राजनीति

संविधानलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु उत्तम विकल्प : डा भट्टराई

संविधानलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु उत्तम विकल्प : डा भट्टराई
पुस–२५ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले क्रान्तिको बलमा संविधान निर्माण भएकाले यसलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपाल बौद्धिक पेसाकर्मी महासङ्घले आयोजना गरेको ‘संविधान संशोधनको आवश्यकता’ बिषयक विचार गोष्ठीमा उनले भने – “संविधानमा थुप्रै कमीकमजोरी भए पनि नेपाली जनताले जारी गरको यो पहिलो संविधान भएकाले यसलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका डा बाबुराम भट्टराईले “अघिल्लो संविधानसभामा आन्दोलनकारी शक्तिको सङ्ख्या धेरै भए पनि अनुभव नभएका कारणले संविधान बन्न नसकेको” उल्लेख गर्दै “अहिले संविधान विरोधी शक्ति धेरै हुँदा संविधानले समेट्नुपर्ने विषयलाई समेट्न सकेन ,” भने । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान परिमार्जन नै अहिलेको उत्तम उपाय भएको बताउँदै “सत्ताप्राप्तिको हतारमा संविधान ल्याउँदा मुलुकले यो अवस्था भोग्नुपरेको हो ,” भने । अहिलेको संविधानले विसं २०६३ को अन्तरिम संविधानले समेटेको अधिकारलाई समेत खोसेको आरोप लगाउँदै उनले पछिल्लो समय संसद्मा टेबुल भएको विधेयकसमेत मधेसी मोर्चाका नेतासँग सल्लाह नगरी ल्याएकोमा आक्रोस व्यक्त गरे । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले जनताले स्वामित्व लिन सकेमात्र संविधान स्थायी हुने भन्दै संविधानलाई सबैको स्वामित्व स्थापित गर्न सबै राजनीतिक दल एक हुनुपर्ने बताए । राजनीतिक विश्लेषक सिके लालले हतारमा संविधान निर्माण गर्ने व्यक्तिलाई नै संशोधनको आवश्यकता परेको भन्दै संशोधन गर्दा सबै दलको सहमतिको खाँचो आवश्यक रहेको बताए । सांसद छायाँ शर्मा पन्त, राजनीतिक विश्लेषक विजयकान्त कर्ण, सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अधिवक्ता शङ्कर लिम्बू लगायतले मुलुकलाई राजनीतिक निकास दिई आर्थिक विकास गर्नका लागि परिमार्जनसहित संविधान संशोधन आवश्यक रहेकोमा जोड दिए । रासस

डा. बाबुराम भट्टराई संविधान

विशेष