राजनीति

दलले साझा बिन्दु पहिल्याउन नसक्दा समस्याः मन्त्री कार्की

दलले साझा बिन्दु पहिल्याउन नसक्दा समस्याः मन्त्री कार्की
पुस - १८ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रमुख दलहरुले अहिलेको समस्याको साझा बिन्दु पहिल्याउन नसक्दा समस्या बल्झिँदै गएको बताएका छन् । साेमबार आयोजित क्रियाशील पत्रकार मञ्च, भक्तपुरको पाँचौँ वार्षिक साधारणसभामा उनले दलका नेताहरु आ–आफ्नै अडानमा केन्द्रित हुँदा समस्याको साझा बिन्दु पहिचान हुन नसकेको र दलीय सहमति हुन नसकेको बताए । उनले मुलुकमा दल, धर्म र जातको नाममा विभाजन हुने क्रम बढेको तर जोडिने मानसिकता भने विकास हुन नसकेको भन्दै सकारात्मक सोचको विकास हुनुपर्ने बताए । मन्त्री कार्कीले सञ्चारकर्मीको सकारात्मक भन्दा नकारात्मक सन्देश दिने समाचारहरु मात्र सम्प्रेषण गर्ने प्रवृत्तिका कारण आम नागरिकको धारणा पनि नकारात्मक रुपमा विकास हुँदै गएको बताए । मन्त्री कार्कीले दलहरुमा आफूले प्रस्ताव गरेका एजेन्डा सबै सही अन्य दलहरुका प्रस्ताव सबै गलत भन्ने राजनीतिक चरित्रका कारण समस्याहरु विकराल बन्दै गएको उल्लेख गरे । कार्यक्रममा प्रजिअ द्रोण पोखरेलले राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनको संवाहक सञ्चार क्षेत्र भएकाले मर्यादित र जिम्मेवार पत्रकारिताले मुलुककै रुपान्तरण सम्भव रहेको बताए । मञ्चका अध्यक्ष रमेश गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेकपा एमाले भक्तपुरका उपाध्यक्ष बचन देउजा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकाल, राप्रपाका जिल्ला अध्यक्ष रामशरण लामिछाने, नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य निर्मलकुमार भट्टराईलगायतले सञ्चार क्षेत्र मर्यादित बन्न नसक्दा समग्र मुलुक नै मर्यादित र व्यवस्थित हुन नसक्ने भन्दै जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिए।
पत्रकारिता पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा १५ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय रहँदै आउनुभएका ‘समय समाज’ साप्ताहिक र ‘नेपाल टेलिभिजन’का पत्रकार सोम शर्मा (बजगाईं)लाई नगद रु दुई हजार ५०० सहित क्रियाशील पत्रकारिता पुरस्कार–२०७३ बाट सम्मान गरिएको छ । पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएकोमा ‘माउन्टेन टेलिभिजन’का संवाददाता दीपक लामिछाने र ‘धरहरा टाइम्स’ साप्ताहिकका सम्पादक रमेश खड्कालाई पनि सम्मान गरिएको थियो । त्यसअवसरमा मञ्चको अक्षय कोष स्थापनार्थ सहयोग गर्नुहुने समाजसेवी श्रीभक्त कासिछ्वा र विज्ञान राईलाई सम्मान गरिएको छ । कार्यक्रममा संस्थाको संस्थागत विकासमा योगदान पु¥याएको भन्दै पृथ्वीराम श्रेष्ठ, अनन्तलिङ्गेश्वर, सूर्यविनायक, नगरकोट, चाँगुनारायण र मध्यपुर थिमी नगरपालिकालाई पनि सम्मान गरिएको थियो ।

सुरेन्द्रकुमार कार्की सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की

विशेष