राजनीति

३ दिनभित्र स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक हुने

३ दिनभित्र स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक हुने
माघ - ३ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरिने बताएका छन् । अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै उनले निर्वाचनको तयारी भइरहेको जानकारी गराउँदै तीन दिनभित्र निर्वाचन आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने बताए । उनले निर्वाचनको वातावरण बनिरहेको उल्लेख गर्दै कुनै पनि हालतमा यसपटक स्ववियु निर्वाचन हुनेमा शङ्का नगर्नसमेत आग्रह गरे । स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक माग गर्दै अनेरास्ववियुका अध्यक्ष नविना लामाले त्रिविका शिक्षाध्यक्ष तथा विश्वविद्यालय केन्द्रीय स्ववियु निर्वाचन कमिटीका प्रमुखसमेत रहेका त्रिपाठीलाई ज्ञापनपत्र बुझाएकी हुन् । ज्ञापनपत्रमा निर्वाचन नजिक आइरहेकाले क्याम्पस प्रमुखलाई देशभित्र र बाहिर कुनै पनि कार्यक्रम र गतिविधिमा रोक लगाउनुपर्ने, विद्युतीय मतदान प्रयोग गर्न माग गरिएको छ । त्रिविले फागुन १४ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन तयारी गरेको छ । त्रिविले पहिलोपटक मिश्रित निर्वाचन प्रणाली र निर्वाचनका उम्मेदवारलाई २८ वर्षे उमेर हदबन्दी तोकेको छ । विसं २०६५ यता प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद हुँदा अहिलेसम्म हुन सकेको छैन ।

TU स्ववियु

विशेष