राजनीति

निर्वाचनमा सबै दल मिल्दा पनि एमाले पहिलो हुने - उपाध्यक्ष गाैतम

निर्वाचनमा सबै दल मिल्दा पनि एमाले पहिलो हुने - उपाध्यक्ष गाैतम
माघ - ४ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अबको निर्वाचनमा सबै राजनीतिक दल मिल्दा पनि एमाले पहिलो हुने दाबी गरेका छन् । अनेरास्ववियुद्वारा मंगलबारदेखि सञ्चालित ‘सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि अभियान–२०७३’ को उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गौतमले सरकारभन्दा पनि निर्वाचनमा एमालेको जोड रहेको बताएका हुन् । संविधान संशोधन विधेयक पारित गराउने सर्तमा सरकारमा सहभागी गराउने भनेर सत्तारुढ दलले फकाउने प्रयास गरिरहेको उनको आरोप थियो । “तर हामी प्रधानमन्त्री र सरकारको लोभमा नपरी देशलाई विखण्डन हुने कुनै पनि विधेयक पारित गराउन दिने छैनौँ”, उनले भने । कार्यक्रममा शिक्षाविद् डा मनप्रसाद वाग्लेले शिक्षककै कारण गुणस्तर शिक्षा दिन नसकिएको स्वीकार्दै नोट लेखाउने शिक्षकलाई बहिष्कार गर्नुपर्ने धारणा राखे । शिक्षाविद् डा विद्यानाथ कोइरालाले किताबमा लेखिएका कुराभन्दा व्यावहारिक कुरा सिकाउनु पर्नेमा जोड दिएका छन् । शिक्षा मन्त्रालयका उपसचिव शिवप्रसाद उप्रेतीले सरकारको प्रयासले मात्र शिक्षामा गुणस्तर ल्याउन नसकिने भएकाले निजी क्षेत्रको पनि सहयोग हुनुपर्ने बताए । अनेरास्ववियुका अध्यक्ष नविना लामाले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न तीन महिने अभियान सञ्चालन गरिएको बताइन् । अभियानको शुभारम्भ गर्दै उपाध्यक्ष गौतमले अखिलका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्यलाई झोला वितरण गरेका थिए । अभियानका क्रममा अभियन्ताहरुले प्रत्येक सरकारी क्याम्पस र विद्यालयमा पुगी शिक्षाको वस्तुस्थितिका बारेमा अध्ययन गर्ने गुणस्तरीय शिक्षा दिन पहल गर्ने बताइएको छ ।

वामदेव गौतम

विशेष