यान्सरले दुःख मात्र दिएन । पुस्तक समेत लेखायो । त्यसलाई पनि मैले सफलता ठानेको छु’ उनले भने । साहित्यकार नयनराज पाण्डेले खेलकुद् क्षेत्र पनि साहित्यमा प्रवेश गरेको उल्लेख गर्दै लेखकले आफ्नो जीवन गाथालाई फिल्मी ढंगले उतारेको बताए । उनले भने ‘आत्मकथा पठनिय छ । जीवन संघर्षलाई राम्ररी उतारिएको छ । पढ्न बसेपछि कतै ब्रेक लाग्दैन ।’ क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले खेलकुद् क्षेत्रको पहिलो आत्मकथा भएकाले आफ्नो प्रकाशन गृहले ओलम्पियनबाट आफ्नो यात्रा प्रारम्भ गरेको बताए ।

Sangina baidhya Surendra Hamal

विशेष