के गर्नु ! ज्यानको बाजी लगाएर जनयुद्धमा लागियो, अहिले नेताहरुको शैली देख्दा विरक्त लाग्छ
माघ २ । जनयुद्धको राप र ताप कम हुँदै गएको समय थियो । २०६० सालमा दोस्रो पटक युद्धविराम भएको थियो । सरकार माओवादी बीच दुबै सेना ब्यारेक भन्दा पाँच किलोमिटर बाहिर जान नपाउने सहमति भएको थियो । म रामेछाप मै जन्मिएर रामेछाप मै हुर्किएको हुँ । २०६० सालमा साउन ३२ गते भएको दोरम्बा हत्याकाण्ड स्थल नजिकै मेरो घर पर्छ ।
म कक्षा ८ मा पढ्दा पढ्दै माओबादीमा लागे । गाउँमा सामन्ती सोच भएकाहरुले पढ्न नदिएपछि म मुक्तिको लागि माओबादीमा लागेको हुँ । गाउँमै माबिसम्म स्कुल हुँदा पनि हामीले पढ्न पाएनौं । हामीले मात्रै होइन गाउँका सामन्तीले हाम्रो पुर्खाहरुलाई पनि पढ्न दिएनन् । उनीहरु राणाहरु जस्तै थिए । आफू र आफन्तलाई मात्रै पढाउने नियतका थिए । प्रावि तहको शिक्षा लिन पनि ठूलो संघर्ष गर्नु पथ्र्यो ।
जनयुद्ध भएको आठ वर्ष भईसकेको थियो । रामेछापमा त्यति धेरै परिणामको रगत बगेको थिएन । जनयुद्धको सुरुको फौजी कार्य बेथान चौकी हाम्रो कब्जामा थियो । रामेछापले ठूला ठूला अप्रेसनहरु पार गर्दै आएको थियो । जनयुद्धका ती दिनहरुमा वर्ग संघर्षबाट माओवादी पार्टी विचलित भएको थिएन ।
२०६० साल साउन ३२ गते ३ नम्बर ईलाकाको बैठक थियो । माओवादीले बैठक गर्दैछ भन्ने सूचना तत्कालिन शाही नेपाली सेना समक्ष सुराकीले पुर्याएछन् । जुनबेला भीषण बर्षातको समय थियो । कुहिरोले गर्दा एक किलोमिटर वरपर पनि केही नदिने अवस्था थियो । तत्कालिन समय युद्ध रणनीतिक हिसाबले सेना नयाँ रणनीति निर्माण गर्दै थियो । हाम्रो पार्टी पनि नयाँ योजना लागू गर्ने र प्रयोग गर्ने क्रममा थियो । युद्धविरामको समय भएकाले सरकारसंँग बाबुराम भट्टराई वार्तामा बसेका थिए ।
त्यहीं समयमा रामेछाको दोरम्बामा हामी दिउँसो १२ बजे शाही नेपाली सेनाको कब्जामा पर्यौं ।चारैतिरबाट गोली बर्सियो । हामीले केही सोच्नै सकेनौं । म लगायत सबै साथीहरु भित्र थियौं । भित्र मर्नु भन्दा पनि भन्दा भाग्नु नै राम्रो भन्ने निष्कर्ष निकालेर हामी भाग्यौं । कोही ढोकाबाट भागे हामी चाही झ्यालबाट हामफालेर भाग्यौं । हामी ११ जना जसले बन्दुकको नाल समातेर फुत्किन सफल भएका थियौं । हामी माथि सेनाले गोली बर्साए पनि निशााना लगाउन सकेको थिएन । हत्याकाण्डबाट बाच्न सफल ११ जना मध्य म पनि एक हुँ । १९ जनाको एउटै चिहान बनाउँदा भाग्यले बाचेँको भन्नुपर्छ म ।
सेनाले ठूलै रणनीति बनाएको रहेछ । हामी भएको ठाउँमा ८ बजे नै पुग्नुपर्ने ११ बजे पुगेर घेरा हाल्यो । त्यो बाँकी समय रणनीति र ग्रुप विभाजन गरेर गाउँ नै घेरा हाल्यो । गाँउका कोही पनि मानिसलाई सेनाले घरबाट निस्किन दिएको थिएन ।
