राजनीति

जनादेश लिएर संविधान संशोधन गर्नुस् : एमाले सचिव ज्ञवाली

जनादेश लिएर संविधान संशोधन गर्नुस् : एमाले सचिव ज्ञवाली
पुस - २९ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाका नेतालाई निर्वाचनबाट ताजा जनादेश लिएर आफू अनुकूल संविधान संशोधन गर्न सुझाव दिएका छन् । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनले नै सबैको उद्देश्य पूरा गर्ने भएकाले यसको उपयोग गर्न मोर्चालाई आग्रह गरे । सचिव ज्ञवालीले चुनावमा जान डराएर पछाडि बसे मधेसी मोर्चा इतिहासमा मात्र सीमित हुने तर्क गरे । उनले संविधान कार्यान्वयनको पहिलो पाटो यसको संशोधन नभएर निवार्चन भएको र निर्वाचन नै सबैको मिलन विन्दु भएको चर्चा गरे । संशोधन विधेयक प्रतिपक्षलगायतका दलको विरोधका माझ पनि होहल्लामा टेबल गर्नु संसद्को मर्यादाको विपरित भएको जिकिर गर्दैै सचिव ज्ञवालीले मन्त्री पदको लोभमा संविधान संशोधन गर्ने रणनीतिले संसद्मा द्वन्द्व बढ्ने बताए। सङ्घीयतालाई विफल पार्ने काम विभिन्न शक्ति केन्द्रबाट भइरहेको आरोप लगाउँदै ज्ञवालीले मधेसी मोर्चाकै कारण सङ्घीयताबारे गलत भ्रम फैलिएको आरोप लगाए । सरकारले निर्वाचनको बाटो छाडेर संविधान संशोधनको बहानामा देशलाई द्वन्द्वमा लान खोजिरहेको टिप्पणी गर्दै सचिव ज्ञवालीले सो प्रस्तावको हरेक पक्षबाट प्रतिकार गरी विफल पार्ने बताए ।

pradip gyawali

विशेष