कला साहित्य

इमेज अवार्डमा पब्लिक च्वाइस अवार्ड सुर्के थैली खै ले जित्यो

इमेज अवार्डमा पब्लिक च्वाइस अवार्ड सुर्के थैली खै ले जित्यो
image-award-nepalaaja
असोज ९ । नेपाली सांगीतिक क्षेत्रको महाउत्सव १८औं ईमेज अवार्ड शनिबार सम्पन्न भएको छ ।  होटल सोल्टीमा भएको अवार्डमा पब्लिक च्वाइस अवार्ड चलचित्र ‘वडा नम्बर छ’ को ‘सुर्के थैली खै !’ गीतले जितेको छ । यो अवार्डमा एसएमएस भोटका आधारमा विजेता चयन गरिएको हो । त्यस्तै, यस वर्षको सर्वोत्कृष्ट पुरुष गायनको उपाधि ‘धोका दिने’ गीतबाट गायक मनोजराजले तथा महिला गायनको उपाधि ‘आकाश उही’बाट बानिका प्रधानले प्राप्त गरेकी छन् । यस्तै, वर्षको सर्वोत्कृष्ट गीत सत्यराज आचार्यको स्वर रहेको ‘गोरी भन्दा’ घोषित भयो । यसैगरी, आचार्यकै स्वर रहेको बिन्दवासिनी म्युजिक कम्पनीको एल्बम ‘मधुशाला’ले सर्वोत्कृष्ट एल्बम अवार्ड प्राप्त गरेको छ । यसैगरी, सर्वोत्कृष्ट संगीतको अवार्ड सत्यराज आचार्य र सर्वोत्कृष्ट गीत रचनाकारको अवार्ड रमेश बिजीले प्राप्त गरे । यस्तै, पप गीततर्फ सर्वोत्कृष्ट गायक–गायिकाको अवार्ड अनिल सिंह र रेश्मा सुनवारले जितेका छन् । यस्तै, सर्वोत्कृष्ट नव कलाकारको अवार्ड अर्जन पाण्डेले प्राप्त गरे । यस वर्षको सर्वोत्कृष्ट लोकदोहोरी गीतको अवार्ड नीता पुनमगरले जित्दा सर्वोत्कृष्ट लोकगीत गायनको अवार्ड राजु ढुंगेल र नवीन ढुंगेलले प्राप्त गरेका छन् । यस्तै, सर्वोत्कृष्ट लोकदोहोरी गीत गायनको अवार्ड कुमार पुन र प्रीति आलेले तथा सर्वोत्कृष्ट लोकगीत संकलनको अवार्ड बसन्त थापाको भागमा गएको छ । यसैगरी, सर्वोत्कृष्ट चलचित्र गीतको अवार्ड चलचित्र प्रेमगीतले जित्दा सर्वोत्कृष्ट संगीत संयोजनतर्फ गोपाल रसाइली र सर्वोत्कृष्ट गीत मुद्रणबाट मित्र लामाले अवार्ड हात पारे । त्यसैगरी, राष्ट्रिय भावनाले ओतप्रोत गीत रचनातर्फ धमेन्द्र सेवान तथा समूह गायन विधामा रोविन शर्मा र बानिका प्रधानले अवार्ड जिते । यस्तै, म्युजिक भिडियोतर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड सतिश श्रेष्ठले प्राप्त गरे भने नितिन थापा सर्वोत्कृष्ट म्युजिक भिडियो अवार्डबाट सम्मानित भए । यसैगरी, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकारको अवार्ड अनिल के मानन्धर र सर्वोत्कृष्ट भिडियो सम्पादनको अवार्ड टेकेन्द्र शाहले प्राप्त गरे । यस्तै, ईमेज अवार्डमा गीत–संगीतको क्षेत्रमा योगदान र्पुयाउने एकजना कालजयी श्रष्टालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने परिपाटीअनुसार यस वर्ष सर्जक एवं वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालाई सम्मान गरिएको छ । साढे ४ दशकदेखि सांगीतिक क्षेत्रमा रहेका बाँस्कोटाले साढे तीन सय चलचित्रमा संगीत दिएका छन् । उनलाई एक लाख रुपैयाँसहित सम्मान गरिएको हो ।
 

Image Award

विशेष