राजनीति

छापामार शैलीमा संशोधन प्रस्ताव टेबल गरेकोमा प्रतिपक्षी दल आक्रोशित

छापामार शैलीमा संशोधन प्रस्ताव टेबल गरेकोमा प्रतिपक्षी दल आक्रोशित

पुस २५ । व्यवस्थापिका संसदमा आइतबार आफ्नो विरोधका माझ सरकारले संविधान संशोधनको प्रस्ताव टेबल गरेकोमा आक्रोशित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब हुने बैठकमा त्यसलाई अगाडि बढ्न नदिने बताएको छ ।

सभामुख ओनसरी घर्तीले संशोधन प्रस्ताव टेवल भएपछि अब प्रतिपक्षसंग वार्ता गर्दै निकास खोज्ने प्रयास गर्ने बताएकी छन् । आइतबार निर्वाचन सम्बन्धी दुईवटा कानून र अख्तियार प्रमुखको महाभियोग प्रस्ताव प्रस्तुत गरिए लगत्तै कानुन मन्त्रीले संविधान संशोधनको प्रस्ताव टेबल गरेका थिए ।

संशोधन प्रस्ताव संसदमा पेश गर्न नदिन डेढ महिना देखि अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष नेकपा एमालेले झुक्याएर संसदमा पेश गरिएको भन्दै प्रकृया अगाडि बढ्न नदिने जनाएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भने, “हामीले आइतबार आफ्नो ठाँउबाट मात्र विरोध गर्यौ। यो विषयलाई अगाडि बढाउन खोजियो भने हामीले हाम्रो संघर्षको स्वरुप परिवर्तन गरेर त्यसलाई अवरोध गर्ने गरि आन्दोलन अगाडि बढाउँछौं ।

सत्तापक्ष र प्रतिपक्षबिच संविधान संशोधनको विषयमा लगातार वार्ता भइरहेपनि त्यसले नतिजा नदिएपछि आइतवार सरकारले प्रतिपक्षको विरोध हुँदाहुँदै संशोधन प्रस्ताव टेबल गरेको थियो ।

गत साता प्रतिपक्षले एक हप्ताको समय माग्दै त्यसपछि विरोध नगर्ने सहमति भएको भन्ने खबर आएताएपनि एमालेले विरोध त्यागेको देखिंदैन ।

मलाई विश्वास छ जसरी अहिले छलफल गरिराख्नु भएको छ, त्यसमा उहाँहरु एकै ठाँउमा आउनै पर्ने वाध्यता छ । होइन भने देशलाई निकास कसले दिने ? सभामुख ओनसरी घर्तीले भनिन् । संसदिय प्रकृया अनुसार सभामुख ओनसरी घर्तीले संशोधन प्रस्तावलाई सोझै छलफलमा लान वा परामर्श समितिको सल्लाहमा विशेष समिति बनाई अगाडि बढ्न सक्नेछिन् ।

महिना दिन अगाडि नै संशोधन प्रस्ताव संसदमा आइसकेकाले त्यो परिपक्व हुन आवश्यक पाँच दिनको समय सीमा पुगिसकेकाले अब छलफल अगाडि बढ्ने र संसदमा थप संशोधन परेमा त्यसमा पनि छलफल हुने प्रकृया रहेको बताइएको छ ।

विशेष