अभिलेख

‘भारतको सुरक्षा छातामा नेपाल बस्दैन’ भनेपछि मनमोहनलाई भारतले हेलिकोप्टर दुर्घटनामा पारेको हो

‘भारतको सुरक्षा छातामा नेपाल बस्दैन’ भनेपछि मनमोहनलाई भारतले हेलिकोप्टर दुर्घटनामा पारेको हो

comrade-pradeep-nepal

दिल्लीले नेपालका नेताहरुमा ठूलो लगानी गर्छ । लगानी गर्छ भन्नुको मतलव पालेर राख्छ ताकि नेपालमाथि घातक कदम चाल्नु पर्दा पाल्तु नेपाली नेताहरुले भारतलाई समर्थन गरुन् । धेरै ठूलो लगानी चाहिँ छात्रवृत्तिका नाममा नेताका छोराछोरी पढाइदिन्छ । एकजनालाई एमविबिएस पढाउँदा अहिलेको हिसाबले ४०–५० लाख खर्च हुन्छ । कसैलाई छात्रवृत्ति कसैलाई के यस्तै वहाना बनाएर भारतले लगानी गर्छ । यो मामिलामा प्रचण्ड भन्नुस वा बाबुराम भन्नुस वा हाम्रै माधव नै किन नहुन् यीनीहरुमाथि भारतको लगानी छ ।

मलाई पनि अफर आएको थियो । मेरी छोरीलाई एमविबिएस पढ्न छात्रवृत्ति दिने कुरा गरेका थिए । तर मेरो श्रीमती आफैले निजी स्कुल चलाउँछिन् । हाम्रो पहिले नै छोरा भए पनि छोरी भए पनि एक भन्दा बढी सन्तान नजन्माउने समझदारी थियो । र त्यो सन्तानलाई आफ्नै पौरखले पढाउने हाम्रो सल्लाह थियो । आफ्नै निजी स्कुल भएपछि छोरी आफ्नै स्कुलमा पढिन् । १२ सकेपछि एमविबिएस गर्न १७ लाख लाग्थ्यो त्यो बेला । त्यो पैसा आफैले जुटाउन सक्यौं । अरु कसैको छात्रवृत्ति चाहिएन ।

सीमा मिचेको कुरा मैले धेरै उठाएँ । अहिले पनि उठाउँछु । त्यो कुरा भारतलाई मन परेको रहेनछ । त्यही कुरा रोक्न उनीहरुले छात्रवृत्तिको प्रस्ताव लिएर आएको मेरो अनुमान हो । उनीहरुको प्रस्ताव अस्वीकार गर्दा पनि उनीहरुको चित्त दुख्दो रहेछ । मैले ‘सम्झिनुभयो, त्यसकालागि धन्यवाद’ भनिदिएँ । कुरा सकियो ।

माओवादीका एकजना नेता छन् रामकुमार शर्मा भन्ने । उनका छोराछोरी इन्डियन मोडर्न स्कुलमा पढ्दा रहेछन् । के कुरामा चित्त बुझेन कुन्नि । भारतले निकालिदिएछ, बालबालिकाहरुलाई । जहाँ थिच्दा दुख्छ त्यो पोइन्ट भारतले राखेर लगानी गर्दोरहेछ भन्ने पनि स्पष्ट भयो । अहिलको प्रधानमन्त्री छन नी प्रचण्ड, यीनलाई पनि यसैगरी भारतले खेलाएको हो । यीनी अहिले आफूलाई प्रधानमन्त्री हुँ भन्ठान्छन् । प्रचण्डका बारेमा केपी ओलीले ‘हरियो घाँस देखेर लोभिएको पाठोले खुकुरी देखेन’ भनेको ठीकै हो ।

नेपालमा कुनै सच्चा नेपाली माथिल्लो तहमा पुग्यो भने भारतले कि त किन्ने प्रयास गर्छ । नसके ड्यामेज गरिदिन सक्छ । गर्छ भन्ने लाग्छ । मदन भण्डारीकै हत्याको कुरा गरौं न । त्यो हत्या भारतीय गुप्तचर संस्था ‘र’ र अमेरिकी गुप्तचर संस्था सिआइएको संयुक्त मिसन हो भन्ने मलाई लागेको छ । मैले यो विषय बर्बरिक उपन्यासमा पनि लेखेको छु ।

मैले एउटा मिसनमा मनमोहन अधिकारीलाई हत्या गर्ने योजनाबारे पनि भनेको थिएँ । मनमोहन अधिकारी हेलिकोप्टर दुर्घटनामा पर्नुभयो । तर ज्यान कसैको गएन । नेपाली सेनाका पाइलट विशेन्द्रजंग शाहीले हेलिकोप्टरलाई सुरक्षित अवतरण गराए । नेपाली सेनाको प्रत्यक्ष निगरानीमा रहने हेलिकोप्टरमा असामान्य प्राविधिक गडबडी स्वभाविक थिएन । त्यसो किन भयो भन्ने बुझ्न जरुरी हुन्छ ।

प्रधानमन्त्री भएपछि मनमोहन अधिकारी भारत भ्रमणमा जाँदा उनले विमानस्थलमै भनिदिए कि नेपाल भारतको सुरक्षा छाताभित्र बस्दैन । त्यसपछि उनले भने कि १९५० को असमान सन्धि संशोधन गर्नुपर्छ । यति भनेपछि भारतलाई लाग्यो – यो मनमोहन त नेपालको सच्चा प्रधानमन्त्री रहेछ । त्यसपछि षडयन्त्र भयो भन्ने लाग्छ । मलाई दरबार हत्याकाण्डमा पनि भारतको संलग्नता छ भन्ने लाग्छ ।

प्रचण्ड अब ‘द इन्ड’

नेपालको राजनीतिमा अब प्रचण्डको शान्दर्भिकता समाप्त भयो । प्रचण्ड सहभागी माओवादीको एउटा कार्यक्रममा मैले भने कि आउनुहोस् पार्टी एकता गरौं । उहाँहरुले भन्नुभयो अहिले एकता होइन मोर्चा बनाऔं । मैले भने– मोर्चा त अहिले छँदै छ नी । माओवादी केन्द्र भन्ने पनि पार्टीको नाम हुन्छ ? यो मोर्चा हो । आउनुस एमालेमा । प्रचण्डलाई वरिष्ठ नेता बनाउने जिम्मा मेरो ।’

तर प्रचण्ड एमालेमा होइन भारतीय डिजाइनमा छिर्नु भयो । एसडी मुनीको किताबबाटै उहाँ भारतपरस्त हो भन्ने प्रमाणित त छँदै थियो । पछिल्लो कालखण्डमा झन खुलस्त भयो ।

मेरो बुझाईमा प्रचण्डले अब दुई पटक प्रधानमन्त्री भइहाले । अब तपाइहरु नै गरिखानुस भनेर तलकालाई छाडिदिनुपर्छ । नत्र प्रचण्डले अब पनि राजनीति गरे भने रक्सी खाएर निदाउँछन् भन्ने मेरो अनुमान छ ।

प्रचण्ड निरन्तर ओरालो लाग्ने दिशामा छन् । त्यत्रो अपराध गरेका लोकमानले त प्रचण्डलाई यसरी खुलेआम तर्साउँछन् भने प्रचण्डको कुनै हैसियत बाँकी रह्यो र ?  (एमाले नेता प्रदीप नेपालसँग भएको कुराकानीमा आधारित)

Nepal-India Pradip Nepal

विशेष