राजनीति

प्रचण्ड र ओलीबीचको सहमतिमा यसरी पेश भयो संशोधन प्रस्ताव

प्रचण्ड र ओलीबीचको सहमतिमा यसरी पेश भयो संशोधन प्रस्ताव

पुस २५ । एक दिनअघिसम्म आक्रामक शैलीमा संविधान संशोधन विधेयक कुनै पनि हालतमा संसदमा टेबुल गर्न नदिने हुँकार गर्दै आएको प्रमुख विपक्षी दल नेकपा एमालेले रहस्यमय तरिकाले आफ्नो अडानमा परिवर्तन देखाएको छ ।

आइतबार अपरान्ह व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरको पहलमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकमा समेत संशोधन प्रस्तावप्रति प्रमुख विपक्षी दलले घोर असहमति जनाइरह्यो ।

केही समयपछि केपी ओली र पुष्पकमल दाहाल बैठक स्थलबाट जुरुक्कै उठेर एक घण्टाभन्दा बढी गोप्य मन्त्रणामा व्यस्त भए । गोप्य मन्त्रणापछि सरकारले संशोधन प्रस्ताव टेबुल गर्ने र प्रमुख प्रतिपक्षी एमालेलगायत नौ दलले सांकेतिक विरोध गर्ने सहमति भयो ।

बैठकस्थलसम्म उनीहरुको प्रतीक्षामा अन्य दलका शीर्ष नेताहरु बसिरहेका थिए ।

गोप्य मन्त्रणापछि बाहिर आएर ओलीको उपस्थिति मै प्रधानमन्त्री दाहालले संसदकी सभामुख घर्तीलाई प्रमुख प्रतिपक्षी दलको असहमति रहे पनि संसद संचालन गर्नुहोस् भन्ने निर्देशनको सांकेतिक आग्रह गरेपछि उनीहरु मिलेको अड्कलबाजी गर्न कसैका लागि कठिन भएन ।

अन्नपूर्ण पोस्ट

Oli Prachanda

विशेष