मन्त्री/प्रधानमन्त्रीको लावालस्करका लागि मात्रै सरकारी गाडी
माघ–१ । को १ झ २३५ नम्बरको आधा रातो, आधा निलो रंगले पोतिएको गाडी मोरङ–सिँचाइ आयोजना विराटनगरको हो । जिल्ला आउने ‘भिआइपी’ का लागि सिँचाइले यो गाडी ‘ढुक्कै’ छुट्टाइदिएको छ । त्यसैले गाडीमा रातो नम्बर सेतो प्लेट राखिएको छैन ।
आयोजनाको महँगो गाडी ‘भिआइपी’ ओसार्नेबाहेक अन्य कामका लागि प्रयोग गरिएको छैन । आफ्नै कामको लागि प्रयोग नभएपनि राष्ट्रिय झण्डा भुन्ड्याएको पजेरोको मर्मतसम्भार, इन्धन र चालकको खर्च आयोजनाले बेहोर्दै आएको छ ।
त्यसमाथि एउटा गाडीले मात्र कहाँ पुग्छ र ! स्कर्टिङका लागि साइरनसहितको प्रहरीको गाडी चाहिन्छ । भिआइपीले कार्यकर्ता चढ्न सरकारी कार्यालयकै गाडी माग्छन् । ट्राफिकको गाडी भिआइपी मुभमेन्ट हुने बाटोभरि कुदाइरहनुपर्छ । अघिपछि प्रहरीका साइरनवाला गाडीको ताँती, उत्तिकै संख्यामा अन्य सरकारी सवारीसाधन, प्रमुख जिल्ला अधिकारीदेखि अन्य कार्यालयका हाकिमको लस्कर देख्न पाइन्छ ।
भिआइपीको सवारी चलाउन तथा तिनको अघि देखापर्न चल्ने तँछाडमछाडले अनाहकमा राज्यकोष दोहन भइरहेको छ । पूर्वी नेपालमा तीन महिनायता १ सय ३१ पटक भिआइपीको ओहोरदोहोर भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उच्च तहका भिआइपी राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री मात्रै पूर्वी नेपालमा महिनैपिच्छे भ्रमण गरेका छन् । –नागरिक दैनिकबाट