स्थानीय निर्वाचन गर्न विधेयक पास हुनुपर्छ : अध्यक्ष ठाकुर
पुस २१ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसद्मा पेस भएको संविधान संशोधन विधेयक पास भए मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
भक्तपुरमा आयोजित एक साक्षात्कार कार्यक्रममो संविधान संशोधन विधेयक संसद्बाट पास नभए कुनै हालतमा स्थानीय तहको निर्वाचन हुन नदिने बताए । संविधान संशोधन गरेर मधेसी, थारु र जनजातिलगायतका माग पूरा नभए निर्वाचनमा नगई मधेसी मोर्चा आन्दोलनमा जाने उनको भनाइ थियो ।
५१ प्रतिशत जनसङ्ख्या रहेको मधेसलाई २५ प्रतिशतमा सीमित पारेर ल्याइएको स्थानीय तहको पुनःसंरचनाको खाका मधेसी मोर्चालाई मान्य नहुने भन्दै जनसङ्ख्याका आधारमा राज्यको पुनःसंरचना हुनुपर्नेमा जोड दिए ।
अन्तरिम संविधानले दिएको अधिकारलाई कुल्चिँदै संविधान जारी गरेको दाबी गर्दै उनले संविधान आवश्यकताअनुरुप संशोधन नगरी विफल पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए ।
अङ्गीकृत नागरिक सबैलाई जन्मसिद्ध नागरिकसरह अधिकार दिनुपर्ने माग मोर्चाको नरहेको स्पष्ट पार्दै वैवाहिक महिलालाई भने यस्तो अधिकार दिनुपर्ने माग रहेको बताए ।
Mahanta Thakur