राजनीति

राजनीतिक दलहरुबीच कुर्चीका लागि झगडा– डा भट्टराई

राजनीतिक दलहरुबीच कुर्चीका लागि झगडा– डा भट्टराई
पुस–२० । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्चीका लागि झगडा गरिरहेको आरोप लगाएका छन् । नयँं शक्ति पार्टी नेपाल कास्कीको आयोजनामा बुधबारदेखि सुरु भएको “घरघरमा नयाँ शक्ति ६ महिने अभियान उद्घाटन तथा राजनीतिक धु्रवीकरण’’ विषयक कार्यक्रमलाई लेखनाथ नगरपालिकाको विद्युत्गृहमा बुधबार सम्बोधनमा उनले संविधान संशोधन गरी मधेसी तथा जनजातिका माग सम्बोधन गरेर स्थानीय तहको निर्वाचन गर्ने बेलामा को कुर्चीमा बस्ने भन्नेमा कुरो मिल्न नसक्दा देशको राजनीति अस्थिर बन्दै गएको बताए । भ्रष्टाचारको दलदलमा फसेको राजनीतिलाई त्यसबाट बाहिर निकाल्न नसकेसम्म देशको विकास अघि बढ्न नसक्ने उल्लेख गर्दै संयोजक डा भट्टराईले ठूल्ठूला परियोजनामा तलदेखि माथिसम्म हुने कमिसनको खेलले त्यस्ता ठूला आयोजना कहिल्यै पनि समयमै पूरा नहुने गरेको उदाहरण पेस गरे । नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र आफूहरुले पत्ता लगाएको दाबी गर्दै उनले निर्वाचित राष्ट्रपति प्रणालीको शासन लागू गर्ने अभियानका नयाँ शक्ति पार्टी लागेको छ र यो प्रणाली लागू हुनसक्यो भने देशमा शान्ति र स्थायित्व कायम भई भ्रष्टाचारको अन्त्य हुने विश्वास व्यक्त गरे । पार्टीले मङ्सिरदेखि जेठसम्म घरघरमा नयाँ शक्ति अभियानको कार्यक्रम शुभारम्भ गरेको जानकारी दिँदै उनले आगामी निर्वाचनमा नयाँ शक्ति पार्टी पहिलो स्थानमा आई सत्ता सम्हालेमा पाँच वर्षमा नेपाली जनताको प्रतिव्यक्ति आय डब्बल बनाउने दाबी गरे । उनले पुराना राजनीतिक दल रातारात करोडपति बन्न कुदिरहेकाले तिनीबाट देशको आर्थिक समृद्धि हुने कुनै सम्भवना नभएको धारणा राखे । नयाँ शक्ति पार्टी नेपाल कास्कीका संयोजक हेमबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नं–४ का सदस्य कलावती शर्मा, सहसंयोजक शम्भू खाँती, मदन केसी, सौगात पोखरेललगायतका वक्ताले बोलेका थिए । रासस

डा. बाबुराम भट्टराई राजनीतिक दल

विशेष