राष्ट्रपति विद्यादेवीकी छोरीको विवाहको तयारी पूरा, सोमबार १० बजे आउन निम्तो
माघ–२ । सोमबार माघ ३ गते हुने राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुम भण्डारीको विवाहको तयारी पूरा भएको छ ।
निशाकुसुमको विवाह नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवसँग हुँदैछ । राष्ट्रपति कार्यालयले सामान्य ढंगले विवाह गर्ने बताएपछि अभिषेक आउँदा ५१ जनामात्र जन्ती ल्याउन आग्रह गरिएको छ ।
राष्ट्रपति भण्डारीले विवाहलाई सामान्य अर्थात् सामाजिक व्यवहार सुधार ऐन अनुसार नै गर्ने इच्छा व्यक्त गरेकाले सोही अनुसार विवाह हुन लागेको राष्ट्रपतिको सचिवालयले बताएको छ ।
विवाहमा उपस्थितिका लागि प्रधानमन्त्री, सभामुख, उपराष्ट्रपति, प्रधानन्यायधीश, राजनीतिक दलका अध्यक्ष, मन्त्री, पूर्वप्रधानमन्त्रीसँगै पूर्वराजा ज्ञानेन्द्रलाई पनि आमन्त्रण गरिएको छ ।
राष्ट्रपति कार्यालयले विवाहको विषयमा सोमबार नै विज्ञप्ति सार्वजनिक गरेर थप जानकारी दिने बताएको छ । राष्ट्रपतिकी छोरी निशाकुसुम र पूर्वराष्ट्रपतिका नाति अभिषेक विद्यालय तहदेखिकै सहपाठी हुन् । अभिषेक पूर्वराष्ट्रपति रामवरणकी भतिजी एवम् महत्तोरीबाट निर्वाचित कांग्रेस सांसद् किरण यादवका छोरा हुन् ।
निशाकुसुम र अभिषेकको विवाहको प्रसंगले केही वर्षयता नै चर्चा पाएको भए पनि दुई महिनाअघि ‘इंगेज्मेन्ट’ भएको थियो । विवाहका लागि सोमबार बिहान १० बजे राष्ट्रपति निवासको पुरानो भवनमा उपस्थित हुन सबैलाई निम्तो भएपनि निम्तो पत्रमा विवाहमा उपस्थित हुँदा उपहारका नाममा नगद वा जिन्सी नल्याउन समेत आग्रह गरिएको छ ।
अभिषेक यादव
निशाकुसुम भण्डारी