राजनीति

वैशाखसम्म निर्वाचन गर्ने गरी काम अगाडि बढेको छ : प्रधानमन्त्री

वैशाखसम्म निर्वाचन गर्ने गरी काम अगाडि बढेको छ : प्रधानमन्त्री
पुस - २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गर्ने गरी काम अगाडि बढेको बताएका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका–९ वीरेन्द्रनगरमा निर्मित सहिद स्मृति वाटिका अनावरण तथा समुद्घाटन समारोहलाई साेमबार सम्बोधन गर्दै उनले निर्वाचन गर्ने विषयमा दलहरुको बीचको अन्योलता पनि हटिसकेको बताएका हुन् । संविधान संशोधनका विषयमा भने राजनीतिक दलका बीचमा वातावरण बनिनसकेको भन्दै उनले तर पनि संविधान घोषणाको समयमा तीन दलका बीचमा संविधान संशोधन गर्ने विषयमा सहमति गरिएको बताए । उनले भने –“संविधान घोषणा गर्दा संविधान संशोधन हुन्छ भन्ने उद्घोष गरिएअनुरुप अहिले प्रस्ताव गरिएको हो ।” मधेसी, थारुलगायतका माग सम्बोधनका लागि संविधान संशोधन आवश्यक भएको भन्दै उनले सबैको स्वीकार्यता बढाउन संविधान संशोधन आवश्यक परेको बताए । संविधानमा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउँदै प्रधानमन्त्री दाहालले यतिबेला देश राजनीतिक इतिहासको विशेष मोडमा रहेको उल्लेख गरे । संविधान कार्यान्वयनका लागि सबै जिम्मेवार भएकाले सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उनले जिकिर गरे । चितवनको विकासको गति तीव्र रुपमा अगाडि बढाउन आफू लागेको भन्दै उनले छिट्टै विशेष प्याकेजको घोषणा गर्ने जानकारी दिए । वीरेन्द्र आदर्श उच्च मावि प्राङ्गणमा निर्माण गरिएको जनयुद्ध र जनआन्दोलनमा माओवादी पार्टीका तर्फबाट जिल्लामा सहिद भएका १०४ जनाको नामावली सो वाटिकामा राखिएको छ । वाटिका निर्माण समितिका संयोजक खिलप्रसाद घिमिरेका अनुसार रु ११ लाखको लागतमा वाटिका निर्माण गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड

विशेष