राजनीति

दुबई पुगेर प्रधानमन्त्रीले भने, मधेश बिनाको काठमाडौं कल्पना गर्न सकिदैन

दुबई पुगेर प्रधानमन्त्रीले भने, मधेश बिनाको काठमाडौं कल्पना गर्न सकिदैन

माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश बिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन् । आइतबार दुवईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

पहाड र मधेशका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्नु हुँदैन । हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व हो । कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन । मधेशका लागि काठमाडौं र काठमाडौंका लागि मधेश दुवै अभिन्न रुपमा जोडिएका छन् । मधेश बिनाको काठमाडौंको कल्पना पनि गर्न सकिँदैन । सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि हो ।

सरकारको चासो आर्थिक समृद्धि र बिप्रेषणको प्रतिफलयुक्त आयोजनामा लगानी गर्नुमा रहेको छ । मेरो नेतृत्वमा सरकार बनेदेखि निरन्तर देश दौडाहामा छु । कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, कसरी राष्ट्रिय आयोजनाहरु छिटो सम्पन्न गर्न सकिन्छ । तपाईहरुको पसिनाबाट आर्जेको बिप्रेषण कसरी सदुपयोग र लगानी गर्न सकिन्छ ।

यसका लागि मैले निरन्तर प्रयास गरिराखेको छु । आज साउदी अरबको विकास र चमत्कार हेर्ने अवसर मिल्यो । संसारका सबैभन्दा ठूला र अग्ला टावरहरु हेरियो । यहाँ मानव निर्मित टावर छ, नेपालमा प्राकृतिक टावर (सगरमाथा) छ । यी दुई वटा टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।

तपाईहरुले नेपालबाट आएर यहाँ व्यवसाय गर्नुभएको छ । हामी नेपालमा पनि लगानीको वातावरण बनाउन प्रयत्नशील छौं । त्यसका लागि मार्च २ र ३ मा काठमाडौंमा लगानी सम्मेलन गर्दैछौं । तपाईहरुले पनि नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश लैजान अनुरोध गर्छु ।

तपाईहरुले आफ्ना समस्या र पीडा राख्नुभएको छ । मैले सरकारको तर्फबाट प्रवासी नेपालीहरुका समस्या समाधानमा निरन्तर कोशिस गरिरहेको छु । अध्यागमनलाई व्यवस्थित गर्ने, गलत काम गर्ने कर्मचारीलाई कार्वाही गर्ने, दुवईमा कन्सुलर कार्यालय खोल्ने विषयमा छिटै निर्णय लिनेछौं । बुझ्नुहोला, सरकार तपाईहरुको साथमा छ, आवश्यक सहयोगका लागि सक्दो कोशिस हुनेछ ।

कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले नेपालमा विद्युत बजारको समस्या नरहेको भन्दै उत्पादित विद्युत नेपालमै खपत गर्न सकिने र साझा संकल्प गर्ने हो भने १५ वर्षभित्र देशलाई समृद्ध बनाउन सकिने बताए । भेटका अवसरमा व्यवसायी र प्रवासी नेपाली कामदारहरुले नेपालको आर्थिक विकास र विदेशमा नेपालीले भोग्नुपरेका विविधि समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

Prachanda Puspakamal Dahal

विशेष