राजनीति

संविधान कार्यान्वयनपछि मात्रै देशमा आर्थिक विकास – सभापति देउवा

संविधान कार्यान्वयनपछि मात्रै देशमा आर्थिक विकास – सभापति देउवा
माघ - १ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनपछि मात्रै देशमा आर्थिक विकासले गति लिने बताएका छन् । सिक्लेस युवा क्लबद्वारा कास्कीको पार्चे गाविसस्थित सिक्लेसमा शनिबारदेखि सुरु भएको सिक्लेस माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गर्दै उनले संविधान कार्यान्वयनका लागि अर्को वर्षको माघ ७ गतेसम्म स्थानीय तह, प्रादेशिक र केन्द्रीय निर्वाचन गर्न आवश्यक रहेको विचार व्यक्त गरे । तीनवटै तहको निर्वाचन गर्न मधेसी मोर्चालगायत असन्तुष्ट जनजातिका मागलाई सम्बोधन गर्न संविधान संशोधन जरुरी रहेको र व्यवस्थापिका–संसद्मा टेबुल भइसकेको संविधान संशोधन प्रस्ताव पास गर्न सबै राजनीतिक दलको सहयोगको खाँचो रहेको उनको भनाइ थियो । सभापति देउवाले पर्यटकीय क्षेत्र सिक्लेसको विकासमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने विश्वास दिलाए। क्लबका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्र्रेसका नेता शुक्रराज शर्मा, नेकपा (माओवादी केन्द्र)का राजकाजी गुरुङलगायतका वक्ताले बोलेका थिए । सभापति देउवाले आजै सो ठाउँमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र कार्यालय र सङ्ग्रहालयको निरीक्षणसमेत गरे । चार दिनसम्म चल्ने सो मेलामा भलिबल, बास्केटबल, छेलो फाल्ने प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ ।

शेरबहादुर देउवा

विशेष