राजनीति

संशोधनसहित महत्वपूर्ण विधेयक अघि बढ्छ : प्रधानमन्त्री

संशोधनसहित महत्वपूर्ण विधेयक अघि बढ्छ : प्रधानमन्त्री
पुस - २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि अवरुद्ध संसद् भोलि (आइतबार) देखि सञ्चालन भई महत्वपूर्ण विधेयक अघि बढ्ने बताएकाछन् । राजनीतिज्ञ शान्ता श्रेष्ठद्वारा लिखित ‘मान्छेभित्रको मान्छे’ स्मरण सङ्ग्रहको आज लोकार्पण गर्दै उनले संसद् सुरु भएसँगै संविधान संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयकको प्रक्रिया अघि बढ्ने बताएका हुन् । प्रधानमन्त्री दाहालले भने – “संसद् भोलिदेखि फेरि संसद चल्दैछ, त्यहाँ हामीले राष्ट्रलाई एकताबद्ध गर्न र निर्वाचनका लागि जे प्रस्ताव अगाडि सारेका छौँ, अब, त्यो प्रक्रिया अघि बढ्नेछ, सर्वोच्च अदालतले पनि संसद्मा नै छलफल गर्न आदेश दिएको छ ।” संसद् अवरोध गरेर राष्ट्रहित र एकताबद्ध नहुने भन्दै उनले राष्ट्रलाई एकताबद्ध गरी संविधानको स्वीकार्यता बढाई निर्वाचनतर्फ गएर मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजानुुपर्ने अहिलेको आवश्यकतामा सबैको साथका लागि अपिल गरे। “संविधानमा मधेसी, थारु, जनजातिलगायतको स्वीकार्यता बढाउनु राष्ट्रहित विपरीत हुने तर आफूबाहेक अरुलाई वञ्चित गर्नु चाहिँ राष्ट्रियता विपरीत हुने, सबैलाई समेटेर जान खोज्ने कि आफूबाहेक अरुलाई निषेध गरेर जाने राष्ट्रवाद हुन्छ, यसबारेमा जनतामा पनि सचेतना आउन जरुरी छ” – प्रधानमन्त्री दाहालले भने । शान्ता श्रेष्ठ प्रतिष्ठानले प्रशासन गरेको उक्त सङ्ग्रहमा विसं २०२५ देखि २०७२ अवधिको राजनीतिक कालखण्डका अनुभव, भोगाई समेटिएका ५२ वटा नियात्र, निबन्ध आदि विषयलाई उजागर गरिएको छ । सात दशक लामो राजनीतिक घटनाक्रमका नायक, खलनायकको झलक पनि पुस्तकमा समेटिएको पुस्तकका सम्पादक अशोक सुवेदीले बताए । लेखक शान्ता श्रेष्ठले नेपाली राजनीतिक जीवनका भोगाइ र पात्रहरुको विवरण पुस्तकमा समेटिएको जानकारी दिइन्। अर्थमन्त्री कृष्णबहादुर महरासमेत उपस्थिति रहनुभएको उक्त कार्यक्रममा सामाजिक परिवर्तनका लागि योगदान पुर्याउने प्रा डा गोपाल सिवाकोटी, रश्मी कार्की, रमा लुइँटेल, तारा खड्कालगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह र इतिहासकार माधवराज जोशीलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष