कला साहित्य मेरो परिवार मेरो कथा

सहरका गल्ली गल्लीमा आफ्नै गीत बजेको सुन्दा रमाइलो लाग्थ्याे

सहरका गल्ली गल्लीमा आफ्नै गीत बजेको सुन्दा रमाइलो लाग्थ्याे

आफैँले गाएको गीत एफएममा बज्न थाले । पसल, चौक गल्लीमा आफ्नै आवाज घन्किन थाल्यो । सडकमा, टेम्पो, माइक्रोमा पनि आफ्नो गीत बज्न थालेपछि मन खुसी हुन्थ्यो । गीत रमाइलो मानेर स्रोताले सुनिरहेका हुन्थे । त्यही छेउबाट हिँडिरहेको गायकलाई भने स्रोताले चिन्दैन थिए । ‘माया लाउन त’ बोलको गीत चर्चित हुँदा गायक भरत सिटौला यस्तै अनुभव गर्थे । धेरै स्रोतले गीत चिने तर गायक चिनेका थिएनन् ।


आफ्नो गीत हिट हुनु, जताततै गीत चल्न थाल्दा ‘यो के भइरहेको छ ? जस्तो हुन्थ्यो ।’ शुरुवाती सफलता स्मरण गर्दै लजालु गायक भरत सिटौलाले भने, ‘त्यसपछि मलाई एफएमहरुले अन्तर्वाताका लागि बोलाउन थाले । पत्रपत्रिकामा पनि मेरो अन्तर्वार्ता, कुराकानी, सामग्रीहरु छापिन थाले । साच्चै गायक भएँ कि भन्ने लाग्न थाल्यो ।’ ‘माया लाउन त’, पछि ‘अचानक आज तिमीलाई’ बोलको भरतको गीतले युवा वर्गको ढुकढुकी बढायो ।

गीत मेलोडी त छँदै थियो, त्यसको गायन शैली पनि स्रोतलाई अरु भन्दा फरक लाग्यो । चकलेटी अनुहारका हेन्डसम गायकका रुपमा भरतलाई धेरैले चिन्छन् । तर उनको यो अनुहार आम दर्शक, स्रोतामाझ स्थापित हुन अचानक बोलको गीत नै कारक तत्व बन्यो । अचानक बोलको गीत बजारमा आउँदासम्म एल्बम निकाल्न गायकले नै लगानी गर्नुपर्ने, लगानी नउठ्ने सम्भावना बढी हुन्थ्यो । यसो भन्दैमा भरत संगीतको नशाबाट मुक्त हुन सक्ने अवस्थामा थिएनन् ।

‘क्रेजी फ्यान’


हुरुक्कै हुने केटी फ्यानहरु धेरै थिए । हात काटेर ‘भरत’ लेख्नेहरु पनि नभएका होइनन् । पटक पटक फोन गर्नेहरुका कारण कहिलेकाहीँ तनाव नै हुन्थ्यो । त्यो क्रेज सम्झदै सिटौला भन्छन्, ‘त्यस्तो समय सधै रहिरहने रहेनछ । एकपटक आउँदो रहेछ ।’ सांगीतिक कार्यक्रममा जिल्ला जिल्ला पुगेका छन् भरत । कार्यक्रममै धेरै युवतीहरुसँग क्रस परेको उनी बताउँछन् । त्यो क्रसले कतिसम्म लिमिट क्रस गर्यो त ? उनी भन्छन्, ‘क्रसले लिमिट क्रस गर्न पाएन । क्रसमै सिमित भइयो ।’ सांगीतिक कार्यक्रमबाहेक पनि महिला साथी धेरै भए उनका । भरतले नढाँटी भने, ‘बिहे अघि अफेयर त धेरै चल्यो । अहिले विशुद्ध पति धर्म निर्वाह गरेको छु ।’ यसमा ठट्टा थप्दै उनले भने, ‘ अब पनि अफेयर चल्यो भने त बुढीको कुचो खाइन्छ ।’

सबैले चिन्नुको बेफाइदा


गीत हिट हुँदा म्युजिक भिडियो पनि चल्छ । भरतको म्युजिक भिडियोमा उनी आफै अभिनय पनि गर्छन् । भिडियोमा जम्ने अनुहार प्रकृतिले नै उनलाई दिएको छ । भिडियो बजारमा आएपछि उनलाई बाटोमा मान्छेले चिन्न थाले । ‘धेरैले यो मान्छेलाई कता देखेको भन्दै घुरेरे हेर्थे । कोही कोही चिनेर कुरा गर्न आउन थाले ।’ उनले भने, ‘कुनै समय सडक गल्ली, सार्वजनिक यातायातमा विन्दास भएर हिँड्दा,घुम्दा फरक पर्दैन थियो । कसैले चिन्दैन थिए । एउटै भिडियोले जीवन शैलीमा अलिकति परिवर्तन गरिदियो ।’ त्यस्तै जीवन शैली अपनाउन समस्या हुन थाल्यो ।

संगीतमा प्रवेश


कला, साहित्य र संगीतमा उनलाई बच्चैदेखि रुचि थियो । काठमाडौं आएपछि उनले रेडियोमा कविता वाचन गर्ने र नाटक खेल्ने पनि काम गरे । उनी गीत त पहिलादेखि नै गुनगुनाउने गर्दथे । तर गीत गाएर जीवन चलाउँछु भन्ने सोचेका थिएनन् । साथीभाईका माझमा रहेर उनी गीत गाउने गर्दथे । उनको स्वरले चकित भएका साथीहरु उनलाई झन् हौस्सयाउने गर्दथे ।

काठमाडौं आइसकेपछि वि.स २०५५ सालतिर एफएममा गीतहरु सुन्दा आफू पनि एल्बम निकाल्छु भन्ने सोच पलायो । स्नातक पढ्दै गरेका उनी एल्बम निकाल्ने प्रयासमा दिन रात भौतारिन थाले । छोरो यसरी भौतारिएर हिँडेको देख्दा बाबु आमालाई पनि चिन्ता लाग्थ्यो । उनी धेरै म्युजिक कम्पनी धाए लगभग सबैले उनको गीत रिजेक्ट गरिदिए । उनी फ्रस्ट्रेट भए । थकित पनि । जसोतसो एउटा गीत रेकर्ड गर्ने मौका पाए । उनले एउटा सामान्य महत्वकांक्षा बोकेर गीत रेकर्ड गराएका थिए । उनलाई लागेको थियो, –अरुले सुनोस नसुनोस्, साथीभाईले सुन्छन् । तर गीत त सबैले मन पराइदिए ।

संगीतबाट एकाएक हराएँ


चलेका, लोकप्रिय हुँदा हुँदै पनि करिब सात वर्ष भरत सिटौला संगीतबाट टाढा भए । हिमालय टेलिभिजनमा संगीतसम्बन्धी नै काम गर्थे, कार्यक्रम चलाउन थाले । टेलिभिजनको कामले उनलाई संगीतबाट केही टाढा पुर्यायो । सांगीतिक क्षेत्रबाट क्रमश हराउँदै जाँदा फ्यानहरु पनि घट्दै गए । कलाकारको क्रेज फूल जस्तो हुँदो रहेछ । फूलेको बेला सबैको आँखा पर्छ । ओइलाउन थालेपछि ती आँखा अरु फूलमा सर्छन् ।

संगीतमा पूनरागमन


ओ रिया, माया लाउन त, अचानक आज तिमीलाई, हरे राम जस्ता हिट गीत दिइसकेका भरत सिटौला करिब ७ वर्ष पछि संगीतमा पूनरागमन गरेका छन् । ‘वैंशमा मै पनि घोर्ले’ बोलको गीतबाट उनले संगीतमा ‘कमब्याक’ गरे । ‘वैंशमा’ निकै चलेको छ अहिले । भरत आफैले लेखे, आफैले संगीत भरे, आफैले गाए र भिडियोमा पनि आफैले अभिनय गरे ।

शब्द, संगीत, स्वर र अभिनय एउटै व्यक्तिको हुनु र त्यो अरुले मन पराउनुले भरतको ‘ट्यालेन्ट’ स्पष्ट हुन्छ । बैंसमाको सफलतापछि उनको अर्को गीत तयार भएको छ । गीतको भिडियो सुटिङमा उनी व्यस्त छन् । भरतको नयाँ भिडियोमा ‘कार्टुन क्रुयू’ पल शाह नामका नयाँ फिल्मी कलाकार र भद्रगोल टेलिसिरियलकी कलाकार रक्षाले अभिनय गरिरहेका छन् ।

गायक सिटौलाको म्यूजिक भिडियो बजारमा ल्याउन अघि नापजोख गर्ने केही तौरतरिका छन् । उनी आफ्ना गीतहरु शुरुमा साथीभाईलाई सुनाउँछन् । सुन्नेहरुले दिएको प्रतिक्रियाका आधारमा गीतमा फेरबदल पनि गर्छन् । जब धेरैले मन पराउँछन् अनि त्यसलाई फाइनल गर्छन् । सिटौलाको सुटिङ भइरहेको गीत पनि आमश्रोताले मन पराउने अपेक्षा उनको छ ।

जिन्दगीको पश्चताप


जीवनका सात वर्ष संगीतबाट टाढा बस्नु पर्ने कुनै कारण थिएन । तर भयो त्यस्तै । त्यो सातवर्ष संगीतसँगै संगत गरेर सात वटा मात्रै भए पनि संगीगत सिर्जना गरेको भए कुरा बेग्लै हुने थियो । गर्नुपर्ने थियो संगीतको संगत भयो अरुसँगै । ‘कहिलेकाहिँ बेकारका मान्छेसँग पनि संगत गरिएछ जस्तो लाग्छ । अनावश्यक काममा समय खर्च गरे जस्तो पनि लाग्छ ।’ भरत भन्छन्, ‘मलाई जस्तोसुकै लागोस्, समय त अघि बढी नै हाल्छ । यसकारण ती कुरामा अल्मलिन्न अब । जसले जे गरोस्, त्यो उसको मतलवको विषय हो । म मेरो मतलवको काम गर्छु ।’

प्रियंका कार्की


प्रियंका कार्की अहिलेकी हिट फिल्म हिरोइन हुन् । कुनै बेला म्युजिक भिडियोमा यीनलाई ब्रेक दिन भरत नै थिए । तर यो विषयलाई उनी कुनै महत्वका साथ उल्लेख गर्दैनन् । उनी भन्छन्, ‘दूनियाँले प्रतिभाको कदर गर्छ । अनुहार र जिउडालको त्यसपछिका कुरा हुन् । प्रियंकामा प्रतिभा थियो । मैले ब्रेक नदिएको भए अरु कसैले दिन्थ्यो ।’

प्रस्तुतिः कञ्चन न्यौपाने


 

Bharat Sitaula Fyan Gayak Geet

विशेष