अर्को गृहयुद्धको खतराः भारतको योजनामा पटनामा नेपाल टुक्र्याउने भेला
माघ ७ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री भीम रावलको दुई दिन अघि काठमाडौंको रिपोर्टर्स क्लबमा यसो भने, ‘गत पुस १९ गते भारतको पटनामा सिके राउत, जयकृष्ण गोइत, ज्वाला सिंह, मधेसी मोर्चाका प्रतिनिधिहरुको एक भेला बस्यो । त्यो भेलामा नेपालको मामिलामा संवेदनशील छलफल गरियो । जुन नेपालको अखण्डता, सार्वभौमिकतामा खलल पार्ने लक्ष्यका साथ भेला आयोजना गरिएको थियो । मैले यस विषयमा पर्सनल्ली एक प्रतिपक्षीको नाताले प्रधानमन्त्रीलाई भनेँ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त मधेसी मोर्चालाई नै तपाईहरु त पटना जानु भो रे नी । भीम रावलले त यसो भने नी भन्दै आफ्नो मर्यादा आफैले बिर्सनु भयो ।’
भीम रावलले पटना भेलाबारे प्रधानमन्त्रीलाई सूचना दिएपछि उनले सुरक्षा प्रमुखहरुलाई सोधको विषय पनि बाहिर आयो । तर सुरक्षा निकायले पटनामा त्यस्तो कुनै भेला नभएको कुरा प्रधानमन्त्रीलाई जानकारी दियो । त्यसपछि मधेसी मोर्चाका नेताहरुले हामी देश टुक्रा पार्ने योजनामा लागेको हो भने हामीलाई कारबाही गरियोस्, होइन भने भीम रावललाई कारबाही गरियोस भन्दै भाषण गरे ।
खासमा पटना भेलामा नेपालका मधेसी नेता, सशस्त्र समूहका नेता, सिके राउतमात्रै नभएर भारतीय खुफिया एजेन्सी ‘र’का प्रतिनिधि, नेपालका लागि भारतीय राजदूत रञ्जित रे पनि सहभागी भएको विषय बाहिर आएको छ ।
त्यसको ठीक दुई दिनपछि सिरहाको लाहानमा नेपाल टुक्रयाउँने अभियानका सिके राउतले ठूलो आमसभालाई सम्बोधन गरे । सभामा धेरै मानिसहरु भएका कारण हुन सक्छ सुरक्षाकर्मीहरुले कुनै कारबाही गर्ने आँट गरेनन् । सुरक्षाकर्मीहरुको आँखा छल्दै सिके राउत त्यहाँ पुगेका थिए ।
भीम रावलले सूचना दिनु, त्यसलगत्तै बिहीबार सिरहामा ठूलो मासलाई सिके राउतले सम्बोधन गर्नुबीच सम्बन्ध हुन सक्ने स्रोतको दाबी छ ।
पटना भेला भएको हो कि होइन भन्ने विषयमा अहिले पनि स्पष्ट हुन भने सकेको छैन । तर हालै प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वप्रधानसेनापतिहरुसँग छलफल गरेका छन् ।
अन्य किशिमका राजनीतिक क्रियाकलाप हुँदा सेनाले चासो दिँदैन । तर जब राष्ट्रको अखण्डताको विषय अगाडि आउँछ अनि नेपाली सेना चलाख हुन्छ । पटना भेला भएको खबर बाहिर आउनु, सिके राउतले खुलेआम देश टुक्रयाउने उद्घोष गर्नु र अहिले पूर्वप्रधानसेनापतिहरुसँग प्रधानसेनपतिले परामर्श गर्नुले मुलुकमा अर्को गृहयुद्ध शुरु हुन लागेको संकेतका रुपमा पनि कतिपयले अथ्र्याएका छन् ।