प्रधानमन्त्रीज्यू, जिप हामीले जनाएका हौं, क्षतिपूर्ति चाहिने भए निवेदन बोकेर आउनू
पुस १७ । नेकपा एमालेको युवा संगठन युवा संघले शुक्रबार काठमाडौैंको बानेश्वरमा जिप जलाएको घटनाको जिम्मेवारी लिँदै हिम्मत भए कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएको छ ।
सरकारी जिप जलाउने समूहका नेता मानिएका युवा संघका उपाध्यक्ष रमेश पौडेलले यस्तो चुनौती दिएका हुन् । उनले यो घटनाको जिम्मेवारी संगठनले लिने हुनाले अन्यलाई कारबाही गर्न नमिल्ने जिकिर गरेका छन् । उपाध्यक्ष पौडेलले भनेका छन्, ‘घटनाको जिम्मेवारी युवा संघले लिन्छ, यसमा अन्य साथीहरुलाई प्रशासनले दुःख दिन मिल्दैन ।’
घटनाको जिम्मेवारी संगठनले लिने र सो जिपको क्षतिपूर्ति तिर्न युवा संघ तयार रहेको उनले बताएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीमाथि व्यंग्य गर्दै उपाध्यक्ष पौडेलले भने, ‘हामी क्षतिपूर्ति तिर्न तयार छौं । कति क्षति भएको हो प्रष्ट मागसहित पुष्पकमल दाहाल र बिमलेन्द्र निधिले युवा संघसमक्ष निवेदन दिऊन् ।’
सरकारसमक्ष उनको प्रश्न छ, ‘जिपको क्षतिपूर्ति त हामी तिर्छौं, दुर्गा तिवारी र सन्तोष बुढाथोकीको क्षति चाहिँ कसरी तिर्नुहुन्छ ?’
सरकारी जिप जलाउने घटनामा प्रशासनसँग निकटता भएको भनेर शंका गरिने रावल थरका एक व्यक्ति, राष्ट्रपति विद्या भण्डारीकी सचिवालय सदस्य सुमित्रा थापा, सरकारी प्राविधिक रामजी सापकोटा, कृषि अनुशन्धान केन्द्रका कर्मचारी सरस्वती खड्कालगायत मुछिएका छन् ।