राजनीति

आन्तरिक राजनीतिमा कूटनीतिक सम्बन्धलाई नतानौँ– मन्त्री डा महत

आन्तरिक राजनीतिमा कूटनीतिक सम्बन्धलाई नतानौँ– मन्त्री डा महत
पुस–२४ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले व्यक्तिगत वा दलीय राजनीतिक स्वार्थपूर्तिका लागि विदेश नीतिलाई जबर्जस्ती नतान्न आग्रह गरेका छन् । राजनीतिशास्त्र अध्ययन सङ्घद्वारा अार्इतबार राजधानीमा आयोजित नेपाल–भारत सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘‘हाम्रा आफ्ना दलीय वा अन्य राजनीतिक स्वार्थमा छिमेकीसँगको सम्बन्धजस्तो संवेदनशील विषय तान्यौँ भने यसले हाम्रो राष्ट्रियतालाई बलियो बनाउँदैन ।’’ दुई ठूला छिमेकी मुलुक भारत र चीनसँगको सुमधुर सम्बन्धबाट मात्र हामी उनीहरुको समृद्धि तथा विकासबाट लाभान्वित हुनसक्छौँ भन्ने यथार्थलाई जुनसुकै सरकार आए पनि एकै हिसाबले बुझ्नुपर्नेमा उनले जोड दिए । भारतसँगका सन्धि सम्झौतामा विगतदेखि नै नेपालले पाउनुपर्ने सहुलियत र सुविधा नपाएको बारेमा नेपालले पछिल्ला भ्रमणमा कूटनीतिक टेबलमा स्पष्टसँग उठाएको र भारतीय पक्षबाट पनि यसलाई गम्भीररुपमा लिई समस्या समाधानमा अग्रसरता लिएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनले बताए । नेपालसँग अमूल्य साधन स्रोत तथा सम्पदा हुँदाहुँदै पनि तिनको अधिकतम प्रयोग र उपयोग गरी समयानुकूल आर्थिक विकासमा लगाउन नसकिएको यथार्थ प्रस्तुत गर्दै मन्त्री डा महतले हाम्रा उत्पादनलाई बिना कुनै रोकतोक निर्वाधरुपमा निर्यात गर्ने अवसर दिन र हाम्रा विकास प्रयासलाई सघाउन छिमेकी देशलाई आग्रह पनि गरे । उनले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन हामीले कूटनीतिक माध्यमबाट द्विपक्षीय हितका विषयलाई उठाई समस्याको समाधान खोज्नेतर्फ केन्द्रित हुनुपर्छ र सडकमा जुलुस निकालेर हुँदैन भने । नेपालले गत वर्षमात्र नयाँ प्रजातान्त्रिक तथा समावेशी संविधान निर्माण गरेकाले यसको कार्यान्वयनमार्फत अब देशले आर्थिक विकास गरी समृद्धि हासिल गर्नेतर्फ हाम्रा प्रयास केन्द्रित हुनुपर्छ भन्ने दिशामा वर्तमान सरकारले काम गरिरहेको बताएका छन् । यस संविधानप्रति पनि केही असन्तुष्टि देखिएकाले तिनलाई संसदीय प्रजातान्त्रिक माध्यमबाटै समाधान गर्ने दिशामा सरकार अग्रसर भइसकेको पनि मन्त्री डा महतको भनाइ थियो । रासस

आन्तरिक राजनीति डा प्रकाशशरण महत

विशेष