राजनीतिक शुद्धीकरण अभियान चलाउन जरुरी - नेता महत
पुस - १८ । नेपाली काँग्रेसका नेता डा रामशरण महतले हरेक क्षेत्रमा बढेका स्वेच्छाचारिता एवम् नैतिकहीनता र बेथितिले देश लथालिङ्ग बनिरहेकाले अब सबैले एकचोटि शुद्धीकरण अभियान चलाउन जरुरी रहेको बताएका छन् ।
बिपी कोइरालाद्वारा विसं २००७ मा स्थापित इटहरी–७ को सरस्वती माविका बालबालिकाका लागि लोकतान्त्रिक विचार प्रसार समितिले आयोजना गरेको शैक्षिक सामग्री वितरण समारोहमा उनले समाजका हरेक निकाय एवम् नागरिक समाजलाई समेत सभ्य एवम् समुन्नत बनाउनका लागि नैतिक चरित्रको जरुरत रहनेतर्फ सचेत गराए ।
उनले नेपाली जनताले तिरेको करमध्ये हरेक वर्ष रु एक खर्बभन्दा बढी लगानी हुँदै आएको नेपालको सरकारी विद्यालयका स्तर ज्यादै दयनीय र खस्कँदो बनिरहेकाले सकारात्मक प्रतिफल नआउनाको पछाडि शैक्षिक क्षेत्रमा व्याप्त राजनीति नै प्रमुख कारण देखिँदै आएकाले शिक्षा क्षेत्रलाई राजनीतिमुक्त तुल्याउन जरुरी रहेकाे बताए । शिक्षा र सबै सरकारी निकायमा मौलाउँदो गलत राजनीतिक संस्कृति समाप्त नपारेसम्म देशले असल गति लिन नसक्ने बताउँदै उनले राजनीतिक दलका नेताले आफूलाई सच्याउन जरुरी रहेकामा जोड दिए।
सो अवसरमा विद्यालयलाई एलइडी टेलिभिजन, खेलकुदका सामग्री र कक्षाकोठाका लागि आवश्यक सजावटका सामग्रीका साथै बाल कक्षामा अध्ययनरत ३० जनालाई स्विटर प्रदान गरिएको थियो ।
डा. रामशरण महत