राजनीति

कांग्रेसकै नेताहरु भन्छन्, ‘संशोधन प्रस्ताव पास हुन दिन्नौं’

कांग्रेसकै नेताहरु भन्छन्, ‘संशोधन प्रस्ताव पास हुन दिन्नौं’

माघ –१ । नेपाली कांग्रेससहितको सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको छ । तर सत्तारुढ दल नेपाली कांग्रेसकै नेता चन्द्र भण्डारी प्रस्ताव पास हुन नदिने अभियानमा छन् ।

प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले देशको हित र नागरिकको चाहनाविपरीत संशोधन प्रस्ताव आएकाले यसलाई विफल पार्ने बताए । संशोधन प्रस्तावमा कांग्रेस नेतृत्वको समर्थन रहे पनि कांग्रेसको नीति वा निर्णय नभएकाले पार्टीले ह्वीप लगाए पनि यसलाई कुनै हालतमा नमान्ने उनको जीकिर छ ।

नेता भण्डारीले संशोधन प्रस्ताव भरसक छलफलमै जान नदिने र गइहाले पनि विपक्षमा उभिने बताए । ‘शेरबहादुर देउवाको ९९ दशमलव ९८ प्रतिशत कुरा र समय मान्छु तर २ सेकेण्ड उहाँको कुरा मान्दिनँ’ उनले भने, ‘त्यतिबेला नागरिक र प्रदेशको हित सम्झने छु र विरोधमा उत्रने छु ।’

नेता भण्डारीले ९१ प्रतिशत प्रतिनिधिले पास गरेको संविधानलाई कसैले भनेको, कसैलाई गुण लाउने र कसैको ठेक्का लिने आधारमा संशोधन गर्न नहुने बताए । प्रदेश नम्बर ५ टुक्राउने कुराले तराई र पहडलाई अलग गर्ने रोग देशभर सरेको र नागरिकता विधेयक संशोधनले धेरै विदेशी नेपाली नागरिक बन्ने खतरा बढेको नेता भण्डारीको तर्क छ ।

संविधान संशोधन गर्दा हुने खतरा नेतृत्व सम्हालेका शेरबहादुर र प्रचण्डले नबुझेको भन्दै उनले बुझाउन आफूसहितका नेता अहिले लागीपरेको र जनमत पनि बढ्दै गएको बताए । ‘तराईका हरुवा नेताहरुलाई उचालेर नेपाललाई अनावश्यक विवादमा फसाउने र कमजोर तुल्याउन खोज्ने दिल्लीलाई जवाफ दिन पनि संशोधन विधेकलाई असफल बनाउने छौं’ नेता भण्डारीले भने ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका अर्का नेता तथा रोल्पाका सांसद अमर पुनले संशोधन प्रस्तावले रोल्पावासीसँगै देशवासीकै हित नगर्ने भएकाले विपक्षमा लागेको बताए । कांग्रेकै कतिपय नेताले एमालेको पछि लागेको आरोप लगाएको बताउँदै उनले प्रदेश टुक्रन नदिने आम प्रदेशवासीको माग भएकाले प्रदेश बचाउन नागरिकको जस्तोसुकै कदममा साथ दिने बताए ।

विशेष