हामी घरबाट हाम फाल्ने बित्तिकै गोली ठोक भन्ने सेनाको निर्देशन आयो । हामी भागेको दिशाातिर गोली बर्सियो । म र अरु दुई जना साथी एकैचोटी हाम फालेका थियौ । अत्यन्तै अफ्ठ्यारो थियो । संँगै हाम फालेको साथी टेकबहादुर थापा मगरलाई गोली लागेर घटनास्थलमै मृत्यु भयो । घटनास्थलमा नै मृत्यु भएको उहाँ एकजना हो । सेनाले हत्या गरेको २१ जना मध्ये ७ जना दोरम्बाकै थिए । त्यसैले घटना भएको धेरै पछिसम्म दोरम्बा शोकाकुल भएको थियो ।
तत्कालीन शाही सेनाहरुले घरभित्र भएको १९ जनालाई पक्राउ गरे भने दुई जनालाई त्यही घर छेउमै गोली हानेर हत्या गरे । कुहिरो लागेको समय थियो । एक घण्टा टाढा डडुवा र दोरम्बा गाविसको सीमानमा रहेको डाँडाकटेरीमा पुर्यायो ।
डाँडाकटेरीमा पुर्याएपछि माओबादीको पोल खोल्न दबाब दिए । हाम्रो साथीहरुले अनेक यातना सहँदै मर्छाै तर, पोल खोल्दैनो भनेपछि उनीहरुले सबै १९ जनालाई हत्या गरिदिए । हत्या आँखामा पट्टी र दुबै हात पछाडि बाँधेर टाउकोमा गोली ठोकेर गरिएको थियो । त्यो युद्धविरामको समयमा सेनाले गरेको अपराध थियो । मध्यान्हमा भएको घटना सबै गाउलेले थाहा पाउदा साँझ परिसकेको थियो । बेलुकासम्म गाउँलेहरलाई अपहरणमा परेको मात्रै थाहा थियो । तर, केही समयपछि १९ जनाको सामुहिक जघन्य हत्या गरेको हल्ला गाँउभरि नै फैलियो ।
सेनाले सबैलाई हत्या गरेर भिरबाट तल फालेको रहेछ । हत्या गरेको स्थलबाट २०० मिटर पर १९ जनाको झोला, जुत्ता चप्प्ल सेनाले डढाएको थियो । त्यो दिन त्यो ठाउँमा जान सम्भव भएन । घटना भएको भोलिपल्ट सबै गाउलेहर त्यस स्थानमा गए । भिरभन्दा तल लाश डंगुर भएको थियो । हात पछाडि बाँधेर आखाँमा पट्टी बाधेको र टाउकोमा गोलीको चिन्ह्को विभत्स दृश्य धेरै गाउलेले हेर्न सकेनन् । गाउभरी रुवाबासी चल्यो । हत्या गरिएका मध्ये ७ जना दोरम्बाका नै थिए । त्यो दिनभरी नै भिषण वर्षा भई नै रह्यो । कसैले पनि लास निकाल्न सकेनन् ।
पर्सीपल्ट भदौ २ गते लासहरु संकलन गरेर अन्तिम संस्कार गरियो । १९ जना मध्ये १८ जनाको लास गाउमै १८ वटा खाल्टा खनेर गाउमै अन्तिम संस्कार गरियो । एक जनाको साथीको परिवार आएर लिएर गए र आफ्नै तरिकाले अन्तिम सस्कार गरे । १८ जना मध्ये उषा कमरेड र हाम्रो प्रमुख बाबुराम लामाको लाश १५ दिनपछि भेटिएको थियो । किनकि, उहाँहरुको लाश हत्या स्थलबाट धेरै पर फ्याकेको रहेछ ।
म जनयुद्धको धेरे लडाईहरुमा सहभागी भए । धेरै लडाईमा दोहोरो फायरिंग भयो । धेरे साथीहरुले ज्यान गुमाए, त्यसमा त्यति धेरै दुःख लागेन । दोहोरो भिडन्तमा मर्न मार्न भनेरै हिडिएको हुन्छ । दोरम्बा हत्याकाण्ड युद्धको नियम विपरित थियो । सेनाले गरेको अपराध थियो । त्यो घटनामा हाम्रो १९ जना साथीहरुको हत्या हुँदा हामीलाई ठूलो चोट पर्यो । हामी आक्रोसित हुनु स्वाभाविक थियो । दोरम्बा हत्या काण्डपछि जनयुद्धको राप र ताप झनै बढी भयो । सकिन लागेको जनयुद्ध अझै केही समय लम्बियो ।
