रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेश कुमार कार्की पुनः नियुक्त
माघ ६ । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेश कुमार कार्कीलाई नियुक्त गरेको छ ।यसअघि पनि रेडियो नेपालको कार्यकारी निर्देशक कार्की नै रहेका थिए । उनको कार्यकाल मंसिर महिनामा सकिएको थियो ।
आज बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई पुनः चार वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । यसैगरी हत्या गरिएका काभ्रेका अजित मिजार र लक्ष्मी परियारका परिवारलाई के कस्तो सहयोग गर्न सकिन्छ भनेर सरकारलाई सुझाव दिन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीको नेतृत्वमा समिति पनि गठन गरिएको छ ।
यसैगरी विश्व बैंकले दिने १६ अर्ब ३८ करोड रुपैयाँ ऋण सहायता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । सो रकम जन्म दर्ता, मृत्यु दर्ता लगायतका सामाजिक तथा व्यक्तिगत घटना दर्ता प्रक्रियालाई अझै समृद्ध पार्न विश्व बैंकले दिएको हो ।
त्यस्तै आजै बसेको मन्त्रिपरिषद बैठकले किसान आयोग गठन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
Redio nepal Suresh Kumar Karki