राजनीति

एमाले मोरङको आठौँ अधिवेशन भोलिदेखि

एमाले मोरङको आठौँ अधिवेशन भोलिदेखि
पुस–२४ । नेकपा (एमाले) मोरङको आठौँ जिल्ला अधिवेशन भोलिदेखि विराटनगरमा सुरु हुने भएको छ । तीन दिनसम्म चल्ने सो अधिवेशनमा ८८२ जना प्रतिनिधिको सहभागिता रहने सो पार्टीद्वारा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । यस सम्बन्धमा सो पार्टीका मोरङ जिल्ला अध्यक्ष महेश रेग्मीले अधिवेशनको तयारी पूरा भइसकेको र यसलाई भव्यरुपमा सफल बनाउनका लागि १४ वटा उपसमिति गठन गरिएको जानकारी गराए । सो पार्टीका अध्यक्ष केपी शर्मा, ओलीले आठौँ अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको सो अवसरमा जानकारी गराइयो । उक्त अधिवेशन सम्पन्न गर्नका लागि अनुमानित रु २५ लाख खर्च हुने र सो रकम पार्टीका २० हजार कार्यकर्ताबाट प्राप्त लेवी र शुभेच्छुकको सहयोगबाट रकम प्राप्त हुने अध्यक्ष रेग्मीले जानकारी गराए । तीनदल एक ठाउँमा उभिनुपर्ने : योगेश यसैबीच, नेकपा (एमाले) का प्रचारप्रसार विभागका प्रमुख योगेश भट्टराईले मुलुकको समस्या समाधानका लागि प्रमुख तीन दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् । सो पार्टीद्वारा अार्इतबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले तीन दल एक ठाउँमा आएपछि मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर अगाडि बढ्नुपर्ने सुझाव प्रकट गरे । प्रदेशसभा गठन नभएसम्म सीमाङ्कनको हेरफेर हुन नसक्ने प्रशङ्ग उल्लेख गर्दै उहाँले संविधान संशोधनको समग्र विधेयक फिर्ता नभएसम्म संसद् सञ्चालन हुन नसक्ने स्पष्ट पारे । उनले संविधान संशोधन बाहेकका विधेयकलाई अगाडि बढाउने पक्षमा एमाले पार्टी रहेको जानकारी गराए । एमालेमाथि चौतर्फी हमला भइरहेको भन्दै उनले पार्टीको सङ्गठनलाई आन्तरिक रुपमा सुदृढीकरण गरी अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए । उनले मुलुकमा बोलिने मातृभाषा राष्ट्रिय भाषा हुने पक्षमा एमाले रहेको तर कुनैपनि नेपालीको मातृभाषा ‘हिन्दी’ नरहेकाले सो भाषालाई राष्ट्रिय भाषामा सूचीकृत गर्ने पक्षमा एमाले नरहेको स्पष्ट पारेका छन् । रासस

आठौँ जिल्ला अधिवेशन नेकपा एमाले मोरङ

विशेष