म त्यो घटनाबाट कत्ति पनि बिचलित भईनँ । निरन्तर पार्टीमै सक्रिय भएर लागिरहे । दोरम्बा हत्याकाण्ड पछि मेरो परिवार पनि तहसनहस भयो । घटना घटेपछि दोरम्बामा सेना आएर बस्यो । गाँउको भूमिगत भएका माओबादी कार्यकर्ताको परिवारलाई सेनाले धेरै नै दुख दियो । भूमिगत भएका परिवार मात्रै हैन कम्युनिस्ट विचारधारा बोकेका सबै परिवार सेनाको शारिरिक तथा मानसिक यातनाको निशानामा परे ।
मेरो घरमा गएर सेनाले धेरै धम्की दियो । ३ पटकसम्म बुवालाई ब्यारेकमा लगेर शारिरिक र मानसिक यातना दियो । विस.२०६१ साल माघ महिनामा बारीमै आलु रोपिरहेको अवस्थामा सेनाले मेरो बुवालाई अपहरण गर्यो । अपहरण गरेर बुवालाई यातना दियो र गायब बनायो ।
घरमा ममी र बैनी मात्र थिए । ममीलाई पनि सेनाले शारिरिक र मानसिक यातना दियो । ‘तेरो मान्छेलाई खुकुरीले घाटी रेटेर सैलुङको जंगलमा फ्याकेको छ भन्थे ।’ दिनहुँ सेनाको यातना खप्न नसकेर आमाको मृत्यु भयो । म भूमिगत थिए , आमाको मृत्यु हुँदासमेत म आमाको मुख हेर्न गईन । कतिबेला आउला र पक्रौला भनेरसेना मेरै बाटो हेरेर बसेको थियो ।
आमा बितेपछि बुवा जिउदै भएको चिठी आयो । बुवालाई सेनाले जेलमा राखेर यातना दिउको र बुवा अत्यन्तै कष्टमा रहेको कुरा चिठीमा थियो । ममीको मृत्यु भईसकेको कुरा बुवालाई थाहा थिएन । म भूमिगत भएकै कारणले सेनाले मेरो परिवारलाई तहसनहस पारिदियो ।
६१ सालको अन्तिमतिर नै हामीले चरिकोट जेल तोड्यौ । जेलबाट हाम्रा साथीहरुसँंगै बुवा पनि निक्लनु भयो । जेल तोडेर हामीले आफ्नो थुनिएका कार्यकर्ता निकाल्यौं ।
हामीले जुन सपना देखेर युद्ध लड्यौ त्यो पुरा भएन । अब विस्तारै पूरा हुने क्रममा छ । हामी त्यसैको लागि अझै संर्घषरत छौं । हामीबाट भएका कमी कमजोरीहरुलाई सच्याउदै अगाडि बढेका छौ । युद्धकालमा हाम्रो पार्टीले पनि धेरै निर्दोषको ज्यान लियो, धेरै बेपत्ता पनि बनायो । गल्ति दुबै पक्षबाट भएको छ । गल्ती गर्नेलाई कारबाही भन्दा पनि निष्पक्ष छानविन गरेर क्षतिपूर्ति बेहोर्नुपर्छ ।
पार्टी सरकारमा आएपछि हाम्रा नेताको कार्यशैली सोच, आर्थिक जीवनशैली बदलिएको सत्य हो । धेरै नेताहरुले शहिदको बलिदानको अपहेलना गरेको पनि सत्य हो । तर अझै पनि राम्रो नियत भएका नेताहरु पार्टीमा छन् । उनीहरु शहिदको सपना पूरा गर्न लागिरहेका छन् ।
(दोरम्बा हत्याकाण्डमा बाच्न सफल धनबहादुर तामाङ ‘अमिर’ संँग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)
dhan bahadur tamang