आमसभा सफल पार्न निर्देशन
पुस–१९ । नेकपा (एमाले)ले संविधान सशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते हुने आमसभालाई सफल तुल्याउनका लागि सशक्त र प्रभावकारी भूमिका खेल्न सांसदलाई निर्देशन दिएको छ ।
व्यवस्थापिका–संसद् भवन, बानेश्वरमा मंगलबार बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले राजधानीको खुलामञ्चमा आयोजना हुने उक्त आमसभामा धेरैभन्दा धेरै जनसहभागिता जुटाउने तयारीमा लाग्न सांसदलाई निर्देशन दिए ।
एमालेले पार्टी स्थायी समितिको निर्णयबारे सांसदलाई जानकारी दिने उद्देश्यले उक्त बैठक आयोजना गरेको थियो । बैठकमा पार्टी अध्यक्ष ओलीले संविधान संशोधनका विरुद्ध ५ नं प्रदेशमा हुँदै आएको आन्दोलनलाई अरु प्रदेशमा समेत विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
सर्वाेच्च अदालतबाट संविधान संशोधनको प्रस्तावका सम्बन्धमा भएको निर्णयको स्वागत गर्दै बैठकले सरकारलाई संशोधनको प्रस्ताव फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ । बैठकपछि संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रदेशको सीमाङ्कनका बारेमा एमालेले उठाएको विषयवस्तु, मुद्दा र विचारलाई सर्वाेच्च अदालतले पुष्टि गर्दै सही ठहर गरेको बताए ।
सांसद गणेश पहाडीले अदालतबाट संविधान सशोधन विधेयकका सम्बन्धमा आएको निर्णयलाई पार्टीले स्वागत गरेको लगायत समसामयिक विषयमा अध्यक्ष ओलीबाट बैठकमा जानकारी प्रस्तुत भएको जानकारी दिए । रासस
नेकपा एमाले
संविधान संशोधन प्रस्ताव