राजनीति

विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गर्छौं : मन्त्री नायक

विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गर्छौं : मन्त्री नायक
पुस - २५ । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गराउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले साेमबार आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले संविधान संशोधन गरेर निर्वाचनमा जान राजनीतिक समझदारी आवश्यक रहेको बताए । उनले भने – “सबै राजनीतिक दललाई सहमतिमा लिएर चाँडै नै निर्वाचनको मिति घोषणा गर्न परिमार्जन गर्नुपरे पनि आवश्यक छलफल गर्न सकिन्छ ।” जनताको आवश्यकतालाई हेरेर राजनीतिक दलहरु अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । मन्त्री नायकले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राजनीतिक दलहरुबीचको सम्झौताको दस्तावेज संविधान भएकाले संविधान संशोधनका लागि दलहरु एक ठाउँमा उभिनुपर्ने बताए । नेता गुरुङले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नै सहमतिमा बनेको संविधानलाई कुल्चन नमिल्ने बताए । उनले भने – “कुनै पनि संविधान सर्वस्वीकार्य नहुने हुँदा समय र परिस्थितिअनुसार परिमार्जन गर्न सकिन्छ ।” नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डेले संसद्मा टेबुल भएको विधेयक अलोकतान्त्रिक भएको बताए । उनले भने – “रुपान्तरित संसद्लाई प्रदेशको सीमाङ्कनको अधिकार छैन कसरी सीमाङ्कनको हेरफेरको कुरा आयो ?” मधेसी जनअधिकार फोरम नेपालका नेता शिवजी यादवले संसद्मा दर्ता भएको विधेयकले दलहरुबीच सहमतिको ढोका खोलेको बताए । उनले संसद्मा दर्ता भएको विधेयकलाई परिमार्जन गरे मधेसी दलले सहयोग गर्ने बताए ।

अजयशङ्कर नायक

विशेष