पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनु पर्छ भन्ने पक्षमा राष्ट्रपति पनि
पुस २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका नायक एवं राष्ट्रियता, एकता र अखण्डताका प्रतीक पृथ्वीनारायण शाहप्रति आफ्नो उच्च सम्मान गरेको बताएकी छन् ।
राष्ट्रपतिको भनाइ उदधृत गर्दैै स्रोतले भन्यो ‘आफू आज यो देशको नागरिक र राष्ट्रपति हुनमा उनको एकीकरणको योगदान छ । पृथ्वीको मूल्यांकन र सम्मानका लागि राजनीतिक आग्रह लिइरहनु पर्दैन ।’
राष्ट्रपति भण्डारीले आइतबार शीतलनिवासमा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरी र सचेतक परशुराम तामाङसँग यस्तो बताएकी हुन् । गिरी र तामाङले आगामी २७ गते बिहीबार पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक विदा घोषणा गर्न पहल गरिदिन आग्रह गरेका थिए ।
पृथ्वीजयन्तीका अवसरमा राप्रपाले आयोजना गरेको जलपानमा सहभागी भइदिन उनलाई अनौपचारिक निम्तो दिए । गिरीका अनुशार २७ गते सार्वजनिक बिदाका लागि सम्बद्ध पक्षसँग कुरा गर्ने राष्ट्रपतिले आश्वासन दिएकी थिइन् ।
–अन्नपूर्ण पोस्टबाट